मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक २४ बिहीबार ०६:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डेढ अर्ब लगानीमा नौ मेगावाटका तीन सोलार प्लान्ट बनाउँदै प्राधिकरण

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २४ बिहीबार ०६:३५:००

नेपाल विद्युत् प्राधिकरणले करिब डेढ अर्ब (एक करोड १५ लाख युरो) लगानीमा थप नौ मेगावाटको सोलार पावर प्लान्ट निर्माण गर्ने भएको छ । प्राधिकरणले नवलपरासी, लमजुङ र सुर्खेतमा उक्त क्षमताको सोलार प्लान्ट बनाउन लागेको हो । प्राधिकरणले नै अघि बढाएको यो दोस्रो सोलार प्लान्ट आयोजना हो ।

यसअघि नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका– ७ स्थित गण्डक जलविद्युत् केन्द्रको गण्डक जलविद्युत् केन्द्रको ९.७ बिघा जग्गामा सोलार प्लान्ट बन्नेछ । जसको क्षमता ६ मेगावाट हुनेछ । त्यस्तै, लमजुङस्थित मध्यमस्र्याङ्दी आयोजनाको जग्गामा एक मेगावाट र सुर्खेतस्थित झुप्राखोला जलविद्युत् केन्द्रको जग्गामा दुई मेगावाटको सोलार प्लान्ट बनाइनेछ । 

उक्त तीन आयोजनाको जग्गासहित सम्पूर्ण स्वामित्व प्राधिकरणकै रहेको छ । यसरी आफ्नै जग्गामा सोलार प्लान्ट बनाउँदा लागत कम पर्ने प्राधिकरणको भनाइ छ ।  आयोजनालाई आवश्यक पर्ने सवस्टेसनसमेत नजिकै रहकाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सजिलो हुने बताइएको छ । यो आयोजनाहरूमा ब्याट्री भने हुँदैन, फलस्वरूप दिउँसो घाम लागेको वेला उत्पादन हुने यसको विद्युत् स्टोरेज गर्न सकिँदैन । आयोजना निर्माणका लागि जर्मन सरकारको केएफडब्लू विकास बैंकमार्फत ६० लाख युरो अनुदान प्राप्त हुने छ । बाँकी रकम भने नेपाल सरकार र प्राधिकरणले लगानी गर्नेछन् । 

हाल यस आयोजनाको सम्भाव्यता अध्ययनलगायतका काम सकिएको छ । अब एक वर्षभित्र इपिसी मोडलमा ठेक्कापट्टाका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजना निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । आयोजनाको निर्माण २०८१ पुसभित्र सक्ने लक्ष्य राखिएको छ । 

 गण्डक जलविद्युत् केन्द्रको पुनर्स्थापना  र आधुनिकीकरण गरिने
प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका– ७ सूर्यपुरास्थित १५ मेगावाटको गण्डक जलविद्युत् केन्द पुनर्स्थापना र आधुनिकीकरणसमेत गर्ने भएको छ । विद्युत्गृहका टर्बाइन, ब्रेकर, गभर्नरजस्ता इलेक्ट्रोमेकानिकल उपकरण पुराना र जीर्ण बनेर चल्न नसके अवस्थामा पुगेपछि प्राधिकरणले पुनर्स्थापना  र आधुनिकीकरण गर्न लागिएको हो ।

विद्युत् केन्द्र परिसरमा रहेका अधिकांश भवन र संरचनासमेत जीर्ण बनेका छन् । नेपाल र भारत सरकारबीचको गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्झौताबमोजिम निर्माण गरिएको जलविद्युत् केन्द्रबाट १९७९ को अप्रिलबाट विद्युत् उत्पादन सुरु भएको थियो । भारतबाट गण्डक सम्झौताबमोजिम नेपाललाई जलविद्युत् गृह ३१ ऋगस्ट १९८१ मा हस्तान्तरण गरिएको थियो ।