१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ कार्तिक २७ आइतबार ०६:१९:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निष्क्रिय रावलमाथि एमाले र सत्तागठबन्धनको नजर

Read Time : > 5 मिनेट
२०७९ कार्तिक २७ आइतबार ०६:१९:००

टिकट नदिइनुका कारण र आफ्ना विषयमाथि गरिएका टिप्पणीबारे नेतृत्वले छलफल नगरेसम्म चुनावी प्रचारमा नहिँड्ने रावलको अडान, निर्वाचनमा नकारात्मक असर पुग्ने डरले कारबाही नगर्ने मनस्थितिमा एमाले

भीम रावल नेता, एमाले
एमालेको संस्थागत प्रणालीअन्तर्गत बैठक–भेलामा संलग्नताका लागि सम्बन्धित कमिटीले खबर गर्नुपर्छ । तर, अध्यक्ष केपी ओली संलग्न भएका दार्चुला, कञ्चनपुर र बैतडीमा भएका कार्यक्रमबारे पनि मलाई औपचारिक जानकारी थिएन । अछामको सन्दर्भमा त्यहाँका कमिटीका साथीले बोलाइरहनुभएकै छ । आउन म तयार छु, तर केन्द्रीय नेतृत्वले मलाई उम्मेदवार हुनबाट वञ्चित गर्ने र फेरि त्यहाँ (अछाम) नेतृत्वले बोलेका कुरामाथि टिप्पणी गरेँ भने त नकारात्मक कुरा उठ्न सक्छ । र, चुनाव हारियो भने भीम रावलका कारण हारियो भन्ने दोष लाग्न सक्छ । त्यसैले वातावरण तपाईंहरू बनाउनुहोस्, आउन तयार छु भनेको थिएँ । त्यसपछि उहाँहरूबाट कुनै खबर आएको छैन ।

पार्टीले टिकट नदिएपछि नेतृत्वप्रति आक्रोश र असन्तुष्टि पोख्दै आएका एमाले पूर्वउपाध्यक्ष भीम रावल चुनावी परिचालन उत्कर्षतिर पुग्दै गर्दा निष्क्रिय बसेका छन् । २७ असोजमा पत्रकार सम्मेलन गरेर औपचारिक धारणा राखेका रावल त्यसयता चुनाव परिचालनसम्बन्धी पार्टीको कुनै पनि ‘फोरम’मा सहभागी छैनन् । 

टिकट नदिइनुका कारण र आफ्ना विषयमाथि गरिएका टिप्पणीबारे नेतृत्वले छलफल नगरेसम्म चुनावी प्रचारमा नहिँड्ने सार्वजनिक अडान राख्दै आएका रावलको निष्क्रियतामाथि पार्टी पंक्ति र सत्तारूढ गठबन्धनकै पनि नजर परेको छ । तर, उनको पछिल्लो अडान र आरोपबारे अध्यक्ष केपी ओलीसहितका शीर्ष तहका नेताले सार्वजनिक जवाफ फर्काउनेबाहेक औपचारिक ‘एक्सन’ लिएका छैनन् । जब कि पार्टी छाडेर अर्कै चुनाव चिह्नबाट लडेका घनश्याम भुसाल र प्रभु साहमाथि भने एमालेले निष्कासन गर्ने अनुशासनको कारबाही गरिसकेको छ ।

रावलको गृहजिल्ला अछाम र प्रभाव क्षेत्र सुदूरपश्चिम मानिन्छ । उनको सट्टा अछाम १ बाट टिकट पाएका एमाले उम्मेदवार झपट बोहराले निरन्तर सम्पर्क राखेर रावललाई सहयोगका लागि आग्रह गरिरहेका छन् । तर, नेतृत्वसँग छलफल नभएसम्म परिचालनबाट टाढै बस्ने अडानमा रहेका रावलको निष्क्रियताले गृहजिल्ला अछाममा प्रभाव पर्न सक्ने एमाले पंक्तिकै अनुमान छ ।

रावल चुनावी प्रचार उत्कर्षतिर पुग्दै गर्दा न पार्टीका उम्मेदवार जिताउन सक्रिय छन्, न विपक्षी उम्मेदवारमाथि नै सद्भाव राखेका छन् । बरु सार्वजनिक फोरमबाट अध्यक्ष ओलीसँग सवाल–जवाफ गरिरहेका रावलले आफ्नो असन्तुष्टि नेता–कार्यकर्ता पंक्तिसँग नभएर नेतृत्वसँग मात्र रहेकाले निष्क्रिय बसिरहेको सन्देश दिइरहेका छन् ।

