
हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नागरिकप्रतिको उत्तरदायित्वविहीन संरचना दीर्घकालीन रूपमा टिक्न नसक्ने स्पष्ट पार्दै राज्यका सबै निकायहरू जनताको अपेक्षाअनुसार जिम्मेवार बन्नुपर्ने धारणा राखेकी छिन् ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२औँ वार्षिकाेत्सव समारोहमा बोल्दै मेयर लामाले विकास निर्माण तथा सेवा प्रवाहको काममा गम्भीरता अपनाउनुपर्ने बताइन् । उनले राजनीतिक नेतृत्व र प्रशासनले नागरिक समस्या समाधानका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिइन्
‘सहज सेवा, पारदर्शिता र सुशासनसहित काम गर्नुपर्छ,’ उनले भनिन्, ‘राज्यका संरचनाहरू समन्वय र सहकार्यमार्फत जनतालाई सेवा दिन सक्षम हुनु आवश्यक छ।’
मेयर लामाका अनुसार हेटौँडा उपमहानगरपालिका नागरिकको खानेपानी अधिकार सुनिश्चित गर्न निरन्तर सक्रिय छ। गरिब, विपन्न वर्गका नागरिकलाई न्यूनतम महसुलमा खानेपानी सेवा उपलब्ध गराउन बोर्डमार्फत पहल भइरहेको उनले बताइन् ।
खानेपानीको दीर्घकालीन व्यवस्थापनका लागि संघ, प्रदेश र अन्य निकायसँग सहकार्य गर्दै स्रोत पहिचान, संरक्षण र संरचना निर्माणमा काम भइरहेको पनि उनले जानकारी दिइन्।
कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडा बजार क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन बोर्ड निरन्तर क्रियाशील रहेको बताए। स्रोत संरक्षण, विस्तार तथा रिचार्ज पोखरी निर्माणका लागि योजना अगाडि बढाइएको उनको भनाइ छ ।
उनका अनुसार बोर्डले दैनिक तीन करोड ७० लाख लिटर पानी उत्पादन गर्दै २८ हजार ४६३ धारामार्फत आठ–नाै घण्टा सेवा दिइरहेको छ। ३९ वटा डिप ट्युबवेल र १५ वटा समवेलबाट उत्पादित पानी ६२८ किलोमिटर पाइपलाइनमार्फत वितरण भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने बोर्डका कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको छ । यस्तै, नियमित महसुल तिर्ने उपभोक्ता, पानी चुहावटको सूचना दिने व्यक्तिहरू, स्वयंसेवी ट्यांकी सञ्चालकहरू तथा पहिलो उपभोक्ता समितिका अध्यक्षलाई समेत सम्मान गरिएको थियो ।