
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं संसदीय दलका मुख्य सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेले दादागिरी शैलीमा सदन चलाएको बताएका छन् ।
आज (आइतबार) नेता शाहीले प्रतिपक्षी दलको विरोधको बाबजुद पेलेर नै संसद् अगाडि बढाउने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् । उनीहरूले भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बन्नुपर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । प्रतिपक्षी दलहरूले नाराबाजी गरिरहँदा सभामुख घिमिरेले भने पेलेर नै संसद् अगाडि बढाएका छन् ।
‘संसदमा आन्दोलन भइरहँदा संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ सम्माननीय सभामुखज्यू । त्यही भएर कुरा केही नराखी उहाँहरू पनि हामी पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद् चलाउनु यो संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नु्स्,’ सभामुख घिमिरेलाई सम्बोधन गर्दै नेता शाहीले भने ।