
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ का लागि आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेशको समग्र आर्थिक स्थितको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन २२ खर्ब ३० अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ ।
मन्त्री काफ्लेका अनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा २२ खर्ब ३० अर्ब रहने अनुमान छ भने प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६.५२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ।
चालू आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा प्रदेश अगाडि रहने प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशका नागरिकको प्रतिव्यक्ति आय दुई हजार ६०२ अमेरिकी डलर रहेको छ । सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको फागुनसम्मको खर्च २५.६२ प्रतिशत पुगेको छ ।
चालूतर्फ ३५.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १९.९४ प्रतिशत मात्र खर्च गरिएको छ । सोही अवधिमा सरकारको कुल आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको छ । आर्थिक सर्वेक्षणअनुसार सवारीसाधन करबाट प्रदेश सरकारले १२ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म सात अर्ब २२ करोड रुपैयाँ संकलन भइसकेको छ ।
नेपाल राष्ट्र बैंकले सुरु गरेको प्रदेशगत मुद्रास्फीति प्रकाशनअनुसार फागुन महिनामा बागमती प्रदेशको मुद्रास्फीति दर २.९८ प्रतिशत रहेको छ । सर्वेक्षणले अनुसार प्रदेशका ९९.९७ प्रतिशत जनसंख्या विद्युत् पहुँचमा पुगेको छ ।
राष्ट्रिय स्तरमा तीन हजार ५१२ मेगावाट विद्युत् उत्पादन भएकोमा एक हजार ५८८ मेगावाट (४५.२ प्रतिशत) बागमती प्रदेशबाट भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । प्रदेशका ९२.३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा पुगेको छ भने प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.५२ प्रतिशत रहेको छ । जसमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ७७.०७ प्रतिशत, कृषि क्षेत्रको योगदान ११.८० प्रतिशत र उद्योग क्षेत्रको ११.१३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । उत्पादनमूलक उद्योगमा बागमतीको योगदान ३१.७ प्रतिशत रहेको छ भने राष्ट्रिय कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७.१२ प्रतिशत रहेको छ ।