१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Sunday, 11 May, 2025
२o८२ बैशाख २५ बिहीबार o७:४३:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेमा नेताहरूको गुटको टक्कर : पार्टी र जनसंगठनका अधिवेशनमा झडप 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार o७:४३:oo

एमालेमा अध्यक्ष केपी ओलीको वरिपरि गोलबन्द हुँदै उनको एकल नेतृत्वलाई बलशाली बनाउने नेताहरू पार्टी र जनसंगठनका अधिवेशनमा समूह बनाएरै तलतल आपसमा भिड्न थालेका छन् । प्रदेश, जिल्ला र जनसंगठनमा प्रभाव जमाएर केन्द्रमा शक्तिशाली बन्ने केन्द्रीय तहका नेताहरूको स्वार्थ तलका अधिवेशनमा पोखिँदा हिंसात्मक घटना बढेको छ ।

एक साताकै बिचमा ताप्लेजुङ, धनुषा हुँदै पर्वतका अधिवेशनमा दुई समूहबिचको झडपले हिंसात्मक रूप लिएको छ । बुधबार राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य अर्जुन पौडेल कुटिएका छन् । उनको टाउकोमा सात टाँका लगाइएको छ । यस्तै, घटना धनुषाको एमाले जिल्ला अधिवेशन र राष्ट्रिय युवा संघको ताप्लेजुङ अधिवेशनमा पनि दोहोरिएको छ । धनुषामा पार्टी सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया तथा निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवको समूह, पर्वतमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना तथा केन्द्रीय सदस्य पदम गिरी समूहबिचको स्वार्थको टकरावले झडपका घटना भएका छन् ।

एमाले केन्द्रीय कार्यालयले केन्द्रमा सैद्धान्तिक, वैचारिक, नीतिगत, कार्यक्रमका विषयमा कुनै गुट नभएकाले स्थानीय पार्टी कमिटी र जनसंगठनमा प्रभाव जमाउन चाहने नेताहरूको स्वार्थ टकरावका कारण अराजकताको अवस्था सिर्जना हुँदै गएको स्वीकार गरेको छ । तर, समाधानको बाटो भने पार्टीको विधानलाई पालना गर्नेबाहेक अरू विकल्प नभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘पार्टी केन्द्रमा सैद्धान्तिक, वैचारिक, नीतिगत र कार्यक्रमिक विषयमा कुनै गुटबन्दी नभएपछि तल कतिपय स्थानमा स्वार्थ समूहको टकराव देखिएको छ,’ उनले भने, ‘कसलाई अगाडि सार्दा व्यक्तिगत स्वार्थ पूरा हुन्छ भन्ने टकरावका कारणले समस्या देखिएको हो, त्यसैले समाधानका लागि पार्टी विधानको अक्षरशः पालना गरेर सहमति या स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्नुपर्छ ।’

गौतमले धनुषामा स्थानीय स्वार्थको टकरावले परिस्थितिलाई अराजकतातर्फ लैजान खोजेकैले अधिवेशन स्थगित गरिएको बताए । सहमति या प्रतिस्पर्धामध्ये एउटा बाटोबाट नेतृत्व छनोट हुन नदिइएकैले पार्टीभित्र अराजकता बढेकोतर्फ ध्यानाकर्षण भएको भन्दै पार्टी निर्माणमा वैचारिक पक्ष कमजोर भएकैले समस्या आएको र अहिले तलसम्म ‘स्कुलिङ’लाई जोड दिएर सञ्चालन गरिएको बताए । ‘पार्टी निर्माणमा वैचारिक पक्ष कमजोर हुँदा नै अराजकता उत्पन्न हुने भएकाले हामीले विचारधारात्मक कामलाई प्राथमिकता दिएर स्कुलिङ सञ्चालनमा जोड दिइरहेका छौँ,’ गौतमले भने ।

पर्वतको अधिवेशनमा कुटाकुट, दुई घाइते
राष्ट्रिय युवा संघ पर्वतको बुधबारका लागि तय भएको नवौँ जिल्ला अधिवेशन गर्ने र नगर्ने भन्ने विषयमा दुई पक्षबिच विवाद बढ्दै जाँदा झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् । एमाले पर्वत जिल्ला कार्यालयमा गर्ने भनिएको अधिवेशन एक पक्ष गर्ने र अर्को पक्ष नगर्ने भन्ने विषयमा विवादपछि कुटाकुटको अवस्था सिर्जना भएको हो । दुई पक्षबिच भएको कुटाकुटमा एमाले प्रदेश समिति सदस्यसमेत रहेका युवा संघका पूर्वकेन्द्रीय सदस्य अर्जुन पौडेल र ध्रुव श्रेष्ठ घाइते भएका छन् । धारिलो हतियारको प्रहारले टाउकोमा गहिरो चोट लागेका पौडेलको टाउकोमा सातवटा टाँका लगाइएको छ । उनीहरूको स्थानीय शान्तिदीप अस्पतालमा उपचार भइरहेको छ । 

