१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
राष्ट्रपति रामचन्द्र पौडेल बुधबार १५औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डको उद्घाटन गर्दै ।
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २९ बिहीबार o९:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१५औँ राष्ट्रपति रनिङ सिल्ड : प्रवीण र संगीताको जुनियर राष्ट्रिय कीर्तिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार o९:११:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा १५औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका छन् ।

ओलम्पियन देवुसँगै भारोत्तोलनका कमलबहादुर अधिकारी, एथलेटिक्सकी सरस्वती चौधरी र पारा तेक्वान्दोका भरतसिंह महताले ओलम्पिक टर्च पालैपालो दशरथ रंगशालाको ट्र्याकमा परिक्रमा गरेका थिए । राष्ट्रपति पौडेलले खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेको बताए । उनले साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले यसमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रपति खेलकुद विद्यालय तहबाट नै खेलाडीलाई प्रोत्साहित गर्ने महत्वपूर्ण माध्यम भएको बताए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ सिल्डमा सात सय ५३ वटै स्थानीय तहबाट खेलाडी छनोट गरेर प्रतिस्पर्धा भइरहेको बताए । सात प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । 

१२ वर्षपछि रेकर्ड भंग
बागमतीका प्रवीण रानामगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले एथलेटिक्समा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । प्रवीणले छात्र सय मिटर दौड तथा संगीताले छात्रा चार सय मिटर दौडमा कीर्तिमान राखेका हुन् । राष्ट्रिय रेकर्ड बनाएका दुवै धावकले जनही १० हजार रुपैयाँ पाएका छन् । दशरथ रंगशालामा प्रवीणले निर्धारित दूरी १०.७६ सेकेन्डमा पूरा गर्दै कीर्तिमानीसहित स्वर्ण जिते ।

यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेन्डको कीर्तिमान थियो । उनले कीर्तिमान ०७० सालमा पनि राखेका थिए । संगीताले निर्धारित दूरी एक मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । संगीताले ०७६ सालमा अरुणा रिजालले स्थापित गरेको एक मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । छात्रा सय मिटर दौडमा बागमतीकी दिना गोपाली पहिलो भइन् । दिनाले १२.८१ सेकेन्ड समय लगाइन् ।

यसैगरी, छात्र चार सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे । छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो भए । उनले १.६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्ज्वलकुमार विक दोस्रोे भएका छन् । सोही स्पर्धाको छात्रामा १.३८ मिटर जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरी शीर्ष स्थानमा रहिन् ।

सटपुटमा विवेक पहिलो
सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो भए । उनले १३.६१ मिटर टाढा फाले । सो स्पर्धाको छात्रामा बागमतीकी एलिना विकले स्वर्ण जितिन् । एलिनाले ८.६९ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत र लुम्बिनीकी सम्झना चौधरीले कांस्य जिते । छात्रा १५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी पहिलो भइन् । नारायणीले पाँच मिनेट ०३.९ सेकेन्डमा दूरी तय गरिन् । बागमतीकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी देवकी धामी तेस्रो भए । प्रतियोगितामा २६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।