१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २७ आइतबार २१:१९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलियो अवस्थामा वर्षमान

स्थानीय तह निर्वाचनको मत हेर्दा गठबन्धन धेरै अगाडि

Read Time : > 3 मिनेट
२०७९ कार्तिक २७ आइतबार २१:१९:००

रोल्पामा लोकतान्त्रिक-वाम गठबन्धनको समर्थनमा माओवादीका उम्मेदवार वर्षमान पुन अनन्त र एमालेका उम्मेदवार पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । समग्रमा तेस्रो र रोल्पाबाट प्रतिनिधित्व गरी दोस्रोपटक संसद् छिर्ने प्रयासमा रहेका वर्षमानलाई उनकै पूर्वसहकर्मीले चुनौती दिएका छन् । 

विगतका चुनावमा प्राप्त मतका आधारमा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पुनलाई जित हात पार्न सहजता देखिएको छ । गठबन्धनबाट प्रतिनिधिसभामा पुन उम्मेदवार छन् भने प्रदेश सभा रोल्पा (क)मा माओवादीका पोलिटब्युरो सदस्य जोखबहादुर महरा र रोल्पा (ख)मा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन उम्मेदवार छन् । विगतका चुनावमा प्राप्त मतका आधारमा माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो पार्टी हो । 

एमालेका तर्फबाट प्रतिनिधिसभामा निर्वाचनमा उम्मेदवार रहेका पूर्ण बुढामगर माओवादी पूर्वलडाकुसमेत हुन् । उनी नेकपा टुक्रिएर एमाले र माओवादी केन्द्र बनेपछि उनी एमालेमै बसेका हुन् । ०६४ यताका सबै चुनावमा रोल्पाबाट माओवादी उम्मेदवार विजयी हुँदै आएका छन् । 

पहिलो संविधानसभा चुनावमा ललितपुर–१ बाट जितेका वर्षमान पुन ०७० मा मोरङ–९ बाट पराजित भएका थिए । त्यसपछि ०७४ मा रोल्पाबाट जितेका उनी यसपटक पनि रोल्पाबाटै दोस्रोपटक उम्मेदवार बनेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पामा राप्रपा नेपालका रामबहादुर वली क्षेत्री, राप्रपाका लीला रावल र नेपाल मजदुर किसान पार्टीका नातिभाइ ह्योम्बा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । 

प्रदेश सभामा प्रचण्डका पूर्वस्वकीयको पहिलो परीक्षा
वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा रोल्पा (१)मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरा उम्मेदवार छन् । लामो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रहेका महरा पहिलोपटक चुनावी प्रतिस्पर्धामा उभिएका हुन् । 

उनको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका कमलबहादुर बुढाथोकी रहेका छन् । यस क्षेत्रमा राप्रपा नेपालका गन्जबहादुर शाही र राप्रपाका पदमबहादुर थापा पनि उम्मेदवारका रूपमा मैदानमा छन् । २०७४ को प्रदेश सभा निर्वाचनमा अहिलेका लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसी यही क्षेत्रबाट विजयी भएका थिए । 

माओवादी–एमाले गठबन्धनबाट जितेका केसीले जम्मा खसेको ३३ हजार आठ सय ३३ मतमध्ये १८ हजार पाँच सय १२ मत लिएका थिए भने कांग्रेसका उम्मेदवारले १० हजार चार सय एक मत प्राप्त गरेका थिए ।

रोल्पा प्रदेश सभा (२)मा कांग्रेसको भागमा परेपछि सबैको चासो 
आगामी ४ मंसिरमा हुने निर्वाचनमा धेरैको चासो रोल्पाको प्रदेश सभा (२) मा देखिएको छ । २०६४ यता माओवादीले जित्दै आएको यस क्षेत्रमा गठबन्धनको तर्फबाट कांग्रेसले पाएपछि माओवादीका केही व्यक्ति असन्तुष्टि बनेका छन् । 

गठबन्धनको निर्णयले माओवादी कार्यकर्ता विभाजित बनेका छन् । कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा यही क्षेत्रका पूर्वसांसद दीपेन्द्रकुमार पुन ‘सिजल’ले पार्टीबाट राजीनामा दिएर स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यो निर्वाचन क्षेत्र थप बहसको विषय बनेको छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको आकांक्षीसमेत रहेका अमरसिंह पुनलाई जिताउन माओवादी केन्द्रले सहयोग गर्ने गठबन्धनको केन्द्रीय निर्णय थियो । तर, त्यसलाई अस्वीकार गर्दै माओवादीका विद्रोही नेता पुन ‘सिजल’ले सोही क्षेत्रमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएसँगै माओवादी केन्द्रले पुनलाई कारबाही गरिसकेको छ ।

सिजलले रोल्पाको माओवादी बचाउन कार्यकर्ताकै आग्रहमा उम्मेदवारी दिएको दाबी गरेका छन् । अमरसिंह पुनले आफू सधैँ गठबन्धनकै पक्षमा रहेको बताएका छन् । एमालेबाट प्रेमबहादुर घर्तीमगर, राप्रपा नेपालबाट केशरबहादुर पुन र राप्रपाबाट सेते दमाईंको उम्मेदवारी छ ।

