
सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषणको समय सरेको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले साँझ ७ बजे प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गर्ने भएका छन्। यसअघि बजेट भाषणको समय बेलुकी ५ बजे तोकिएको थियो।
सरकारको आग्रहमा प्रदेश सभा बैठकको समय सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ। स्रोतका अनुसार बजेट निर्माणको तयारीमा ढिला हुँदा बैठक सारिएको हो। शनिबार अबेर रातिसम्म बजेटलाई अन्तिम रूप दिने क्रममा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र नेकपा एमालेका मन्त्रीबिच विवाद देखिएको स्रोतले जनाएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको दायित्व बढी भएको भन्दै बजेट बढाउन दबाब दिँदै आएको थियो। स्रोतका अनुसार एमालेका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्रबहादुर पाललाई जिल्लाबाट पार्टीले पठाएका योजना समेट्नुपर्ने दबाब थियो। बजेटलाई अन्तिम रूप दिने क्रममा सांसद र मुख्यमन्त्रीकै योजना नपर्ने स्थिति भएपछि मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्री पालबिच विवाद भएको बताइएको छ।
एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय र कांग्रेसले आर्थिक मामिला मन्त्रालयबाट योजनाहरू थप्न खोजेको बताइएको छ। बजेट तयारीमा ढिलाइ भएको भन्दै प्रदेश सभा बैठक सारिएको हो।
सरकारले साढे ३३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। सुरुमा २९ अर्ब हाराहारीको बजेट ल्याउने तयारी थियो। चालू वर्षको बजेट खर्च कम हुने देखिएकाले आकार बढाइएको मन्त्रालय स्रोतले जनाएको छ।