
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव कारण सर्वसाधारण सेवाबाट बञ्चित भइरहेका छन। मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकहरुले विशेषज्ञको रुपमा सेवा दिन थालेपछि अस्पतालको सेवाहरु प्रभावित बनेको छ। तर यहाँ अस्पातालमा दरबन्दी भएका चिकित्सकहरू कामकाजबाट फिर्ता आउन मानिरहेको छैन।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका डा. इन्द्र ढकाललाई गत जेष्ठ २३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तुरुन्तै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा पठाउनका लागि पत्राचार गरेको छ ।
स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई पत्र लेख्दै दरबन्दी रहेको निकाय (गजेन्द्र नारायण सिंह अस्पताल)मा हाजिर हुन पठाइदिन अनुरोध गरेको हो। डा. ढकाल लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुखको भूमिकामा छन् । उनी यस अघि पनि अस्पतालको प्रमुख थिए। तर उनी अझै सम्म पनि गजेन्द्र नारायण सिंह अस्पतालमा हाजिर भएको छैन ।
अस्पतालमा दरबन्दी रहेका एघारौँ तहका बरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियन डा एन्जिला घिमिरे २०८१ जेठ २७ गतेदेखि असाधारण बिदामा छिन् ।
नवौं तहकै कन्सलटेन्ट डर्माटोलोजिष्ट डा. रन्जु पोखरेल २०८१ साउन २९ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काजमा छन् । नवौं तहका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाल २०८१ साउन १६ गतेदेखि लुम्बिनी प्रदेशमा काजमा गएको अस्पतालले जनाएको छ ।
नवौं तहकै कन्सलटेन्ट साइक्लोजिष्ट डा. सुशिल समदर्शी २०८१ जेठ २७ गतेदेखि कर्णाली प्रदेशमा र नवौं तहकै कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशालकुमार देव २०८१ साउन ३० गतेदेखि कोशी अस्पताल विराटनगरमा काजमा गएको छ । दशौं तहकी कन्सलटेन्ट पेडियाट्रिसियन डा श्वेता गुप्ता २०७६ साल पुस २ गतेदेखि उनी काजमा भरतपुर अस्पताल चितवनमा कार्यरत छिन् ।
ठूलो संख्यामा चिकित्सकहरु काजमा भएकाले अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको भन्दै अस्पतालका तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले गत २७ कात्तिकमा काजमा काम गरिरहेका एघारौं र नवौ÷दसौं तहका ८ चिकित्सकको काज फिर्ता गरिदिन स्वास्थ्य मन्त्रालयमा पत्रचार समेत गरेका थिए । तर अझै सम्म कुनै सुनवाई भएको छैन ।
मेडिकल अधिकृतको कारण एचडीयु बन्द, अधिकृत विशेषज्ञको सेवा दिँदै
गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएपनि मन्त्रालयबाट सेटिङ मिलाउदै उनीहरू काजमा गएपछि यहाँ अस्पातालको अवस्था दयनीय बनेको छ। अस्पतालामा मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकहरुले विशेषज्ञको रुपमा सेवा दिइरहेको छ।
उनीहरूको दरबन्दी मेडिकल अधिकृतको भएपनि अध्ययन अनुसारको विशेषज्ञको सेवा दिइरहेको अस्पतालका मेसु प्रकाश प्रसाद साहले बताए। उनले भने, 'मेडिकल अधिकृतको रुपमा दरबन्दी रहेको कर्मचारीहरूले पनि विशेषज्ञ पढाइ गरेका छन्, उनीहरूले सकेजति त्यसरी नै सेवा दिइरहेका छन्, जसरी पनि धान्ने प्रयास गरिरहेका छौँ, काजमा रहेका चिकित्सकहरू फिर्ता हुनु अति आवश्यक छ।'
यता मेडिकल अधिकृतले विशेषज्ञको सेवा दिइरहँदा मेडिकल अधिकृत र स्टाफ नर्सको आभावले गत फागुन २७ गतेदेखि अस्पतालको एचडियु सेवा ठप्प छ। मेडिकल अधिकृत आभावकै कारण सेवा ठप्प भएपछि अस्पतालको अवस्था खस्किएको छ। जनशक्ति आभावका कारण अस्पतालमा उपकरण भएपनि आइसियु संचालन हुन नसकेको मेसु साह बताउँछन्।
'एचडियु संचालनको लागि मेडिकल अधिकृत र स्टाफ नर्स छैन्, भएको नर्स र अधिकृतहरू गइसकेपछि अहिले समस्या आएको छ, हामी भर्ना गर्ने प्रक्रियामा छौँ, चार बेड आइसियुको उपकरण पनि छ तर जनशक्ति छैन्,' मेसु साहले भने।
काजमा रहेको कर्मचारीहरू फिर्ता भए र आवश्यक जनशक्ति थपिए अस्पतालाको अवस्थालाई निश्चित रूपमा उच्च गर्न सकिने उनले बताए।