
सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।
जंगली जनावरको सिकार गर्न आएकाहरूले प्रहरी आएको सूचना पाएपछि बन्दुक फालेर भागेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। गाउँनजिकै बन्दुक पड्किएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट गएको प्रहरी टोलीले शनिबार बिहान साढे १० देखि पौने १२ बजेको अवधिमा दुई थान भरुवा बन्दुक फेला पारेको हो।
गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द साहका अनुसार झाडीमा खोजतलासको क्रममा पहिलो बन्दुक फेला परेपछि करिब तीन सय मिटरको दूरीमा अर्को बन्दुक भेटिएको हो। ‘बन्दुक पड्किएको क्षेत्रमा खोजतलासको क्रममा फरकफरक ठाउँबाट भरुवा बन्दुक फेला परेको हो,’ उनले भने।
बरामद गरिएको भरुवा बन्दुक कसले फालेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।