१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:४३:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:४३:oo

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारणलाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारणलाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२ घण्टा मात्र विद्युत् निर्यात भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताए । 

‘बंगलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो,’ उनले भने ।

नेपालले हरेक वर्ष पाँच महिना वर्षातकाे समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बंगलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसवेला जम्मा १२ घण्टा मात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बंगलादेशमा विद्युत् निर्यात गर्नेछ ।

मन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र विद्युत् क्षेत्र भएको बताए । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बंगलादेशबिच गत वर्ष सम्झौता भएको थियो । आजदेखि बंगलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । 

पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए । उक्त विद्युत् बिक्रीबापत सरकारले पाँच महिनामा रु. एक अर्ब २९ करोड आम्दानी गर्नेछ । उक्त सम्झौताबमोजिम निर्यात हुने विद्युतको बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफ्फरपुर, बेहरामपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ ।

ऊर्जा क्षेत्रमा दीर्घकालीन महत्त्व राख्ने विद्युत् निर्यातले नेपालको ऊर्जा सन्तुलन, जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ । सरकारको ऊर्जा विकास मार्गचित्र- २०८१ को अवधारणाअनुसार सन् २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ  ।

भारतमा पनि विद्युत् निर्यात निरन्तरता
नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ ।

जेठ १८ (जुन १) देखि एक सय ८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले शनिवारदेखि सोही स्थानका लागि दुई सय मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । नेपाल र भारतबिच भएको द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत् निर्यातको बिक्रीदर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ । 

त्यस्तै प्राधिकरणले गए राति १२:०० बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर-मुजफ्फरपुर चार सय केभी र १३२ केभी प्रसारणलाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिद–बिक्री भइरहेको छ । वर्षायाम लागेसँगै नेपालमा विद्युतको उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न लागिएको हो ।