
भरतपुरका युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालनमा आएको छ । भरतपुर महागनर प्रमुख रेनु दाहालले उद्घाटन गरेको तालिममा १८ देखि ४० वर्षमुनिका चार सयजना युवालाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो । तालिमको उद्घाटन गर्दै नगरप्रमुख दाहालले भरतपुरमा भौतिक पूर्वाधारको विकासमा मात्र नभई रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित रहेको बताइन् ।
महानगरपालिकाले विगत वर्षमा पनि वडागत रूपमा चार हजारभन्दा बढीलाई तालिम प्रदान गरेको दाहालको भनाइ छ । सीपमूलक तालिमअन्तर्गत कम्प्युटर मर्मत, मोबाइल मर्मत, कुक, वेटर, ब्युटिसियन, गार्मेन्ट, मेसिन अपरेटर, फेसन डिजाइनर, प्लम्बर, केयर गिभर, हाउस किपिङ तालिम रहेका छन् ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षणसहित तालिम तीन महिना सञ्चालन हुनेछ । प्रमुख दाहालले आगामी दिनमा पनि मागमा आधारित १७ सयजना युवालाई विभिन्न किसिमका तालिम दिन लागेको जानकारी दिइन् ।