मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ कार्तिक २५ शुक्रबार ०६:१०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको औषधि

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ कार्तिक २५ शुक्रबार ०६:१०:००

सात प्रकारका औषधि नेपालमा प्रयोग, १६ प्रकारका विदेश निर्यातको तयारी 

नेपालमा क्यान्सरको औषधि उत्पादन गर्ने कम्पनी टिजिगको काभ्रे नालास्थित कारखाना

जटिल रोगको रूपमा रहेको क्यान्सरको औषधि नेपालमै उत्पादन गरेर वितरण थालिएको छ । पाँच प्रकारका मोलिक्युल (कच्चा पदार्थ) प्रयोग गरी हाल नेपालमा सात किसिमका औषधि उत्पादन तथा वितरण भइरहेको हो । 

औषधि उत्पादक कम्पनी टिजिग फर्मा नेपालले नौ महिनाअघिदेखि सरकारी अनुमतिमा क्यान्सरका बिरामी र अस्पताललाई यी औषधि सुपथ मूल्यमा वितरण थालेको छ । औषधि व्यवस्था विभागको अनुमतिमै यी औषधि वितरण गरिएका हुन् । हाल नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, ललितपुरको नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर, चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल तथा काठमाडौंका वीर, त्रिवि शिक्षण र निजामती अस्ताललगायतमा ती औषधि वितरण सुरु गरिएको हो ।

यसबाहेक विभिन्न अस्पतालका चिकित्सकको प्रेस्काइबअनुसार कम्पनीले औषधि वितरण गर्दै आइरहेको छ । पछिल्लो समय दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल, मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालले पनि बिरामीलाई यो औषधि किन्न स्वीकृति दिने गरेको छ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार क्यान्सरको औषधि उत्पादन गर्ने यो नेपालको पहिलो कम्पनी हो । डब्लुएचओको ‘प्रविधि हस्तान्तरणसम्बन्धी निर्देशिका’मा टेकेर औषधि वितरण गरिएको कम्पनीले जनाएको छ ।

मागअनुसार अस्पतालकै फार्मेसीमा वितरण गर्न टेन्डर प्रक्रियासमेत अघि बढाएको छ । हाल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरलगायत अस्पतालको फार्मेसीमा नेपालमै उत्पादिन क्यान्सरका औषधि किन्न पाइन्छ । यहाँको उत्पादनले करिब ८० प्रतिशत माग थेग्न सकिने टिजिगले जनाएको छ । 

टिजिगका कार्यकारी निर्देशक सैलेश वैद्यका अनुसार यसबाहेक अन्य १६ किसिमका औषधि विदेशमा निर्यात गर्ने तयारी पनि गरिएको छ । अस्पतालको मागअनुसार हाल भारतमा पनि उक्त औषधि पठाउने गरिएको छ । विदेशमा पनि आधिकारिक रूपमै औषधि सप्लाई गर्न तयारी पूरा भएको कार्यकारी निर्देशक वैद्यले बताए । उनका अनुसार अफ्रिकी मुलुकमा औषधि पठाउन परामर्श भइरहेको छ । विदेशमा पठाउन उत्पादन गरिने औषधिमा नौ प्रकारको मोलिक्युुल प्रयोग हुन्छ । ‘हामीले नेपालमा ३४ प्रकारका औषधि उत्पादनका लागि अनुमति पाइसकेका छौँ,’ उनले भने, ‘अब ती औषधि उत्पादन र वितरण सुरु गर्छौँ, नेपालमा चाहिने नेपालमै वितरण हुन्छ, यसबाहेक विदेशमा पनि निर्यात गर्छौँ ।’ 

टिजिगले उत्पादन गरेको औषधि सबैजसो क्यान्सर रोगविरुद्ध प्रयोग गर्न मिल्छ । फोक्सो, रगत, पाठेघर, मस्तिष्क, ठूलो आन्द्रालगायतमा हुने क्यान्सरविरुद्ध उक्त औषधि प्रयोग गर्न मिल्छ । यसबाहेक थप ३४ प्रकारका मोलिक्युलको प्रयोग गरी ५३ किसिमका औषधि उत्पादन गर्ने तयारी पनि टिजिगले गरेको छ । यसमध्ये १३ प्रकारका मोलिक्युलको प्रयोग गरी उत्पादित २३ किसिमका औषधि उत्पादन र वितरण गर्न औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ । 

