मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक २५ शुक्रबार १२:३६:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा पूर्वउपप्रधानमन्त्री र पूर्वउपसभामुखबीच घमासान भिडन्त

Read Time : > 3 मिनेट
२०७९ कार्तिक २५ शुक्रबार १२:३६:००

पटकपटक चुनाव जितेका टोपबहादुर रायमाझीलाई गठबन्धनको साथ पाएकी पुष्पा भुसालको चुनौती

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुई प्रभावशाली नेताको प्रतिस्पर्धाले चुनाव रोचक बनेको छ । यसअघि तीनपटक निर्वाचित भएका टोपबहादुर रायमाझी जित निरन्तर हात पार्ने दाउमा छन् भने वाम–लोकतान्त्रिक गठबन्धनको साथ पाएकी कांग्रेस उम्मेदवार पुष्पा भुसाल (गौतम) जित सुनिश्चित गर्ने प्रयासमा छिन् । अघिल्लोपटक माओवादीबाट चुनाव जितेका र यसपटक भने एमालेका उम्मेदवार बनेका रायमाझीलाई निवर्तमान उपसभामुख भुसालले चुनौती दिएकी छिन् । 

माओवादीका पूर्वनेता रायमाझी ०६४ सालको चुनावमा अर्घाखाँची १ बाट विजयी भएका थिए । त्यतिवेला उम्मेदवार भुसाल क्षेत्र नम्बर २ बाट विजयी भएकी थिइन् । रायमाझीले ०६४, ०७० र ०७४ मा माओवादीबाट चुनाव जितेका थिए । ०७४ मा एमालेको साथमा माओवादी केन्द्रबाटै चुनाव जितेका थिए  । 

दोस्रो संविधानसभामा पुष्पा एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् । संविधान बनेपछि  ०७४ मा पुष्पा समानुपातिक सांसद भइन् । प्रतिनिधिसभाको उपसभामुख बन्ने मौका पाइन् । विगतमा पटकपटक मन्त्री हुँदै उपप्रधानमन्त्री बन्ने अवसर पाएका रायमाझी र सांसद हुँदै उपसभामुख बन्ने अवसर पाएकी भुसालबीच नै अहिले मुख्य प्रतिस्पर्धा देखिन्छ । 

यीबाहेक ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसपाका नेत्रबहादुर थापा, राप्रपाका होमनारायण बेलवासे, नेमकिपाका सुतेज दुवाल, हाम्रो नेपाली पार्टीका दुर्गा बन्जाडे प्रतिस्पर्धामा छन् । त्यसैगरी, राप्रपा नेपालका खलिल मियाँ, मंगोल नेसनल अर्गनाइजेसनका पूर्णबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारू, जनसमाजवादी पार्टी नेपालका पीताम्बर अर्याल, र राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल प्रतिस्पर्धामा छन् । 

स्थानीय तहको अंकगणितमा गठबन्धन अगाडि
अर्घाखाँचीमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत परिणाम हेर्दा भुसाल पाँच हजारभन्दा पनि बढी मतले अगाडि छिन् । एमालेका वडाध्यक्षहरूले ४८ हजार दुई सय ६० मत प्राप्त गरेका थिए । त्यसैगरी, कांग्रेसका वडाध्यक्षले ३७ हजार नाै सय २५, माओवादी केन्द्रका वडाध्यक्षले सात हजार सात सय ९०, राजमोका वडाध्यक्षहरूका उम्मेदवारहरूले चार हजार दुई सय ९४ मत प्राप्त गरेका थिए । त्यस्तै, एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरूले तीन हजार सात सय ६३ मत प्राप्त गरेका थिए । यसरी समग्रमा कांग्रेस, माओवादी केन्द्र, राजमो र एकीकृत समाजवादीको मत ५३ हजार सात सय ७२ मत छ । 

स्थानीय तहको मतपरिणाम (वडाध्यक्षले पाएको)
- एमाले : ४८ हजार २६० 
- कांग्रेस : ३७ हजार ९२५
- माओवादी : ७ हजार ७९० 
- राजमो : ४ हजार २९४ 
- एकीकृत समाजवादी : ३ हजार ७६३ 

०७४ मा दलहरूले पाएको (समानुपातिक) मत 
- एमाले : ३० हजार ४१७
- कांग्रेस : २८ हजार ३६९
- माओवादी : १४ हजार ९६२
- राजमो : ४ हजार ७७१
- विवेकशील साझा : १ हजार २७९
- नयाँ शक्ति : ६९४
- राप्रपा : २७८

विकास र समृद्धिमा रायमाझीको प्रतिबद्धता
०७४ को निर्वाचनमा प्रतिनिधिसभा चुनाव जितेका टोपबहादुर रायमाझी यसपटक पनि चुनाव जित्ने दौडमा छन् । उनले जिल्लाका सबै समस्या समाधानमा आफू एकलौटी ढंगले लागिपरेको दाबी गर्दै यसपटक नयाँ एजेन्डा अघि सारेको बताए । 

रायमाझीले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी, बाटो, शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, कृषि, भवन निर्माणलगायत क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । जिल्लामा बसाइँसराइदर बढ्दो रहेको र जिल्ला छाड्न नपर्ने गरी पाँच वर्षमा सबैखाले सेवासुविधा  प्रदान गर्न लागिपर्ने रायमाझीले दाबी गरे । 

