
यात्रुबाहक बसमा २५ लाख बोकेर हिँडेका युवक पक्राउ परेका छन्। बनेपा नगरपालिका वडा नं. १४ साँगाबाट स्रोत नखुलेको नगद २५ लाखसहित दुई युवक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मंगलबार करिब साढे ४ बजे प्रहरी सहायक निरीक्षक भगवान अधिकारीको कमान्डमा ट्राफिक प्रहरीसहित खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँचको क्रममा पनौतीबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बसमा स्रोत नखुलेको नगद २५ लाख बरामद भएको हो। सो बसमा सवार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. १ का २१ वर्षीय राजन धमलाले बोकेको रातो जेब्राझोलामा नगद फेला परेको हो।
धमलासँगै बसमा रहेका उनको साथी सप्तरी जिल्ला छिन्नमस्ता गाउँपालिका वडा नं. ६ का ३८ वर्षीय संजयकुमार साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी मीनबहादुर घलेले बताए। पक्राउ परेका युवकले सो नगदको स्रोत खुलाउन सकेका छैनन्। अवैध कारोबारको लेनदेन हुन सक्ने आशंका गरिएको छ।