१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१९:oo
Read Time : > 1 मिनेट
सप्तरंग

‘साइकल सौन्दर्य’ सार्वजनिक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

लेखक तारालाल श्रेष्ठको पाँचौँ अनुसन्धानमूलक पुस्तक ‘साइकल सौन्दर्य’ सार्वजनिक भएको छ। शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमबिच पुस्तक विमोचन भएको हो। 

उक्त पुस्तकको विमोचन नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले गरेका थिए। नेपालको साइकल ऐतिहासिकतासँग जोडिएर प्रकृतिमैत्री संस्कृति र सहअस्तित्वको प्रतिबिम्बस्वरूप पुस्तकले नवीन बहस सिर्जना गरेको छ। 

कार्यक्रममा लेखक, कलाकार तथा साहित्यकारसँगै साइक्लिस्टहरूको उपस्थिति थियो। नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविष्यबारे सांगोपांगो दस्ताबेजीकरणको अभाव खड्किरहेको सन्दर्भमा श्रेष्ठको यस पुस्तकले नयाँ खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न गहन योगदान पुर्‍याउने विश्वास कार्यक्रममा सहभागीहरूले व्यक्त गरेका थिए। 

कार्यक्रममा भुइँतहबाट साइकल शिक्षक तथा सिर्जनात्मक साइकल अभियान सञ्चालनमा योगदान गरिआएका अगुवाहरू वक्ताका रूपमा उपस्थित थिए। जेनजी युवा पुस्तालाई साइकल शिक्षणमा सघाउँदै आएकी युवा साइकल अभियन्ता तानिया श्रेष्ठदेखि विश्व साइकलयात्री पुस्कर शाहसम्म कार्यक्रममा उपस्थित भई साइकल साहित्य तथा अभियानबारे विभिन्न कोणबाट विमर्श गरिएको थियो।

कलाकार सरिता डंगोलले महिला स्वतन्त्रता र स्वाधीन कला सिर्जनासँग साइकल संस्कृतिलाई जोडेकी थिइन्। अस्मिता राजवंशीले दिदीबहिनीलाई साइकल सिकाउँदाका अनुभवसहित नेपाली साइकल संस्कृतिमा यस खालका पुस्तकको उल्लेखनीय योगदान रहने विश्वास व्यक्त गरिन्।

मायालक्ष्मी महर्जनले स्वयम्भूमा महिला साइकल शिक्षणबारे अनुभव बाँडिन्। क्यान्सर जितेर सक्रिय साइक्लिङ गरिरहेकी कविता चित्रकारले आफ्नो अनुभव सुनाउँदा सहभागीमाझ गहिरो सन्नाटा छाएको थियो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्राडा पवन शर्माले नियमित साइकल चलाउँदा हुने स्वास्थ्यलाभबारे आफ्नो अनुभवसहित तथ्य प्रस्तुत गरेका थिए। साइकल कनेक्ट भक्तपुरका अध्यक्ष इ. सुमित बालाले तारालाल श्रेष्ठको पुस्तकले नेपालको साइकल इतिहाससहित वर्तमान र भविष्यको गन्तव्यबारे मार्गप्रशस्त गरेको बताए। उनले साइकल सौन्दर्य किताब पढ्दा प्रत्येक पानामा आफ्नो उपस्थिति बोध भएको बताए। 

विमोचन कार्यक्रमका प्रमुख अतिथि कुलमान घिसिङले साइकल र ऊर्जासँगको सम्बन्धलाई जोड्दै भविष्यमा नेपालको हरित ऊर्जा हाइड्रोजन शक्तिमा नेपाल निकैअगाडि देखा पर्ने आशावादी तथ्य प्रस्तुत गरे। उनले कुनै पनि क्षेत्रका अगुवाले आत्मशक्ति बढाउने खालका अभिव्यक्ति दिनुपर्ने, बृहत्तम हितका गतिविधि गर्नुपर्ने र जनमानसमा सकारात्मक ऊर्जा भर्नुपर्नेमा जोड दिँदै त्यस किसिमको चेतना फैलाउन श्रेष्ठको साइकल सौन्दर्य पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

डिस्कोर्स पब्लिकेसनले प्रकाशन गरेको साइकल सौन्दर्य पुस्तकले २५ अध्यायमा ‘अटोइथ्नोग्राफिक’ वर्णन विधिबाट अभिव्यक्त अनुभूतिका अतिरिक्त साइकल समुदायका ‘सत्यकथा’ बुनिएका छन्। यस पुस्तकले नयाँ पाठक जन्माउने तथा नेपाली साहित्यमा नवीन स्वाद थप्ने विश्वास कार्यक्रममा व्यक्त भएको थियो।