१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
Invalid date format १७:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लोपोन्मुख हायु समुदाय भाषा संरक्षणमा जुट्दै

Read Time : > 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format १७:११:oo

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. १०, वाल्टिङमा लोपोन्मुख हायु समुदाय बसोबास गर्छन्। त्यहाँ १० घरपरिवारमा ८५ जना हायु रहेका छन्। उनीहरूको मातृभाषा लोप भइसकेको छ। त्यहाँका कसैले पनि आफ्नो मातृभाषा बोल्न जान्दैनन्। 

पछिल्लो समयमा आफ्नो भाषा संरक्षणमा जुटेका छन् हायु समुदाय। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोग तथा हायु समाज नेपालको आयोजनामा हायु भाषा प्रशिक्षण सुरु भएको छ। आइतबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा हायु भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

भाषा प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लामाले कुनै पनि समुदायको भाषा, धर्म, संस्कार, संस्कृति उसको पहिचान रहेको बताएका छन्। ‘कुनै पनि जाति हुनलाई भाषा, धर्म, संस्कार र संस्कृति हुनुपर्दछ।’ उनले भने, ‘हायु जातिको आफ्नै भाषा, धर्म, संस्कार, संस्कृति छ, त्यसलाई संरक्षण गर्नुपर्छ।’ अबको समयमा भाषा, धर्म, संस्कार संस्कृति जगेर्ना गर्दै मूलधारको शिक्षालाई पनि अगाडि बढाउनुपर्नेमा अध्यक्ष लामाको जोड छ। हायु समुदायको शिक्षा अगाडि बढाउनको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको लामाले बताए।

काभ्रेपलाञ्चोक जिल्लाकै एक मात्र स्थानमा रहेको लोपोन्मुख हायु समुदायको संरक्षण राज्यले गरिरहेको छ। नेपाल सरकारले प्रतिव्यक्ति ४ हजारका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। रोशी गाउँपालिकाले पनि हायु समुदायको संस्कार संस्कृति जोगाउनका लागि लगानी गर्दै आएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए। हरेक वर्ष सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै अगाडि बढ्ने उनको भनाइ छ।

गत वर्ष गाउँपालिकाले हायु समुदायको सांस्कृतिक बाजा हस्तान्तरण गरेका थिए भने यस वर्ष पनि विशेष सामग्री हस्तान्तरण गरेका थिए। हायु समुदायको भाषा लोप हुँदै गएकाले संरक्षणको लागि भाषा प्रशिक्षण कार्यक्रम सुरु गरेको हायु समाज नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मण हायुले जानकारी दिए। भाषासँगै पहिचान पनि मर्ने भएकाले संरक्षणको खाँचो देखेर भाषा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ।

पहिलोपटक सिन्धुली जिल्लाको सुनकोशी र गोलन्जोर गाउँपालिका र काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा भाषा कक्षा सुरु गरेको अध्यक्ष हायुले जानकारी दिए। भाषासँगै संस्कार, संस्कृति र सभ्यता पनि सिकाउने प्रयत्न गर्ने उनको भनाइ छ। 

कार्यक्रममा हायु समाज नेपालका केन्द्रीय सदस्य सोमनबहादुर हायु, काभ्रे जिल्ला अध्यक्ष रञ्जन हायु, सिन्धुली जिल्ला अध्यक्ष खेमबहादुर हायु, भाषा प्रशिक्षक ओम हायुलगायतले शुभकामना मन्तव्य राखेका थिए। 
हायु समाज नेपालका केन्द्रीय कोषाध्यक्ष विमला हायुले कार्यक्रम सञ्चालन गरेका थिए।