१८ कात्तिकमा अध्यक्ष ओली सुदूरपश्चिमको दार्चुला, कञ्चनपुर, बैतडीलगायत क्षेत्रमा चुनावी सभामा सहभागी हुँदा रावल सहभागी भएनन् । पार्टी संस्थागत प्रणालीअन्तर्गत नचलेको, नेतृत्वले छलफल गर्न नचाहेको र संस्थागत रूपमा खबर पनि नभएकाले आफू चुनावी परिचालनसम्बन्धी कुनै पनि कार्यक्रममा अनुपस्थित रहेको रावलको भनाइ छ । 

‘एमालेको संस्थागत प्रणालीअन्तर्गत बैठक–भेलामा संलग्नताका लागि सम्बन्धित कमिटीले खबर गर्नुपर्छ । तर, अध्यक्ष केपी ओली संलग्न भएका दार्चुला, कञ्चनपुर र बैतडीमा भएका कार्यक्रमबारे पनि मलाई औपचारिक जानकारी थिएन,’ रावलले भने, ‘अछामको सन्दर्भमा त्यहाँका कमिटीका साथीले बोलाइरहनुभएकै छ । आउन म तयार छु, तर केन्द्रीय नेतृत्वले मलाई उम्मेदवार हुनबाट वञ्चित गर्ने र फेरि त्यहाँ (अछाम) नेतृत्वले बोलेका कुरामाथि टिप्पणी गरेँ भने त नकारात्मक कुरा उठ्न सक्छ । र, चुनाव हारियो भने भीम रावलका कारण हारियो भन्ने दोष लाग्न सक्छ । त्यसैले वातावरण तपाईंहरू बनाउनुहोस्, आउन तयार छु भनेको थिएँ । त्यसपछि उहाँहरूबाट कुनै खबर आएको छैन ।’

विष्णु रिमाल, उपमहासचिव, एमाले

दार्चुलाका अध्यक्ष, सुदूरपश्चिमका अध्यक्ष वा अन्य पदाधिकारी, केन्द्रीय निर्वाचन परिचालन समिति वा पार्टी अध्यक्ष स्वयंले मलाई वातावरण सिर्जना गर्ने, कुराकानी गर्ने त परै जाओस्, उल्टै सार्वजनिक कार्यक्रमबाट प्रहार गर्न थाल्नुभयो । त्यसैले म त्यहाँ जाने स्वाभाविक कुरा हुने भएन । मलाई तगारो उहाँहरू (नेतृत्व)ले हाल्नुभयो, त्यो उहाँहरूले नै हटाउनुपर्छ । म सार्वजनिक कार्यक्रममा जाने–बोल्ने वातावरण सिर्जना गर्ने, हलुको मनबाट नेतृत्वसँग बोल्ने वातावरण सिर्जना गर्ने त नेतृत्वको कर्तव्य हो नि ।

१८ कात्तिकमा कञ्चनपुरमा आयोजित सभामा रावलको अनुपस्थितिबारे केही कार्यकर्ता पंक्तिले उनको पक्षमा नारा लगाएर असन्तुष्टि जनाएपछि ओलीले उनीहरूलाई सम्बोधनमार्फत मत्थर बनाउने कोसिस गरेका थिए । डडेल्धुरामा कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट ‘भीम रावल, भीम रावल’ नारा लागेपछि अध्यक्ष ओलीले सम्बोधनकै क्रममा कार्यकर्ता पंक्तिको असन्तुष्टि मत्थर बनाउने प्रयास गरेका थिए । 

रावलजस्ता योगदान पुर्‍याएका थुप्रै व्यक्ति सुदूरपश्चिमले जन्माएको भन्दै ओलीले भनेका थिए, ‘भीम रावलको तपाईंलाईं किन चिन्ता ? ०४८ सालदेखि एकछिन मुख खाली छैन, बुढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता ? अरूलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा, थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ ।’

ओलीले सार्वजनिक सम्बोधनमै त्यस्तो अभिव्यक्ति दिएपछि चिढिएका रावलले त्यही साँझ सामाजिक सञ्जालबाट जवाफ फर्काए । ‘मलाई ०४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मत सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ । तर, सांसद ०५१ सालदेखि मात्र भएँ । ओलीजी ०४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ, कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’का लागि किन मुख बाउनुभएको त ?’ रावलको जवाफ थियो । 