नेपालमा हाल क्यान्सर रोगसम्बन्धी उपचार हुने स्वास्थ्य संस्थाको संख्या पनि बढ्दै छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पतालभित्र सञ्चालित सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरलगायत अस्पतालले सरकारी तवरबाट उपचार सेवा दिँदै आइरहेका छन् । नेसनल क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, वीर अस्पताल, ओम, ग्रान्डी, बिएन्डबी, ह्याम्स, मेडिसिटी, भक्तपुर र काठमाडौं क्यान्सर सेन्टर, निजामती अस्पताल, झापास्थित पूर्वाञ्चल क्यान्सर सेन्टर, चितवनस्थित सिएमसी क्यान्सर सेन्टरलगायत निजी अस्पतालहरू पनि सञ्चालनमा आइसकेका छन् । 

टिजिगले हाल क्यापासिटाविन, हाइड्रोअक्सी युरिया, मेलफलान, टेमोजोलमाइड, गेफेटिनिवलगायत औषधि उत्पादन गर्छ । उत्पादन भइरहेका औषधि क्यान्सरको केमोथेरापीको वेला मुखबाट खाने क्याप्सुल तथा ट्याब्लेट हुन् । यी औषधिको मूल्य प्रतिक्याप्सुल एक सयदेखि एक हजारसम्म पर्छ । यसबाहेक अन्य महँगो पर्ने क्याप्सुल पनि आवश्यकताअनुसार उत्पादन गरिने कम्पनीका कार्यकारी निर्देशक वैद्यले बताए । नेपालमै पहिलोपटक टिजिग फर्माका कार्यकारी निर्देशक वैद्य ‘वल्र्ड बुक अफ रेकर्ड’ रच्न सफल भएका छन् । वैद्यलाई वल्र्ड बुक अफ रेकर्डको नेपाल च्याप्टरले सम्मानितसमेत गरेको छ । नेपालमा पहिलोपटक क्यान्सरको औषधि उत्पादन गरेर बिक्री–वितरण गरेपछि उनलाई मंगलबार उक्त सम्मान प्रदान गरिएको हो । 

भारतबाट आयातित औषधिभन्दा नेपालमा उत्पादित झन्डै आधा सस्तो

क्यान्सर रोगको उपचार महँगो छ । विशेषतः यसको उपचारमा प्रयोग गरिने औषधि महँगो पर्छ । विपन्न तथा सर्वसाधारणले थेग्न नसक्ने गरी महँगो भएको क्यान्सरको औषधि नेपालमै उत्पादन गर्दा आर्थिक रूपमा पनि राहत हुने टिजिगका कार्यकारी निर्देशक वैद्यले बताए । एउटै औषधिको मूल्य भारतमा भन्दा यहाँ झन्डै आधा कम पर्ने उनको दाबी छ ।

‘भारतबाट किन्दा कुनै–कुनै औषधि एउटा क्याप्सुलको ४५ सयसम्म पर्छ, तर त्यही औषधि नेपालमा २५ सयसम्ममा पाउन सकिन्छ,’ उनले भने । दुवै औषधिको काम र गुणस्तर एउटै भएको उनको दाबी छ । 

नेपालमा यसको उत्पादन गर्न आवश्यक पूर्वाधारहरू निर्माण भइसके पनि बजारीकरण भने कम छ । हाल मागअनुसारको औषधि मात्रै उत्पादन भइरहेको कार्यकारी निर्देशक वैद्य बताउँछन् । ‘यहीँ उत्पादन भएको औषधिले यहाँको माग धान्न सहज हुने अनुमान गरिएको छ,’ उनले भने, ‘कतिपयलाई नेपालमै क्यान्सरको औषधि उत्पादन हुन्छ भन्नेसम्म थाहा छैन, यसबारे जानकारी दिनु पनि आवश्यकता हो ।’