
नेपालमा पहिलोपटक युसिआई पम्प ट्र्याक विश्व च्याम्पियनसिपको छनोट प्रतियोगिता आयोजना हुने भएको छ। हिमालयन सिंगल ट्र्याक र जिरो लेभल एमटिभी स्कुलले यही जेठ १७ गते ललितपुरस्थित पम्प ट्र्याक सेन्टरमा उक्त छनोट आयोजना गर्न लागेको हो।
प्रतियोगितालाई युनियन साइक्लिस्ट इन्टरनेसनल (युसिआई) र नेपाल साइक्लिङ संघले मान्यता दिएका छन्। प्रतियोगितामा नेपालसहित जापान, भारत, भुटान, अस्ट्रेलियाका गरी १२० खेलाडीहरूको सहभागिता रहनेछ। खेलाडीहरूले एलिट, मास्टर्स, जुनियर्स, युथ र किड्स गरी चारवटा इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन्।
मुख्य विधाको रूपमा रहेको एलिटतर्फ पुरुष र महिला गरी २–२ खेलाडी अर्को वर्ष स्विट्जरल्यान्डमा हुने विश्व च्याम्पियनसिपमा छनोट हुनेछन्। त्यसमध्ये विजेता दुई खेलाडीको सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने आयोजक हिमालयन सिंगल ट्र्याकका सहमालिक जेनी कन्टले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइन्।
प्रतियोगिता आयोजनालाई साथ दिएको हिमालयन राइडर्स क्लबका अध्यक्ष राज ज्ञवालीका अनुसार नेपाली खेलाडीहरूको प्रदर्शन विश्वस्तरिय रहेको र उनीहरूको छनोट हुने सम्भावना धेरै छ। छनोट प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले सहकार्य गरेको छ।
पम्प ट्र्याक रेसिङ साइक्लिङको निकै चर्चित विधा हो। यसमा खेलाडीहरूले विशेष रूपमा बनाइएको ट्र्याकमा प्याडल नगरी आफ्नो तौलको चाल प्रयोग गरेर पम्प गर्दै रेस अगाडि बढाउने गर्छन्। सन् २०२२ मा विश्व च्याम्पियनसिपको प्रायोजक रहेको भेलोसोलुसनले ललितपुर १ मा यो ट्र्याक निर्माण गरेको छ।