मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक २८ सोमबार १०:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुर्घटना हुन नदिन हवाई रुटमा क्यामरा जडान

राष्ट्रिय आविष्कार केन्द्रले जडान गर्‍यो मौसमसम्बन्धी जानकारी दिने तीनवटा क्यामरा, लुक्ला, सिमिकोटलगायत विमानस्थलमा पनि क्रमशः जडान गरिने

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २८ सोमबार १०:२०:००

भौगोलिक जटिलता र मौसम विविधताका कारण हुने हवाई दुर्घटना कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रुटमा मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गरेको छ । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले तीन ठाउँमा त्यहाँको मौसम देखिने गरी विशेष क्यामरा जडान गरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । मौखिक सहमतिकै आधारमा क्यामरा जडान गर्ने काम भए तापनि क्यान र आविष्कार केन्द्रबीच औपचारिक समझदारी भने आइतबार भएको छ । 

यी विशेष क्यामराबाट पोखरा र जोमसोम एयरपोर्टबाटै इनरुटमा छिनछिनमा हुने मौसम बदलावको सूचना प्राप्त गर्न सकिने प्रवक्ता निरौलाले बताए । जसले इनरुटमा अकस्मात् मौसम बदलीका कारण हुने हवाई दुर्घटना कम गर्न मद्दत पुग्नेछ । अहिले उडान तथा अवतरण हुने विमानस्थल क्षेत्रको मौसम सफा हुँदा जहाज उड्न अनुमति दिइन्छ, जसले गर्दा बीचको भागमा मौसम खराबी भएर जहाज दुर्घटनामा पर्ने समस्या छ ।

‘पोखरा–जोमसोम रुटमा विशेष क्यामरा जडान गर्ने काम राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको छ, केन्द्रले जडान गरेको क्यामराले नतिजा पनि राम्रो दिइरहेको छ,’ प्रवक्ता निरौलाले भने, ‘क्यामराले मौसमसम्बन्धी राम्रो सूचना दिन थालेपछि बल्ल दुई पक्षबीच एमओयूमा हस्ताक्षर भएको हो ।’ 

नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनीय बनाउन आवश्यक महसुस गरी बीचको भागमा पर्ने हवाई रुटमा मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गर्न लागेको क्यानले जनाएको छ । हवाई रुटमा एक ठाउँमा करिब तीन मिनेट जहाज सम्पर्कविहीन हुने गर्छ । सो ठाउँमा पुगेपछि पाइलट र एयर ट्राफिक कन्ट्रोलर (एटिसी)बीच सम्पर्क हुँदैन । यस्तै, यो रुटमा छिनछिनमा मौसम बदलिरहने हुँदा पाइलटले धोका पाउने अवस्था रहेको बताइन्छ । 

रुटमा राखिएका क्यामराले राम्रो नतिजा दिएमा अरू क्षेत्रमा पनि क्यामरा जडान गर्ने प्रवक्ता निरौलाले बताए । ‘हाम्रो उच्च पहाडी र हिमाली भेगमा रहेका विमानस्थलमा छिनछिनमा मौसम परिवर्तन भइरहन्छ, यतिसम्म कि मौसम विभागले पनि पूर्वानुमान गर्न नसक्ने अवस्था छ,’ प्रवक्ता निरौलाले भने, ‘त्यसैले सिमिकोट, लुक्लालगायत विमानस्थलमा हवाई सुरक्षा बढाउन बीचभागमा क्यामरा जडान गर्दै जानेछौँ ।’

पछिल्लोपटक १५ जेठ ०७९ मा तारा एयरको जहाज पोखराबाट जोमसोमतर्फ जाँदा मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो । मौसम खराबीका कारण दायाँ मोड्नुपर्ने जहाज बायाँ मोडिएर भित्तामा ठोक्किँदा जहाज दुर्घटनामा परेको अध्ययन रिपोर्टले देखाएको छ । सो उडानमा तीनजना चालकदलका सदस्यसहित १९ यात्रु सवार थिए ।