स्थानीय तहको मतको आधारमा गठबन्धन धेरै अगाडि
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामअनुसार गठबन्धन धेरै मतले अगाडि देखिएको छ । १० स्थानीय तह रहेको रोल्पामा माओवादी केन्द्रले सात अध्यक्ष र उपाध्यक्ष, कांग्रेसले दुई अध्यक्ष र तीन उपाध्यक्ष र नेकपा एमालेले एक अध्यक्ष मात्र जितेको थियो । 
७२ वडामध्ये माओवादीले ४८, कांग्रेसले १४ र एमालेले ८ जितेका थिए भने एकीकृत समाजवादी र स्वतन्त्रले एक-एक वडा जितेका थिए । समग्रमा वडाध्यक्षमा माओवादीले ४० हजार सात सय ९१, कांग्रेसले २४ हजार ६ सय ६४ पाएका छन् । 

त्यसैगरी, एमालेले १५ हजार तीन सय एक, राप्रपाले एक हजार दुई सय १८ र एकीकृत समाजवादीले नौ सय ५० मत पाएको देखिन्छ । वाम–लोकतान्त्रिक गठबन्धनअन्तर्गत माओवादी, कांग्रेस र एकीकृत समाजवादीको मत जोड्दा ६६ हजार चार सय पाँच छ । प्रतिस्पर्धी दल एमालेको १५ हजार तीन सय एक मत छ । मतका आधारमा वर्षमानको जित सुनिश्चित रहेकोमा गठबन्धनका कार्यकर्ता ढुक्क छन् । 

३१ मतदानस्थल अतिसंवेदनशील
रोल्पामा तोकिएका ८६ मध्ये ३१ मतदानस्थललाई अतिसंवेदनशील मानिएको छ । भौगाेलिक विकटता तथा विप्लव नेतृत्वको नेकपाको प्रभाव रहन सक्ने आकलनसहित ती क्षेत्रलाई अतिसंवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । 
थबाङ गाउँपालिकामा तीन, रोल्पा नगरपालिकामा दुई, त्रिवेणी गाउँपालिकामा एक, परिवर्तन गाउँपालिकाको दुई, रुन्टीगढी गाउँपालिकामा ६, गंगादेव गाउँपालिकामा ६, सुनछहरी गाउँपालिकामा पाँच, लुंग्री गाउँपालिकामा पाँच र माडी गाउँपालिकामा एक मतदानस्थल अतिसंवदेनशील मानिएको छ । 

४२ वटालाई संवेदनशील र १३ मतदातस्थललाई सामान्य मानिएको छ । ‘अतिसंवेदनशील मानिए पनि सुरक्षाका हिसाबले सबै तयारी गरिएको छ,’ प्रजिअ सापकोटाले भने, ‘भयरहित वातावरणमा निर्वाचन हुने भएकाले सबै मतदाताले ढुक्कका साथ मतदान गर्न आग्रह गर्दछु ।’ आवधिक निर्वाचन लोकतन्त्रको प्राणको रूपमा रहेकाले संविधानको परिधिभित्र रहेर गतिविधि गर्न सबै पक्षलाई उनले आग्रह गरे । 

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा ‘स्वतन्त्र’रूपमा निर्वाचनमा भाग लिएको विप्लव नेकपाले यो निर्वाचन भने बहिष्कार गर्ने जनाएको छ । निर्वाचन बहिष्कार गर्ने कुरा बाहिरिएसँगै रोल्पा प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ । 

योजनाअनुसार पहिलो घेरामा जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखेर सुरक्षा दिने प्रजिअ सापकोटाले बताए । रोल्पामा स्थायी एक सय ७५ र अस्थायी दुईसहित एक सय ७७ मतदान केन्द्र रहेका छन् । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लभलाइट वलीका अनुसार रोल्पाको प्रदेश सभा १ मा ६८ हजार  एक सय ६४ र प्रदेश सभा २ मा ७७ हजार तीन सय सातसहित रोल्पामा एक लाख ४५ हजार चार  सय ७१ मतदाता छन् ।

संसद् पुगेपछि गाँजा खेतीलाई वैधानिक बनाउन प्रयास गर्छु:
पूर्ण बुढामगर

गाँजा खेतीलाई संसदमा छिरिसकेपछि वैधानिक बनाउने पहिलो योजना छ । यसले रोजगारी सिर्जना गर्छु र रोल्पाली धनी बन्छन् । स्थानीय रूपमा उत्पादन हुने रक्सीलाई कानुनतः वैधानिक बनाउने र ब्रान्ड बनाएर स्थापित गर्ने मेरो अर्को योजना छ ।


आर्थिक समृद्धि र रोल्पाको विकास प्राथमिकता रहन्छ:
वर्षमान पुन

मुख्यतः राष्ट्रिय नीति निर्माणका लागि भूमिका रहन्छ । संविधानको रक्षा, राजनीतिक स्थायित्व र आर्थिक समृद्धि गठबन्धनको प्राथमिकता हो । रोल्पामा भौतिक पूर्वाधारको क्षेत्रमा धेरै विकास भएको छ, अब त्यसको स्थायित्व आवश्यक छ । उद्यमशीलता सिर्जना गरेर सुखी र समृद्ध रोल्पाली बनाउने योजना छ ।