१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
रासस काठमाडौं
२o८२ असार १ आइतबार १५:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट सन्तुलित र अनुशासित छ : पूर्वअर्थमन्त्री महत

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १५:५५:oo

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा आर्थिक अनुशासन आवश्यक रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै महतले विगतको तुलनामा यसपटकको बजेट सन्तुलित र अनुशासित भएको बताए।

‘आजको आवश्यकता आर्थिक अनुशासनको हो, बजेट तुलनात्मक रूपमा सन्तुलित छ। प्राथमिकताका आधारमा बजेट विनियोजन आजको अपरिहार्यता हो,’ महतले भने, ‘बजेट विनियोजनमा अराजकता र अनुशासनहीनता हुने, तर परिणाम प्राप्त नहुने परिस्थिति थियो, त्यसलाई कम गर्न यो बजेटले कोसिस गरेको छ।’

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले संघीय बजेटले तीन करोडभन्दा तलका आयोजना प्रस्तावित नगर्ने कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको भन्दै यसलाई अझ सशक्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए।

सांसद महतले अहिले देशको आवश्यकताअनुसार बजेट अनुशासन र परिणाममुखी विनियोजन भएको भन्दै यसबाट आर्थिक वृद्धिको लक्ष्यमा सरकारी लगानीले योगदान गर्न सक्ने विश्वास व्यक्त गरे। सरकारले बजेट कार्यान्वयन गर्दै परिणाममुखी आयोजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

पूर्वअर्थमन्त्री महतले बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न भने कठिनाइ हुने धारणा राखे। उनले भने, ‘आन्तरिक ऋण, वित्तीय तथा बैंकिङ प्रणालीबाट ऋण लिन बढी प्रस्ताव गरिएको छ, ऋणको साँवाब्याज तिर्न पुँजीगत खर्चबराबरको वित्तीय व्यवस्थापन गर्नुपर्ने हुन्छ। आगामी दिनमा विनियोजनमा देखिएको समस्या, स्रोत जुटाउने समस्याप्रति थप गम्भीर हुन जरुरी छ। ठोस, सार्थक र प्राथमिकताका आधारमा मात्रै खर्च गर्ने प्रचलनलाई विकसित गर्नुपर्छ।’