१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ कार्तिक २६ शनिबार ०६:५६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रमा मन्दी छाएपछि उद्योगमा लगानी घट्यो

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ कार्तिक २६ शनिबार ०६:५६:००

साढे तीन महिनामा ९६ अर्ब लगानीका उद्योग दर्ता, गत वर्षभन्दा २६.३५ प्रतिशतले कमी, विदेशी लगानी पनि ऋणात्मक अवस्थामा

पश्चिम सेती र सेती नदी–६ मा भारतले करिब तीन खर्ब लगानी गर्ने

फाइल तस्बिर : नयाँ पत्रिका

भारतीय कम्पनी एनएचपिसीले सात सय ५० मेगावाटको पश्चिम सेती र चार सय ५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजनामा दुई खर्ब ८८ अर्ब लगानी गर्ने घोषणा गरेको छ । दुई परियोजना बनाउने विषयमा नेपाल लगानी बोर्ड र एनएसपिसीबीच समझदारी भइसकेको छ । लगानी बोर्डको अध्ययनले पश्चिम सेतीमा एक अर्ब ३२ करोड डलर र सेती नदी–६ मा ८० करोड डलर लागत लाग्ने देखाएको छ । एचएचपिसीले आयोजना बनाएबापत नेपाललाई २१.९ प्रतिशत बिजुली निःशुल्क र स्थानीयलाई सेयर पनि दिनेछ । यस आयोजनाबाट नेपालले करिब एक खर्ब ६७ अर्ब रुपैयाँ रोयल्टी तथा कर पाउने अनुमान छ । 

...                                ...

आन्तरिक तथा बाह्य कारणहरूले देशको अर्थतन्त्र संकटोन्मुख भएसँगै नयाँ लगानीका उद्योग र कम्पनी दर्ता पनि घटेको छ । चालू आर्थिक वर्षको पहिलो साढे तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले उद्योग दर्तामा कमी आएको छ । 

चालू आवको १७ कात्तिकसम्म कुल ९६ अर्ब १६ करोड (स्वदेशी तथा विदेशी) लगानी प्रतिबद्धतासहित ८९ उद्योग दर्ता भएका छन् । जबकि, गत वर्ष यही अवधिमा एक खर्ब ३० अर्ब ५८ करोड लगानी प्रतिबद्धता गरिएका एक सय सात उद्योग दर्ता भएका थिए । पछिल्लो समय विदेशी लगानीको प्रस्ताव पनि उल्लेख्य मात्रामा घटेको उद्योग विभागले जनाएको छ । गत वर्षको यसै अवधिमा एक सय १६ उद्योगमार्फत २४ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकोमा यस वर्ष एक अर्ब ८५ करोड रुपैयाँ मात्र विदेशी लगानीको प्रस्ताव आएको छ ।

कोभिड महामारी र त्यसपछि सिर्जना भएको बाह्य कारण तथा वित्तीय असन्तुलनका कारण अर्थतन्त्र निरन्तर प्रभावित हुँदै आइरहेको छ । पछिल्लो मौद्रिक नीतिले निम्त्याएको तरलता अभाव र ब्याजदर वृद्धिले औद्योगिक क्षेत्र पूर्ण रूपमा प्रभावित भएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । बैंकको चर्को ब्याजदर वृद्धिका कारण पुराना उद्योग–व्यवसाय नै संकटमा परेका वेलामा नयाँ लगानी आकर्षित हुने सम्भावना कम रहेको उनको भनाइ छ ।  

पछिल्लो समय निर्माण कार्य ठप्प हुँदा निर्माणजन्य सामग्रीको बजार माग ७५ प्रतिशतसम्म घटेको छ । चरम महँगीका कारण खाद्यान्नदेखि अन्य उद्योगका उत्पादनले पनि बजार पाउन सकेका छैनन् । ‘अहिले सञ्चालनमा भएकै उद्योग बचाउन समस्या छ, नयाँ लगानी आउने सम्भावना नै रहेन,’ उनले भने, ‘उद्योगी–व्यवसायीहरू बैंकको ब्याजदर घटाउनुपर्‍यो, साँवा र ब्याजको किस्ता तिर्ने समयावधि दुई वर्षसम्म सारेर ऋणको पुनर्तालिकीकरण गरिदिनुपर्‍यो भनेर नियामक निकायलाई गुहार्नुपरेको छ ।’

विदेशी लगानी आप्रवाह ऋणात्मक
चालू आवको पहिलो दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पनि ऋणात्मक रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । साउन र भदौमा ९९ करोड रुपैयाँ खुद विदेशी लगानी भित्रिँदा स्वदेशमा सञ्चालित विदेशी लगानीका कम्पनीहरूले एक अर्ब ८० करोड रिप्याट्रिएसन लगेका छन् । अर्थात्, दुई महिनामा खुद प्रत्यक्ष विदेशी लगानी ८० करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । गत आवको पहिलो दुई महिनामा खुद विदेशी लगानी तीन अर्ब चार करोड रुपैयाँ बचतमा थियो । त्यसवेला तीन अर्ब २७ करोड ४७ लाख रुपैयाँ एफडिआई भित्रिँदा २३ करोड रुपैयाँ रिप्याट्रिएसन भएको थियो ।

