
ब्रिगेड ब्वाइज क्लब (बिबिसी)विरुद्ध ३–१ को जित निकालेसँगै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ । १४ क्लब सहभागी लिगको अंकतालिकाको पुछारमा रहेको सरस्वतीले बिसिसीलाई हराएसँगै १२औँ स्थानमा उक्लियो । यो जितले टोलीलाई तत्काल राहत महसुस भएको छ । बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा सरस्वतीलाई जित दिलाउन विशेष लामा, फत्तेमान घले र विज्ञान खड्काले समान एक गोल गरेका थिए । बिसिसीका लागि अभिषेक लामाले एक गोल फर्काए । जितसँगै सरस्वती ९ अंक जोड्दै १२औँ स्थानमा उक्लियो ।
सरस्वतीले सहज वातावरण बनाउँदा मध्यपुर युथ एसोसिएसन ८ अंकका साथ पुछारमा झरेको छ । समान अंक जोडेको नयाँ बस्ती युवा क्लब १३औँ स्थानमा छ । हारसँगै बिबिसी १२ अंक जोड्दै नवौँ स्थानमा यथावत् रह्यो । यसअघि विशेषले पहिलो हाफको अन्तिम मिनेटमा सरस्वतीलाई अग्रता दिलाएका थिए । ७६औँ मिनेटमा फत्तेमानले सरस्वतीको अग्रता दोब्बर बनाएका हुन् । ८२औँ मिनेटमा अभिषेकले बिबिसीलाई २–१ को अवस्थामा ल्याएका थिए । खेलको इन्जुरी समयमा विज्ञानले गोल गर्दै सरस्वतीलाई ३–१ को जित सुनिश्चित गरेका थिए ।
झापाले बाँसबारीलाई हरायो
दोस्रो श्रेणीको लिगमा झापा एफसीले बाँसबारी क्लबलाई २–० ले हराएको छ । झापालाई जित दिलाउन शेरबहादुर धिमाल र असिमजंग कार्कीले गोल गरेका थिए । १२औँ स्थानमा रहेको झापालाई जितसँगै राहत मिलेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा १०औँ चरणको खेल जितेपछि झापा आठौँ स्थानमा उक्लियो । हारसँगै १५ अंक जोडेको बाँसबारी तेस्रो स्थानमै छ । बाँसबारी दोस्रो स्थानको श्री भगवतीभन्दा ६ अंकले पछाडि छ ।
झापाका लागि नवौँ मिनेटमा शेरबहादुरले गोल गरेका हुन् । खेल सकिन एक मिनेटअघि असिमले झापाका लागि दोस्रो गोल गरेका थिए । बिहीबार प्रतियोगितामा दुई खेल हुनेछन् । तेस्रो स्थानको वीरगन्ज युनाइटेडले चौथो स्थानको ब्वाइज युनियन क्लब र शीर्षस्थानको प्लानिङ ब्वाइज क्लबले श्री भगवतीको सामना गर्नेछ ।