पार्टीका जिल्ला अध्यक्ष गोविन्द गिरीले हस्तक्षेप गर्दै अधिवेशन गर्ने प्रक्रिया अघि बढाएपछि विवादका बिच झडप र पछि कुटाकुट भएको बताइन्छ । संघका अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकाली र घाइते पौडेल हाल अधिवेशन गर्न नसकिने भएकाले जेठमा गर्नुपर्ने अडानमा थिए । संस्थापनसँगै प्रतिनिधिसभा सदस्य पदम गिरी पक्षका पार्टीका जिल्ला अध्यक्ष गोविन्द गिरीको पहलमा अधिवेशन जसरी पनि गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएपछि अर्को रोक्नुपर्ने पक्षमा रहेका नेता–कार्यकर्ताबिच कुटाकुटको अवस्थामा पुगेको हो । संघको १०औँ राष्ट्रिय अधिवेशन ९–११ जेठसम्म पोखरामा हुँदै छ । 

झडपपछि एमाले धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित 
एमाले धनुषाको आठौँ जिल्ला अधिवेशन दुई पक्षको विवादका कारण मंगलबार नै अनिश्चितकालका लागि स्थगित भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा जारी अधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएपछि दुई पक्षबिच विवादले उग्र रूप लिँदा झडप भएको थियो । झडपमा अध्यक्ष पदका उम्मेदवार भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास घाइते भएका छन् । महासेठ पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठका दाजु हुन् । अर्को समूहका राजकिशोर यादव, लव अधिकारीमाथि कुटपिट गरिएको भएको थियो । झडपका क्रममा निर्वाचन समितिको कक्षमा रहेको कम्प्युटर, फोटोकोपी मेसिनसहित तोडफोड भएको छ । 

२० वैशाखदेखि सुरु भएको अधिवेशनमा दुई पक्षबिच नेतृत्वलाई लिएर कुरा नमिल्दा मंगलबार निर्वाचनमा जाने सहमति भएको थियो । सोही सहमतिअनुसार सोमबार राति उम्मेदवारी दर्ता भएको थियो । सोमबार राति नै निर्वाचन समितिले मतदाता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो । मंगलबार १० बजेदेखि मतदान सुरु गर्ने तयारी थियो । तर, केन्द्रीय सदस्य उमाशंकर अरगरिया तथा निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षले आफ्नो टिमबाट उम्मेदवारी दिएका केही व्यक्तिको नक्कली हस्ताक्षर गरी उम्मेदवारी फिर्ता गराएको तथा उम्मेदवारीका लागि तोकिएको समयभित्र उम्मेदवारी नदिएका व्यक्तिको नाम उम्मेदवारको अन्तिम नामावलीमा समावेश गरिएको अरोप लगाउँदै सच्याउन निर्वाचन समितिसँग माग गरेका थिए । त्यसका लागि उनीहरूले मतदानस्थलमै धर्ना दिएका थिए । अर्कोतर्फ पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठनिकट भोला यादव समर्थकले मतदान माग गर्दै नाराबाजी गरेका थिए । त्यही समयमा दुई समूहबिच कुर्सी हानाहान भएको थियो । त्यसक्रममा निवर्तमान अध्यक्ष राजशिकोर यादवमाथि समेत हातपात भएको छ । केन्द्रीय सदस्य उमाशंकर अरगरिया तथा निवर्तमान अध्यक्ष राजकिशोर यादवको समूहबाट लक्ष्मीनारायण अध्यक्ष पदका उम्मेदवार हुन् ।  

ताप्लेजुङमा पनि दुई समूहबिच कुटाकुट 
१९ वैशाखमा राष्ट्रिय युवासंघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनमा पनि दुई समूहबिच कुटाकुट भयो । केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको अधिवेशनमा विवाद भएपछि नयाँ समिति चयन प्रक्रिया रोकिएको थियो । बन्दसत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीको लागि नाम सूची तयार गरेर अध्यक्षमण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोजिँदा विवाद भएर कुटाकुट भएको थियो । थेबेले नयाँ जिल्ला कमिटी टिके प्रथाबाट घोषणा गरेर जिल्ला छाडेको भन्दै अर्को समूहले विरोध जनाएको थियो । ताप्लेजुङ घटनाको छानबिनका लागि एमाले कोशी प्रदेशले उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा अलग्गै छानबिन समिति बनाएको छ भने झडपलाई साथ दिएको आरोपमा प्रदेश कमिटीका सल्लाहकार बलबहादुर सामसोहाङ र जिल्ला नेता मणिशेक पोमूलाई अनुशासनको कारबाही गरी निलम्बन गरेको छ ।