
स्थानीय शासनका सबै ५१ सूचक पूरा गरेपछि अछाम मेल्लेख गाउँपालिकाको वडा नम्बर ६ षोडशादेवी बालमैत्री नमुना वडा बनेको छ । यो वडालाई यही १० जेठमा औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिँदै छ । घरधुरी सर्वेक्षण २०८१ अनुसार जम्मा ५८४ घरधुरी रहेको शोडषादेवीमा चार हजार ३५३ जनसंख्या छ । जसमा एक हजार ७४८ बालबालिका छन् । उनीहरूमध्ये ८१९ बालिका र ९२९ बालक रहेका छन् ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको नेतृत्वमा अनुगमनमा गएको जिल्लास्तरीय सरोकारवालाहरूको समूहले बालमैत्री वडा घोषणाका लागि तय गरिएका सेवा प्रवाहसम्बन्धी ३६ सँगै बाल बचाउका १४, बाल संरक्षणका १०, बाल विकास र बाल सहभागिताका ६–६, संस्थागत विकासका १५ सहित सबै ५१ वटा सूचक अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा निर्दिष्ट सूचकहरू पूरा गरेको पाइएकाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न जिल्ला समन्वय समितिको सहमति रहेको समन्वय समिति प्रमुख कुँवरले बताए । उनले २०८७ सम्ममा देशका सबै स्थानीय तहलाई बालमैत्री बनाउने नेपाल सरकारको लक्ष्यअनुसार बाल अधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको पृष्ठपोषणका लागि जिल्लाका ९१ वटै वडामा यतिवेला बालमैत्री नमुना वडा घोषणाको भव्य तयारी हुनुपर्ने भए पनि स्थानीय तहहरूले बेवास्ता गरेको आरोप लगाए ।
मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले सबै सूचक पूरा गरेको पाइएकाले षोडशादेवीलाई बालमैत्री नमुना घोषणाका लागि कार्यपालिकाको बैठकबाट स्वीकृति दिने तयारी भइरहेको बताए । यसअघि वडा नम्बर ३ ठाँटी र वडा नम्बर ७ नन्देगडालाई बालमैत्री घोषणा गरिसकिएको भन्दै उनले आस्था नेपाल र वर्ल्डभिजनसँगको साझेदारीमा नम्बर ६ षोडशादेवीलाई तेस्रो वडाको रूपमा घोषणा गर्न लागिएको उल्लेख गरे ।
वडाध्यक्ष तिलकबहादुर कडायतका अनुसार बालविवाह, छाउपडी, खुला दिसामुक्त, लैंगिक समानता र पूर्ण खोप अभियानमा कुनै समस्या छैन भने विद्यालयहरू पूर्वाधार र वातावरणमैत्री हुनुका साथै भयरहित सिकाइसँगै कक्षाकोठा, फर्निचर, खेलमैदान, खानेपानी, छात्रछात्रका लागि व्यवस्थित शाैचालय र अपांगमैत्री वातावरण तयार गरिएपश्चात् यो वडा बालमैत्री स्थानीय शासनयुक्त वडाका रूपमा घोषणा हुन लागेको हो ।
अनुगमनका क्रममा साझेदार निकायका तर्फबाट आस्था नेपालका अध्यक्ष निर्मला रावलले कागजी रूपमा घोषणा गरिए त्यसले अर्को खतरा निम्तिने भन्दै सूचकहरूको गहिरो अध्ययन गर्न सुझाव दिइन् । जसले घोषणापछि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको पृष्ठपोषण गर्दै संस्थागत विकासमा जोड दिने उनको विश्वास छ ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा उमेशसिंह विष्ट, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष टेकबहादुर थापा, बाल स्पोन्सरसिप तथा बाल संरक्षण अधिकृत तपेन्द्र ठकुल्लालगायत सरोकारवालहरूको समूहले वडाले तयार गरेका सूचक प्रतिवेदन अध्ययन गरेकाे थियो ।