ओलीसँग सवालजवाफ गरिरहे पनि रावल मतदानका लागि अछाम जाने योजनामा छन् । आफ्नो असहमति पार्टी नेतृत्वसँग मात्र रहेको भन्दै हल नभएसम्म परिचालनमा जाँदा पनि जस नपाइने र हारको कारण आफूलाई देखाएर कारबाही हुन सक्ने भएकाले मतदानका लागि मात्र जिल्ला फर्किने योजनामा रहेको उनीनिकट एक नेताले बताए ।

‘उहाँको असहमति र असन्तुष्टि अध्यक्षसँग मात्र हो, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसहित सँगै राखेर टिकट नदिइनुका कारण र आफू चुप रहेकै अवस्थामा लान्छनायुक्त टिप्पणीबारे पार्टी कार्यालयमा बोलाएर नप्रस्ट्यासम्म परिचालनमा हिँड्नुहुन्न,’ ती नेताले भने, ‘उम्मेदवारहरूले सद्भाव र सहयोगका लागि सम्पर्क गरिरहनुभएकै छ, तलबाट पनि प्रेसर नै छ, तैपनि उहाँ मतदानका लागि मात्र जानुहुन्छ, यसको अर्थ उहाँले पार्टीको उम्मेदवारको विरोध गर्नुभएको छैन, विपक्षी उम्मेदवारलाई सहयोग गर्ने त सम्भावना पनि रहेन ।’

रावल स्वयंले पनि नेतृत्वले तगारो हटाएको अवस्थामा मात्र आफू चुनावमा खटिने बताएका छन् । ‘दार्चुलाका अध्यक्ष, सुदूरपश्चिमका अध्यक्ष वा अन्य पदाधिकारी, केन्द्रीय निर्वाचन परिचालन समिति वा पार्टी अध्यक्ष स्वयंले मलाई वातावरण सिर्जना गर्ने, कुराकानी गर्ने त परै जाओस्, उल्टै सार्वजनिक कार्यक्रमबाट प्रहार गर्न थाल्नुभयो । त्यसैले म त्यहाँ जाने स्वाभाविक कुरा हुने भएन,’ रावलले भने, ‘मलाई तगारो उहाँहरू (नेतृत्व)ले हाल्नुभयो, त्यो उहाँहरूले नै हटाउनुपर्छ । म सार्वजनिक कार्यक्रममा जाने–बोल्ने वातावरण सिर्जना गर्ने, हलुको मनबाट नेतृत्वसँग बोल्ने वातावरण सिर्जना गर्ने त नेतृत्वको कर्तव्य हो नि !’

नेतृत्वको बुझाइ अनुशासन उल्लंघन, कारबाही नगर्ने 
ओली भने रावलले निरन्तर पार्टी पद्धति, अनुशासन उल्लंघन गर्दै आएको बुझाइमा छन् । त्यही कारण सर्वसम्मत सिफारिस भएर आए पनि उनको विकल्पमा पूर्वमाओवादी समूहबाट आएका झपट बोहरालाई बाध्यताले टिकट दिनुपरेको ओली र उनीनिकट नेताको बुझाइ छ । 

दशौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भए पनि पार्टी केन्द्रीय कमिटीले गरेका कुनै पनि निर्णय नमानेको, संसदीय दलका बैठकहरूमा खबर गर्दा पनि अनुपस्थित हुने गरेको, एक वर्षदेखि पार्टीको नीति र संस्थागत निर्णयविपरीत संसद् र सार्वजनिक फोरममा अभिव्यक्ति दिने गरेको, संसदीय दलको ह्विपसमेत उल्लंघन गर्दै पार्टीलाई चुनौती दिएर एक्लै विपक्षी बेन्चमा बस्ने, रोस्ट्रममा गएर अभिव्यक्ति दिँदै चरम अनुशासन उल्लंघन गरेको बुझाइमा एमाले नेतृत्व छ ।

त्यही कारण टिकट नदिएर उनीमाथि अघोषित रूपमा अनुशासनको कारबाही गरिएको एक पदाधिकारीले बताए । उपमहासचिव विष्णु रिमाल पनि रावल पार्टी अनुशासनभन्दा बाहिर गइसकेकाले उनीमाथि टिप्पणी गर्नुको कुनै अर्थ नरहेको बताउँछन् । उनीमाथि तत्काल कुनै कारबाही नगर्ने नीति रहेको पनि रिमालले संकेत गरे । 

