१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २७ शनिबार o७:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आतंकवादविरुद्ध नेपालको अडानमा भारत खुसी, राजदूतले प्रधानमन्त्रीलाई भेटेर दिए धन्यवाद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार o७:४१:oo

९ वैशाखमा भारतको जम्मु–कस्मिरस्थित पहलगाममा भएको आतंककारी हमलाविरुद्ध र आतंकवादविरुद्ध भारतको कारबाहीका पक्षमा नेपालले ऐक्यबद्धता जनाएकोमा भारतले खुसी व्यक्त गरेको छ । नेपालका लगि भारतीय राजदूत नवीन श्रीवास्तवले आतंकवादविरुद्ध नेपालको ऐक्यबद्धताका लागि शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर धन्यवाद दिएका छन् । 

प्रधानमन्त्रीनिवासमा भएको भेटमा राजदूत श्रीवास्तवले पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए । ‘भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबिच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुुभएको थियो,’ प्रधानमन्त्री ओलीको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘उहाँ (राजदूत)ले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको, तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गर्नुभयो । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।’ 

प्रधानमन्त्री ओलीले भारतीय राजदूत श्रीवास्तवलाई नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरेको बताए । उनले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको पनि सचिवालयले जनाएको छ । 

शुक्रबार नै भारतीय राजदूतावासमा केही पत्रकारसँगको छलफलमा पनि राजदूत श्रीवास्तवले प्रधानमन्त्रीलाई भेटेर धन्यवाद दिएको बताए । ‘नेपालको अडानप्रति हामी स्वाभाविक रूपमा खुसी छौँ,’ राजदूत श्रीवास्तवले भने, ‘मैले सरकारका तर्फबाट प्रधानमन्त्रीलाई धन्यवाद दिएँ र कुराकानी गरेँ ।’ राजदूत श्रीवास्तवले तनाव अन्त्यको चाबी पाकिस्तानसँग रहेको टिप्पणी गरे । ‘भारतले पहलगाम आतंककारी घटनाको बदलामा आतंकवादविरुद्ध जवाफी हमला गरेको हो, त्यहाँका सेना वा नागरिकविरुद्ध गरेको होइन,’ उनले भने, ‘अब के चाहने भन्ने पाकिस्तानको हातमा छ ।’ उनले भारत–पाकिस्तान तनावका कारण नेपालसँग आपूर्तिलाइन प्रभावित नहुने स्पष्ट पारेका छन् ।