
बागलुङको पश्चिम ढोरपाटन नगरपालिकामा पिक अप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
ढोरपाटन–सालझन्डी सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ५, बतासेडाँडा भन्ने स्थानमा लु.प्र. ०१–००१ च १७७५ नम्बरको जिप साँझ सवा ५ बजेको समयमा दुर्घटना भएको हो ।
बुर्तिबाङ बजारदेखि सहीखोलातर्फ जाँदै गरेको जिप सडकदेखि अन्दाजी ५०–६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक केशव थापाले जानकारी दिए ।
जिपमा चालकसहित १६ जना सवार रहेको बताइएको छ । घाइतेमध्ये दुईजनाको अवस्था सिरियस र नाैजनाको अवस्था मध्यम साथै एकजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुने ढोरपाटन नगरपालिका– २ का ७० वर्षीय नरबहादुर कार्की, सोही स्थानका ७५ वर्षीय भिमकुमार बुढा रहेको प्रनानि थापाले जानकारी दिए ।
दुर्घटनामा परी घाइते हुनेको पनि सनाखत भएको छ । घाइते हुनेमा ढोरपाटन नगरपालिका– २ का गोविन्द थापा, सोही स्थानका लुम्बिनी महत, इन्द्रा कुँवर, नीरमाया खत्री, देवी परियार, दुर्गी दर्जी, अञ्जु परियार, विनय बुढा, मनकुमारी थापा, बियानो बुढा मगर, टीकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका– ५ की डल्ली विक, सोही ठाउँकी टनमाया कुँवर र वडा नम्बर १ का शिरिर कार्की रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाँचजनालाई थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा रेफर गरिएको भने आठजनालाई मनिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
जिपमा सवार एकजनाकाे भने बुर्तिबाङ अस्पतालमा नै उपचार भइरहेको छ । दुर्घटना के कारणले भएको भन्ने खुल्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।