‘भीम रावलका आरोप र अभिव्यक्तिबारे अहिले धेरै चर्चा गर्नुपर्ने आवश्यकता छैन । एउटा व्यक्तिका पछाडि सिंगै पार्टी हिँड्दैन, यति बुझ्नुस्– उहाँ पार्टीको अनुशासनभित्र हुनुहुन्न । त्यसैले अनुशासनबाहिर रहेर कसले के बोल्छ, कसको रणनीतिअनुसार केका लागि बोल्छ, कसका लागि बोल्छ, त्यसका पछाडि लागेर पार्टीले खण्डन गर्दै हिँड्दैन,’ रिमालले भने, ‘उहाँले आफूलाई पार्टीमै रहेको बताउनुभएको छ । पार्टीमा रहेकाले त पार्टीभित्र, अनुशासनभित्र रहेर बोल्नुपर्ने हो । तर, अहिले उहाँ पार्टीको इक्युभ्यालेन्ट होइन ।’

पार्टीमा रहने कि स्वतन्त्र नागरिक बनेर अभिव्यक्ति दिँदै हिँड्ने रोजाइ रावलकै भएको रिमालको भनाइ छ । ‘उहाँका बारेमा टिप्पणी गरिरहनु नै आवश्यक छैन, रिमालले भने, ‘उहाँका अभिव्यक्ति पार्टी सदस्यको हैसियतमा छैन, कसरी बोल्ने ? एमालेमै छु भन्न पाइन्छ, तर कसैले स्वतन्त्र नागरिकको हैसियतमा रहेर आफ्ना कुरा बोल्छ भने त्यो व्यक्तिगत कुरा भयो ।’

६ पटक चुनाव लडेपछि रावलको संसदीय यात्रामा ब्रेक
रावल ०४८ देखि लगातार संसदीय चुनाव लड्दै आएका थिए । ०४८ मा पराजित भएका रावल ०५१ मा सालमा भने निर्वाचित भए । ०५१ मा निर्वाचित भएका उनी स्वर्गीय मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारमा पर्यटन राज्यमन्त्री बनेका थिए । ०५५ मा पर्यटनमन्त्री बने । ०५६ मा भने पराजित भए ।

०६४ को संविधानसभा निर्वाचनमा शेरबहादुर कुँवरलाई प्रत्यक्ष उम्मेदवार बनाएर रावल समानुपातिकतर्फका सदस्य भए । ०६६ देखि ०६८ सालसम्म गृहमन्त्री बने । त्यसपछि ०७२ मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री बने ।

०७० को संविधानसभा निर्वाचनमा अछाम १ बाट निर्वाचित सांसद रावलले ०७४ मा पनि जुनाव जिते । सुदूरपश्चिममा एकछत्र बलियो बनेका रावल एमालेको पछिल्लो विभाजनपछि भने कमजोर बन्दै गएका छन् । ०७९ मा नेतृत्वले टिकट नदिएपछि असन्तुष्ट रावलको लगातारको संसदीय राजनीतिक यात्रामाथि तत्काललाई ‘ब्रेक’ लागेको छ । 

रावलले आफूलाई टिकट नदिने निर्णय अध्यक्ष केपी ओलीको स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको आरोप लगाउँदै आएका छन् । त्यसले जनता र पार्टी संगठनको घोर अपमान भएको उनको टिप्पणी छ । जसपासँग चुनावी तालमेलको विरोध गर्दै त्यसबाट पार्टी पद्धति उल्लंघन भएको, दशौँ महाधिवेशनको फैसलाविपरीत पार्टी सञ्चालन गरेको, राष्ट्रिय हितविरोधी एमसिसी पारित गराउन सहयोग गरेको, असमान सन्धि–सम्झौता खारेजीको सिफारिस गर्ने नेपाल–भारत प्रबुद्ध व्यक्तित्व संलग्न इपिजेको प्रतिवेदन निष्क्रिय बनाएको जस्ता थुप्रै आरोप लगाउँदै आएका छन् ।

ओली–रावल  सवाल–जवाफ
भीम रावलको तपाईंलाईं किन चिन्ता ? ०४८ सालदेखि एकछिन मुख खाली छैन, बुढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता ? अरूलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा, थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ । (१८ कात्तिकमा कञ्चनपुरमा आयोजित सभामा ओली)

मलाई ०४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मत सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ । तर, सांसद ०५१ सालदेखि मात्र भएँ । ओलीजी ०४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ, कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’का लागि किन मुख बाउनुभएको त ?’ (सोही दिन साँझ सामाजिक सञ्जालमार्फत ओलीलाई जवाफ)