मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक २३ बुधबार १५:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुगुमा तीन दिनदेखि महिला बेपत्ता, हत्या भएकाे माइती पक्षकाे आराेप

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २३ बुधबार १५:४७:००

मुगुको खत्याड गाउँपालिका– ८ रिगागाउँकी २४ वर्षीया एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन्। खत्याड गाउँपालिका– ८ रिगागाउँकी २४ वर्षीया रमना गिरी कात्तिक २१ गतेदेखि आफ्नो घरबाटै बेपत्ता भएको उनको परिवारले जनाएको छ। 

बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका– १  माइतीघर भएकी गिरीले पाँच वर्षअघि मुगुको खत्याड गाउँपालिका– ८ रिगा गाउँका २८ वर्षीय प्रेमलाल गिरीसँग विवाह गरेकी थिइन्। 

प्रेमलाल र रमनाका चार वर्षीय छोरा र तीन महिने छोरी छन्। यता रमनाका माइती पक्षले परिवारले हत्या गरेको आरोप लगाएका छन्। रमनाका मामा सिंहराज गिरीले आफ्नी भान्जीलाई २१ गते राति नै उनको पति र घरपरिवार मिलेर हत्या गरेको आरोप लागाए।
 
रमनाका पतिले सोही राति घरपरिवारका सदस्यले खाना खाइरहेका वेला छोरी सुताउँछु भनेर घरको माथिल्लो तलामा गएकी रमना बेपत्ता भएको बताए। करिब दुई मिनेटपछि नै छोरी रोएको आवाज आएपछि कोठामा जाँदा आफूले श्रीमती नदेखेपछि गाउँमा खबर गरेको बताएका छन्। 

कात्तिक २२ मा खत्याड गाउँपालिका– ८ मा रहेको सुकाढिक प्रहरी चौकीमा बेपत्ता भएकी रमनाका माइती पक्षले उजुरी दिएका छन्। तीन दिनसम्म महिलाको अत्तोपत्तो नलागेपछि बेपत्ता नभई हत्या भएको भन्दै उनका माइती पक्षले रमानाका पति र उनका परिवारलाई कारबाही गर्न प्रहरी चौकीमा धर्ना दिएका छन्।  

घटनाको अनुसन्धान गर्न रमनाका पति प्रेमलाललाई सुकाढिक प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।