
श्री कुमारी क्लबका कप्तान तथा गोलरक्षक रोशन खड्काले ३३ वर्षमै व्यावसायिक फुटबल करिअरबाट सन्न्यास लिएका छन् । दशरथ रंगशालामा सोमबार सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती क्लबविरुद्ध अन्तिम खेल खेल्दै रोशनले सन्न्यास घोषणा गरेका हुन् । दशरथ रंगशालाबाटै सुरु गरेको करिअरलाई उनले यसै मैदानबाट विश्राम लिए । करिअरकै आफ्नो अन्तिम व्यावसायिक खेलमा उनले श्री कुमारीलाई ‘बी’ डिभिजनको हैसियत रक्षा गराउन सफल भए । श्री कुमारीले सरस्वती युवा क्लबलाई २–० ले हराउँदै ‘बी’ डिभिजन मान्यता रक्षा गरेको हो । रोशनले भावुक हुँदै दशरथ रंगशालाको मैदान ढोगेका थिए । त्यसपछि श्री कुमारीका खेलाडी र पदाधिकारीले उनलाई गार्ड अफ अनरबाट सम्मान गरे । सहिद स्मारक ‘ए’ डिभिजन लिगको समेत रोशनसँग अनुभव छ । उनले नेपाल पुलिस क्लबबाट नौ वर्ष खेलेका थिए । पछिल्लो वर्ष भविष्य बनाउन उनी युएई पुगेका थिए ।
डेढ वर्ष युएईको बसाइपछि रोशन श्री कुमारीमा आबद्ध हुँदै ‘बी’ डिभिजन लिग खेल्न नेपाल आएका हुन् । कप्तानी र गोलरक्षकका रूपमा उनको पहिलो लक्ष्य नै क्लबलाई रेलिगेसनबाट रक्षा गर्नु थियो । जसमा उनी शतप्रतिशत सफल भएका छन् । फुटबल चलायमान नहुँदा खेलाडी पलायनको बाटो रोज्नुपरेको उनको भनाइ छ । ‘देशमा फुटबल नभएर धेरै खेलाडी पलायन भइरहेका छन्, यहाँ खेलेरै जिउने वातावरण छैन,’ रोशनले भने, ‘वर्षौँपछि विदेशबाट फर्किँदा पनि देशमा फुटबल छैन । यही कारण सन्न्यास लिने निर्णयमा पुगेँ ।’
नौ वर्ष पुलिसमा आबद्ध
धरानको स्थानीय क्लबबाट करिअर सुरु गरेका रोशनले करिअरकै पहिलो व्यावसायिक क्लबका रूपमा ‘ए’ डिभिजन फ्रेन्ड्सबाट खेलेका थिए । फ्रेन्ड्समा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई विभागीय टोली नेपाल पुलिसले अनुबन्ध गर्यो । उनले पुलिसबाट मोसफलमा धेरै उपाधि हात पारे । पुलिस क्लबमा धेरैले उनलाई पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षकका रूपमा लिने गर्छन् ।
खेल टाइब्रेकरमा जाने सम्भावना बढेपछि उनी मैदानमा अन्तिम समयमा छिर्ने गर्थे । ‘पुलिसमा आबद्ध रहँदा मैले धेरैपटक अन्तिममा प्रवेश गरी टाइब्रेकरमा उपाधि दिलाएको सम्झना छ,’ उनले भने । सन्न्यासपछि उनी अब मकाउ जाने योजनामा छन् । ‘परिवारसँग पनि सल्लाह भयो । फुटबलभन्दा बाहिर नै सबैको रुचि पाए,’ सन्न्यास लिनुको बाध्यता सुनाउँदै उनले भने, ‘यहाँ फुटबलमै करिअर बनाउन नसकिने रहेछ ।’
बिबिसी र श्री कुमारी जोगिए
श्री कुमारी र ललितपुरको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको हैसियत जोगाएका छन् । लिगमा सोमबार भएका खेलमा दुवै टोली विजयी हुँदै रेलिगेसनबाट उम्केका हुन् । श्री कुमारीले सरस्वतीलाई २–० ले हराउँदा यमन महर्जन र मौसम राईले समान एक गोल गरे । श्री कुमारीले समान दुबै हाफमा एक–एक गोल गरेको थियो । श्री कुमारी १२ खेलमा १६ अंक जोड्दै छैटौँ स्थानमा उक्लियो । समान खेलमा १५ अंक जोडेको सरस्वती १०औँ स्थानमा झरेको छ ।
श्री कुमारीको खेलपछि टुसाल, अन्नपूर्ण र आरसिटी रेलिगेसन पर्ने सम्भावना बढेको छ । लिगमा मंगलबार आरसिटी र पाँचौँ स्थानको वीरगन्ज युनाइटेडबिच प्रतिस्पर्धा हुनेछ । रेलिगेसनबाट बच्न आरसिटीलाई एक अंक आवश्यक छ । नयाँबस्ती क्लब रेलिगेसनमा पर्ने पहिलो क्लब हो । बिबिसीले च्यासल युवा क्लबलाई ४–१ ले पराजित गर्यो । ब्रिगेडको जितमा मुकुन्दकुमार निउरेले ह्याट्रिक गरेका थिए । च्यासलका लागि कमल थिङले एक गोल फर्काए । जितसँगै ब्रिगेडको १५ अंक छ । ब्रिगेड सातौँ स्थानमा उक्लियो ।
टुसालको उजुरी एन्फाबाट खारेज
टुसालले ‘बी’ डिभिजन लिगअन्तर्गत झापाविरुद्धको खेलमा दुई खेलाडी अवैधानिक भएको भन्दै राखेको उजुरी अखिल नेपाल फुटबल संघ (एन्फा)बाट खारेज भएको छ ।
झापाका बबिन बोहरा र सुमनबहादुर मगरले गत वर्ष सम्पन्न ‘सी’ डिभिजन लिगमा आरसी ३२ बाट खेलेको कारण उनीहरू ‘बी’ डिभिजनका लागि अयोग्य हुने भन्दै टुसालले आइतबार एन्फामा उजुरी गरेको थियो । एन्फाले टुसालको प्रमाण नपुगेको भनी उजुरी बदर भएको उल्लेख गरेको छ ।