
रामेछापका आठवटा स्थानीय तहको बेरुजु रकम १४ करोड ९० लाख रुपैयाँ पुगेको छ। गएको आर्थिक वर्ष ०८०/८१ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरी महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा रामेछापका आठवटा स्थानीय तहमा गरी उक्त बेरुजु रकम रहेको देखाएको हो ।
जसमध्ये आठ स्थानीय तहहरूमध्ये सबैभन्दा कम बेरुजु मन्थली नगरपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु गोकुलगंगा गाउँपालिकामा देखिएको छ । महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा कम मन्थली नगरपालिकाको बेरुजु ७४ लाख एक हजार अर्थात् ०.३४ प्रतिशत रहेको छ भने सबैभन्दा बढी गोकुलगंगा गाउँपालिकाको चार करोड ६७ लाख ५८ हजार अर्थात् ३.७५ प्रतिशत बेरुजु रकम देखिएको छ । त्यस्तै, रामेछाप नगरपालिकाको ८७ लाख ५४ हजार अर्थात ०.५० प्रतिशत बेरुजु देखिएको छ ।
त्यसैगरी, उमाकुण्ड गाउँपालिकाको ९९ लाख ८१ हजार अर्थात् ०.८० प्रतिशत, खाँडादेवी गाउँपालिकाको दुई करोड २९ लाख ७८ हजार अर्थात् १.६८ प्रतिशत र दोरम्बा शैलुङ गाउँपालिकाको एक करोड ५२ लाख चार हजार अर्थात् १.३० प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, उक्त प्रतिवेदनअनुसार लिखु तामाकोशी गाउँपालिकाको एक करोड १३ लाख ३० हजार अर्थात् ०.७८ प्रतिशत र सुनापती गाउँपालिकाको दुई करोड ६६ लाख ३१ हजार अर्थात् २.३२ प्रतिशत बेरुजु देखिएको हो ।
जिल्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष ०८०/८१ को आन्तरिक लेखा परीक्षण गराएपश्चात् अन्तिम लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट खटिएका कर्मचारीहरूले गरेका थिए । लेखा परीक्षण सम्पन्न गरी महालेखा परीक्षकको कार्यालयमा कर्मचारीहरूले बुझाएको प्रतिवेदनको आधारमा उक्त बेरुजु रकम देखाएको हो ।