
तनहुँको बन्दीपुर गाउँपालिकामा पछिल्ला दुई महिनामा चितुवाको आक्रमणबाट दुईजना बालबालिकाले ज्यान गुमाएपछि चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ। बन्दीपुर गाउँपालिका– २ कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा टोली परिचालन भएको हो।
डिभिजन वन कार्यालयका प्रमुख शरद अधिकारीले दिएकाे जानकारीअनुसार टोलीले चितुवालाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्नेछ। तनहुँका भानु, बन्दीपुर, आँबुखैरेनी चितुवाआतंकबाट पीडित छ। यो जिल्लामा आठ वर्षमा १६ बालबालिका चितुवाको सिकार बनेका छन्। गत सोमबार साँझ घरको आँगनमा खेलिरहेका बन्दीपुर गाउँपालिका– २, कुवादीका ६ वर्षीय उत्सव गुरुङलाई चितुवाले खाएको थियो।