मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २५ शुक्रबार ०८:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कम्पनीहरू मर्जरमा गएको १५ दिनपछि सेयर कारोबार खुला हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २५ शुक्रबार ०८:०८:००

सूचीकृत संस्थाहरू मर्जर तथा प्राप्तिमा गएर एकीकृत कारोबार सुरु गरेको १५ दिनसम्म मात्रै सेयर कारोबार रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था ‘एक–आपसमा गाभ्ने–गाभिने वा प्राप्तिसम्बन्धी निर्देशिका २०७९’ ले यस्तो व्यवस्था गरेको हो । संस्थाहरूको सेयर मिलान धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरणलगायतका लागि उक्त समय दिइएको हो । 

त्यस्तै, मर्जर तथा प्राप्ति सम्बन्धमा प्रारम्भिक सम्झौतालगत्तै आधारभूत सेयरधनीको मात्रै कारोबार रोक्का हुने भएको छ । सञ्चालक समितिले मर्जर र प्राप्ति सम्बन्धमा प्रारम्भिक समझदारी गरेको दिन वा भोलिपल्टको कारोबार समयअघि यस्ता सेयरधनीको कारोबार रोक्का राख्न सम्बन्धित सूचीकृत कम्पनीले बजार सञ्चालक (नेप्से) र केन्द्रीय निक्षेप सेवाप्रदायकमा जानकारी गराउनुपर्नेछ । सम्बन्धित संस्थाबीच मर्जर र प्राप्ति प्रस्ताव गरिएको साधारणसभा सम्पन्न नहुँदासम्म यस्ता सेयरधनीको कारोबार रोक्का राख्नुपर्ने भएको हो । 

यो निर्देशिका प्रारम्भ हुनुअघि मर्जर वा प्राप्तिका क्रममा सेयर कारोबार रोकिएका कम्पनीका आधारभूतबाहेकका सेयरधनीको सेयर कारोबार भने खुला गर्नुपर्ने व्यवस्थासमेत निर्देशिकाले गरेको छ । कम्पनी ऐनअनुसार २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीमा कम्तीमा ५ प्रतिशत सेयर भएका र २५ करोड रुपैयाँभन्दा माथिको चुक्ता पुँजी भएका कम्तीमा १ प्रतिशत सेयर भएका सेयरधनी आधारभूत सेयरधनी हुन् । मर्जर र प्राप्ति प्रस्ताव गरिएको साधारणसभामा सेयर आदान–प्रदान रेसियो (स्वाप रेसियो)समेत खुलाएर यस्तो प्रस्ताव लगेको हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । 

त्यस्तै, सूचीकृत संस्थाहरूले मर्जर तथा प्राप्तिका क्रममा स्वतन्त्र मूल्यांकनकर्ताबाट ड्यु डिलिजेन्स अडिट अर्थात् सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तयार गराउनुपर्नेछ । यसरी तयार भएको प्रतिवेदनको समेत आधारमा सेयर स्वाप रेसियो तय गर्नुपर्नेछ । त्यस्तै, कम्पनीहरूको प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।  सो समयमा पनि मर्जरमा जान नसकेकामा सञ्चालक समितिलाई धितोपत्र बोर्डले कारबाही गर्ने उल्लेख गरेको छ ।

३३ कम्पनीको कारोबार कहिले खुल्छ ?
धितोपत्र बोर्डले निर्देशन जारी गरेको भए पनि मर्जर प्रक्रियामा रहेर कारोबार रोक्कामा रहेका कम्पनीहरू तत्काल कारोबारमा नआउने भएका छन् । हाल मर्जर प्रक्रियामा ३३ कम्पनी रहेका छन् । १५ वटा इन्स्योरेन्स कम्पनी, आठवटा माइक्रो फाइनान्स कम्पनी, १० वटा वाणिज्य बैंक रहेका छन् । निर्देशिकाले मर्जर रोक्कामा रहेका कम्पनीलाई कारोबारमा आउन निर्देशन दिएको भए पनि सम्बन्धित कम्पनीले नियामक निकायबाट अनुमति लिएर मात्र कारोबारमा आउन पाउने व्यवस्था रहेको धितोपत्र बोर्डका प्रवक्ता अम्बिका गिरीले जानकारी दिए । उनले भने, ‘पहिलोपटक भएकाले सम्बन्धित कम्पनीले नियामक निकायबाट एउटा निवेदन दिएर कारोबारमा ल्याउन पाउनेछ, त्यसपछि अन्य समयमा भने पर्दैन ।’