चालू आवको साढे तीन महिनामा विभिन्न देशका लगानीकर्ताले एक अर्ब ८५ करोड रुपैयाँ बराबरका १२ परियोजना दर्ता गरेको उद्योग विभागले जनाएको छ । जबकि, गत वर्षको सोही अवधिमा करिब २४ अर्ब रुपैयाँबराबर विदेशी लगानीका एक सय ११ उद्योग दर्ता भएका थिए । पछिल्लो समय स्वदेशी लगानीकर्ता मात्र नभएर विदेशी लगानीकर्ता पनि नेपालमा लगानी गर्न हिचकिचाइरहेको उद्योग विभागको तथ्यांकले स्पष्ट पार्छ ।

कुन क्षेत्रमा कति लगानी ?
चालू आवको साढे तीन महिनामा सबैभन्दा ठूलो लगानी प्रतिबद्धता ऊर्जामूलक परियोजनामा आएको छ । ऊर्जामूलक २१ परियोजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताबाट ६६ अर्ब ४८ करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरिएको छ । यस्तै, पर्यटन क्षेत्रका २१ परियोजनामा ११ अर्ब ६४ करोड रुपैयाँ लगानी हुनेछ भने उत्पादनमूलक २७ उद्योगमा नौ अर्ब २० करोड रुपैयाँ लगानी हुनेछ । 

सेवामूलक १४ उद्योगमा आठ अर्ब २८ करोड, सूचना प्रविधिमा आधारित चार परियोजनामा ३१ करोड, कृषि तथा वन पैदावारमा आधारित एउटा उद्योगमा १५ करोड र खनिजजन्य एउटा परियोजनामा १० करोड ५७ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको विभागले जनाएको छ । यी उद्योग तथा परियोजनाले कुल ६ हजार एक सय १४ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

पोखरामा एभिएसन कलेज खुल्ने
स्वदेशी तथा क्यानेडियन लगानीकर्ताको संयुक्त लगानीमा पोखरामा क्यानेडियन एभिएसन कलेज खुल्ने भएको छ । ६२ प्रतिशत स्वदेशी र ३८ प्रतिशत विदेशी लगानी रहने गरी २६ असोजमा ३४ करोड ५० लाख कुल पुँजीको कम्पनी उद्योग विभागमा दर्ता भएको छ । यो कलेजले वार्षिक रूपमा हवाईजहाज उडाउने पाइलट ५० जना र हेलिकोप्टर उडाउने पाइलट १५ जना, जहाज मर्मत गर्ने इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, फ्लाइट डिस्प्याचर, एयर क्याबिन क्रु, एयरक्राफ्ट ह्यान्डलिङ, फायर फाइटिङ, ग्राउन्ड ह्यान्डलिङका सात सय ५० दक्ष जनशक्ति उत्पादन गर्ने प्रस्ताव पेस गरेको छ । यो कलेज सञ्चालनमा आउँदा ६५ जनाले रोजगारीसमेत पाउनेछन् ।  

होटेल र एसेम्बलमा आकर्षण 
चालू वर्ष ९९ कोठाको होटेलमा एक अर्ब ६९ करोड लगानी गर्ने गरी होटेल इस्टर्न नेपाल प्रालि दर्ता भएको छ । त्यस्तै, एक सय दुई कोठाको बुढानीलकण्ठ हेरिटेज होटेलमा दुई अर्ब ४० करोड लगानी हुँदै छ । झापाकै मेची नगरपालिका–१३ मा दुई अर्ब ५१ करोड लगानीमा ९५ कोठाको आयुष्मान होटेल सञ्चालन गर्न लगानी स्वीकृत भएको छ । दुवै होटेलमा शतप्रतिशत स्वदेशी लगानी हुनेछ । 

यही वर्ष रोयल इन्फिल्ड, होन्डा र हिरो मोटोकर्पले मोटरसाइकल तथा स्कुटर स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग दर्ता गरेका छन् । एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले वीरगन्जमा हिरोको एसेम्बल प्लान्टमा ३३ करोड रुपैयाँ लगानी गर्दै छ ।

यो उद्योगमा वार्षिक ४५ हजार मोटरसाइकल, स्कुटर एसेम्बल गरिनेछ । हिमाल मोटो नेपाल प्रालिले रुपन्देहीको रोहिणी गाउँपालिकामा ६० करोड रुपैयाँ लगानी गरेर एसेम्बल प्लान्ट खोल्दै छ । यो उद्योगले वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार स्कुटर एसेम्बल गर्ने प्रस्ताव पेस गरेको छ ।