मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक २८ सोमबार १४:५६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

हिमाली जिल्ला रसुवामा चुनावी गर्मी : दोहोरिने दाउमा रहेका आचार्यलाई तामाङको चुनौती  

Read Time : > 2 मिनेट
२०७९ कार्तिक २८ सोमबार १४:५६:००

निर्वाचनको मिति नजिकिँदै  गर्दा हिमाली जिल्ला रसुवाको चुनावी माहोल  तातिँदै गएको छ । उम्मेदवारहरूले चुनावको प्रचार–प्रसार र घरदैलो अभियानलाई तीव्र बनाएका छन् । 

प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको रसुवामा कांग्रेस र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, प्रतिनिधिसभाका लागि १० जना र प्रदेश सभा क्षेत्र (क) मा आठ र प्रदेश सभा क्षेत्र (ख) मा आठजना गरी जिल्लामा २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  

स्थानीय तहको निर्वाचनको परिणाम विश्लेषण गर्दा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका मोहन आचार्य र एमालेबाट छोवाङ तेन्जिन तामाङबीच प्रतिस्पर्धा हुँदै छ । 

आचार्य कांग्रेसका केन्द्रीय सदस्य हुन भने तामाङ एमालेका पुराना नेताको रूपमा चिनिन्छन् । आचार्य गएको ०७४ सालको प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए भने तामाङ ०७० मा प्रतिनिधिसभाका समानुपातिकका सांसद हुन् ।  

यस्तो छ अंकगणित
०७४ मा पनि रसुवामा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । एमालेबाट उम्मेदवार बनेका जनार्दन ढकालले १० हजार दुई सय ७८ मत ल्याएका थिए । 

त्यसैगरी, कांग्रेसबाट उम्मेदवार बनेका मोहन आचार्य १४ हजार चार सय ५३ मत ल्याएर विजयी बनेका थिए । आचार्य अहिले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् भने एमालेका ढकालले तामाङलाई सघाएका छन् ।   

स्थानीय निर्वाचनमा को बलियो ? 
गएको स्थानीय तहको निर्वाचनमा पाँचवटा गाउँपालिकामध्ये कांग्रेसले कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्याक्ष, नौकुण्ड गाउँपालिकामा अध्यक्ष, आमाछोदिङमाे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो । 

एमालेले भने उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नौकुण्ड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिमा बराबरी हुँदा गोला तानेर अध्यक्ष एमालेले जितेको छ ।

स्थानीय निर्वाचनमा एमालेले जिल्लाको पाँचवटै पालिकाको कुल १२ हजार दुई सय ८७ मत, कांग्रेसले १२ हजार एक सय ५५, माओवादी केन्द्रले तीन हजार दुई सय २७ र एकीकृत समाजवादीले ४६ मत प्राप्त गरेका थिए । सोही मत परिणाम समायोजन गर्दा गठबन्धनको मत कुल १५ हजार चार सय ३९ हुन्छ भने एमालेको १२ हजार दुई सय ८७ मत हुन आउँछ । 

यो परिणामलाई हेर्दा गठबन्धनको उम्मेदवारको पक्षमा तीन हजार एक सय ५२ धेरै छ । यस आधारमा आचार्यलाई सहज हुने देखिए पनि स्थानीय र संसदीय निर्वाचनको मत परिणाम फरक पर्ने सम्भावना रहने भएकाले उनी ढुक्क छैनन् । 

जिल्लाको विकास नै मुख्य एजेन्डा
चुनावी प्रतिस्पर्धामा रहेका दुवै उम्मेदवारले मुख्य एजेन्डा जिल्लाको विकासलाई बनाएका छन् । कांग्रेसका उम्मेदवार मोहन आचार्यको प्रमुख चुनावी एजेन्डा समृद्ध रसुवा निर्माणका लागि जिल्लाको विकास रहेको छ । 

त्यसैगरी विगतमा अधुरा रहेका विकासका काम पूरा गरी सम्मुनत रसुवा निर्माण गर्ने आफ्नो प्रमुख एजेन्डा रहको आचार्यले बताए । ‘रसुवागढी नाका व्यवस्थापन, सडक, जलविद्युत्, पर्यटन, जडीबुटी खेती, पशुपालन, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारलगायत छन्,’ उनले भने, ‘मुख्य एजेन्डा रसुवाको विकास हो ।’

रसुवाको विकास र समृद्धिका लागि आफू राजनीतिमा आएको आचार्यले बताएका छन् । रसुवाका जनताको जीवनस्तरमा सुधार ल्याउनु आफनो मूल उद्देश्य रहेकोसमेत उनले बताए । 

त्यसैगरी अर्का उम्मेदवार एमालेका तामाङले भने जिल्लामा पैसाको राजनीति अन्त्य गर्नु चुनावी मुख्य एजेन्डा रहेको बताए । ‘रसुवामा पैसाको राजनीति अन्त्य गरेर किसानको छोराछोरी पनि राजनीतिमा आउन सक्ने बनाउनु छ, विचारको प्रतिस्पर्धाबाट चुनावी प्रतिस्पर्धा हाम्रो उद्देश्य हो,’ उनले भने । 

त्यसैगरी स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन, जलविद्युत् आयोजनाको व्यवस्थापनलगायत जिल्लाको समग्र विकास आफ्नो चुनावी एजेन्डा रहेको बताए । 

पाँचवटा गाउँपालिका रहेको रसुवामा ५२ वटा मतदान केन्द्र र ३४ वटा मतदानस्थल तोकिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा ०७४ मा जिल्लामा ३२ हजार तीन सय २२ मतदाता थिए । अहिले ३९ हजार चार सय ५९ जना मतदाता रहेका छन् । जसमा २० हजार एक सय १८ जना पुरुष, १९ हजार तीन सय ४० जना महिला र एक जना अन्य रहेका छन् । 

निर्वाचनमा एमाले, कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी गरी सात वटा राजनीतिक दलले सहभागिता जनाएका छन् भने तीनजना स्वतन्त्र चुनावी प्रतिस्पर्धामा छन् । 

जसमा नाैजना पुरुष र एकजना महिला गरी कुल १० जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारको समावेशी विवरण हेर्ने हो भने ५० प्रतिशत खस–आर्य, ४० प्रतिशत आदिवासी–जनजाति र १० प्रतिशत दलितको सहभागिता रहेको छ ।