नौमुरे जलविद्युत् आयोजनालाई सञ्चालनमा ल्याउने, ढोरपाटन सडकलाई पिच गरेर सञ्चालनमा ल्याउने, गोरुसिंगे–सन्धिखर्क सडकलाई दुई वर्षभित्र चौडा पारिसक्ने, बल्कोट–सन्धिखर्क सडकखण्ड कालोपत्रे गर्ने, जिल्ला अस्पताललाई सुधार गर्ने र ५० बेडहरू थप्ने, ५० युनिटसम्म बिजुली र १० हजार लिटर पानी निःशुल्क दिने, अर्घा एयरपोर्टलाई सञ्चालनमा ल्याउने, सन्धिखर्क–ढिकुरा सडक कालोपत्रे गर्नेलगायत एजेन्डा उनले यसपटकको चुनावमा अघि सारेका छन् । 

‘विकास र समृद्धिलाई एमालेले प्रमुख एजेन्डा बनाएको छ,’ रायमाझीले भने, ‘मेरो निर्वाचन क्षेत्रमा खानेपानी, बाटो, शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, कृषि, भवन निर्माणलगायत विषयलाई मैले प्राथमिकतामा राखेको छु, आगामी पाँच वर्षमा अर्घाखाँची इतिहासमै फरक हुनेछ ।’ 

संविधानको रक्षा र आर्थिक समृद्धि भुसालको प्रतिबद्धता
अर्घाखाँचीमा गठबन्धनको साझा उम्मेदवार भुसालले संविधानको रक्षा गर्दै आर्थिक समृद्धितर्फ अगाडि बढ्ने बताइन् । जिल्लामा गठबन्धनका  दलहरूबीच आन्तरिक विवादहरू नभएको र पार्टीहरूभित्रका आन्तरिक विवादहरू नभएका कारण अहिले एक ढिक्का भएर चुनावमा लागिपरेको भुसालले दाबी गरिन् । उनले जिल्लाको विकासका लागि कृषि, स्वस्थ्य, शिक्षादेखि विभिन्न क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने एजेन्डा अगाडि सारेकी छिन् । 

जिल्लाको विकासका लागि धार्मिक पर्यटनको पनि विकास गर्ने, यहाँका विकास आयोजनाहरू भष्ट्राचाररहित रूपमा अगाडि बढाउने, जिल्लामा रोजगारीका अवसरहरू सिर्जना गर्ने, युवाहरूलाई रोजगारीमा लगाउने, महिला, पछाडि पारिएका वर्गहरूलाई अवसरहरू सिर्जना गर्ने, जिल्लाको चौतर्फी विकास गर्नेलगायत अजेन्डा उनले अघि सारेकी छिन् । ‘जिल्लाको विकासका लागि खेलेको भूमिकाको मूल्याकंन जनताले गर्छन्,’ उनले भनिन्, ‘यहाँ गठबन्धनको जित हुन्छ ।’ 

गठबन्धनका चुनावी कमान्डर विष्णुप्रसाद मुस्कान भन्छन्– गठबन्धन एकढिक्का छ
सत्तापक्षीय गठबन्धनको निर्वाचन परिचालन मूल समितिको संयोजक विष्णुप्रसाद खनाल मुस्कानले पुष्पा भुसालले राम्रो मतान्तरले चुनाव जित्ने दाबी गरे । स्थानीय तहको निर्वाचनको परिणामले पनि जिल्लामा गठबन्धन अगाडि रहेको उनले बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा दलहरूभित्र कतैकतै अन्तर्द्वन्द्वहरू पनि थिए, त्यस्तो अवस्थामा पनि गठबन्धनको मत जिल्लामा पाँच हजारभन्दा पनि बढी रहेको छ, तर अहिले पार्टीभित्रका असन्तुष्टिहरू सबै हटेका छन्,’ उनले भने, ‘गठबन्धनका दलहरू एकढिक्का भएर अगाडि बढेका छन् ।’ 

अर्घाखाँचीका जनता संविधानविरोधीको पक्षमा नरहेको र विगतमा संसद् भंग गर्ने, पाँचवर्षे जनमतलाई तहसनहस पार्ने एमालेको पक्षमा यहाँका जनता नभएको उनको भनाइ छ । अर्घाखाँचीमा भएका काम टोपबहादुरका कारणले नभई माओवादीका कारणले भएको  र टोपबहादुर एमालेमा गएदेखि उनले कुनै काम गर्न नसकेको उनले आरोप लगाए । 

एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल भन्छन्– एमालेको जित सहज छ
अर्घाखाँचीमा एमालेको जित निश्चित रहेको एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको दाबी छ । उनी एमालेका उम्मेदवारहरूले विगतमा खेलेको भूमिका र जिल्लामा एमालेको पक्षमा जनमत बढ्दो रहेका कारण जित सहज रहेको दाबी गर्छन् । 

एमालेले चुनाव जित्ने आधारहरू प्रस्तुत गर्दै उनले भने, ‘जिल्लामा एमालेको व्यापाक संगठन छ । कमिटीहरू व्यवस्थित छन् । यहाँ १० हजार संगठित पार्टी सदस्य रहेका छन् । पार्टी संगठन तथा कार्यकर्ता व्यवस्थित रूपमा परिचालन भएका छन् । पार्टीभित्र एकता छ, चुनावका लागि सर्वसहमतिबाट उम्मेदवार सिफारिस भएकाले यहाँ कुनै विवाद छैन, यसले पनि चुनाव जित्न सहज छ ।’ 

अर्घाखाँचीमा व्यापक जनमत एमालेको पक्षमा रहेको उनको दाबी छ । एमालेका विगतका केन्द्रदेखि तहसम्मका सरकार तथा जनप्रतिनिधिले खेलेको भूमिका पनि जितको आधार रहेको उनको भनाइ छ । त्यस्तै, स्थानीय तहमा एमालेले प्राप्त गरेको लाेकप्रिय मत पनि जितको अर्को आधार हाे । स्थानीय तहको निर्वाचनमा  जिल्लामा ५३ प्रतिशत जनप्रतिनिधि एमालेका विजयी भएको उनले दाबी गरे ।