
चर्चित लोकदोहोरी गायिका देवी घर्ती, ई. सुजित घिमिरे र दिनेश क्षेत्रीको स्वरमा सजिएको मौलिक गीत सिसा झ्यालैमा दिनेश क्षेत्रीको युट्युब च्यानलबाट रिलिज भएको छ । लोकदोहोरी क्षेत्रमा १५ वर्षभन्दा बढी समय व्यतीत गरिसकेका कलाकार दिनेश क्षेत्रीको लय तथा शब्द संकलन रहेको गीत मुख्य गरी गण्डकी प्रदेशभित्र प्रचलित झ्याउरे लयमा आधारित छ ।
याे गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियाेमा रेकर्डिङ गरिएको हो भने कुमार रानाले मिक्सिङको काम गरेका छन् । गीतमा डाइरेक्टर राजकुमार मगरको निर्देशनमा कलाकार एलिना रायमाझी र रायन बस्यालले नृत्य गरेका छन् ।
गीतका सर्जक दिनेश क्षेत्री स्याङ्जाका हुन् । गायिका देवी घर्ती बागलुङकी हुन् । अर्का गायक सुजित घिमिरे पेसाले इन्जिनियर हुन् । उनी विगत सात वर्षदेखि नेपाल विद्युत् प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत छन् ।
सर्जक दिनेश क्षेत्रीका चर्चित गीतहरू आकाशैले भुइँलाई हेरेको, केशरी, माया काखैमा अहिले पनि लोकबजारमा गुन्जिरहेका छन् । यसैगरी, चर्चित गायिका देवी घर्तीले खोली सलल, माया आउने बसमा, उही खोलीमा पानीसहित पाँच हजारभन्दा धेरै गीतमा आवाज भरिसकेकी छिन् ।
गायिका देवी घर्ती राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकाे केन्द्रीय सचिव, सर्जक तथा गायक दिनेश क्षेत्री संस्थाकै उपत्यका समितिका सहसचिव हुन् भने गायक ई. सुजित घिमिरे संस्थाका आजीवन सदस्य हुन् ।