Skip This
सुनाकोठी–चापागाउँ सडकखण्ड चुनावी एजेन्डा मात्रै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
सुनाकोठी–चापागाउँ सडकखण्ड । फाइल तस्बिर
शिवहरि घिमिरे नयाँ पत्रिका
Invalid date format o७:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुनाकोठी–चापागाउँ सडकखण्ड चुनावी एजेन्डा मात्रै 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format o७:३८:oo

ललितपुरको दुर्गम क्षेत्रलाई सहरसँग जोड्ने मार्ग हो, सुनाकोठी–चापागाउँ सडकखण्ड । यो सडक सातदोबाटोको चापागाउँ दोबाटोबाट सुरु हुन्छ । तर, रिङरोडसँग जोडिएको यो सडकको ‘मुख’ भने निकै साँघुरो छ । करिब ५० मिटर परबाट भने सडक फराकिलो छ । ढोलाहिटीदेखि सुनाकोठी उकालोसम्म सडक निकै फराकिलो र कालोपत्रे गरिएको छ । त्यहाँ उता भने सडक फेरि साँघुरिँदै गएको छ । धुलो र खाल्डाखुल्डी कहिल्यै हराउँदैन । 

यो सडकको करिब तीन किलोमिटर अर्थात् प्याङगाउँसम्मको भाग साँघुरो छ । प्याङगाउँदेखि टीकाभैरव ओरालोसम्म सडक अलि चौडाइ छ । टीकाभैरव बजारमा केही फुकेको सडक फेरि साँघुरिएको छ । हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग समेत जोड्ने यो सडकखण्डको नाम कान्ति लोकपथ हो । तर, चापागाउँ दोबाटोबाट सुरु हुने यो सडक कतै फुकेको छ भने साँघुरिँदा यात्रु तथा स्थानीयवासीले सधैँ सास्ती व्यहोरिरहेका छन् । साँघुरो सडकलाई सदाबहार खाल्डाखुल्डीले कहिल्यै छाड्दैन । 

यो सडकलाई पाँच वर्षअघि (०७४)को चुनावमा ललितपुरका उम्मेदवारहरूले मुख्य एजेन्डा बनाएका थिए । ललितपुर १ मा एमालेबाट उम्मदेवार बनेका नवराज सिलवाल र कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले निर्वाचित भएको दुई वर्षभित्र सडक व्यवस्थित बनाउने घोषणा गरेका थिए । यहाँबाट विजयी भएका सिलवालको पाँचवर्षे कार्यकाल सकियो । सडक उस्तै छ । सिलवालसँग पराजित भएका राणाले त्यसयता यो सडक व्यवस्थित गर्नेबारे केही चासो दिएनन् । 

अहिले पुनः एमालेबाट यही क्षेत्रमा उम्मेदवार बनेका सिलवाल दक्षिण ललितपुरलाई जोड्ने अधिकांश सडक कालोपत्रे गरे पनि चापागाउँ सडक भने व्यवस्थित गर्न कठिन भइरहेको बताउँछन् । ०७४ मा सँगै भिडेका सिलवाल र राणा यसपटक फेरि प्रतिस्पर्धी बनेका छन् । यसपटकको घोषणापत्रमा पनि दुवै उम्मेदवारले दक्षिण ललितपुर जोड्ने यो सडक व्यवस्थित बनाउने उल्लेख गरेका छन् । ‘विगतमा निर्वाचित भएकाहरूले यस क्षेत्रका धेरै विषयलाई बेवास्ता गरे,’ राणाले भने ।  

सुनाकोठी–ठेचो–चापागाउँ सडक बनाउने जिम्मा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको हो । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यो सडकलाई फेरि व्यवस्थित गर्ने गरी योजना बनाएका छन् । पुरानो ठेकेदारले काम चल्ने गरी टालटुल गरेको छ, यसको पक्की कालोपत्रे सडकको चौडाइ क्षेत्रफल पुगेपछि मात्रै हुन्छ,’ उनले भने, ‘त्यसका लागि स्थानीयको सहयोग चाहिन्छ ।’

चौडाइ नपुगेपछि टालटुले पिच
आयोजनाले ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक दुई खण्ड विभाजन गरेर ठेकेदार कम्पनीलाई ठेक्का लगाएको थियो । दुई वर्षमा सक्ने गरी ०७३ मा ठेक्का दिए पनि अझै सकिएको छैन । यो सडक ०७५ कात्तिक मसान्तभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने हो । मर्मत र कालोपत्रेको जिम्मेवारी पाएको दिवा सैलुङ जेभी र कन्टेक प्रालिले सडक मर्मत गर्न अटेर गर्दै आइरहेका थिए । उनीहरूले ठेक्काअनुसार सडकको चौडाइ नभएकाले कालोपत्रे गर्न अटेरी गरेका थिए । स्थानीयको चौतर्फी दबाबपछि चार महिनाअघि अस्थायी कालोपत्रे भएको थियो ।  

‘यो सडकको विकल्प खोज्नुपर्छ’
चापागाउँ क्षेत्रमा सवारी र जनसंख्या चाप बढेको छ । तर, सडक भने साँघुरो छ । सडकको आसपासमा पुराना घर र बहालहरू रहेको भन्दै स्थानीय मुआब्जा लिएर पनि छाड्न सहमत छैनन् । उनीहरूले पुराना बहाल र मन्दिर सडकआसपासमै रहेकाले त्यसलाई जोगाउनुपर्ने बताउँदै आएका छन् । ‘सडक चौडाइ पार्दा यहाँका पुराना मूर्ति, मन्दिर र बहाल भत्कन्छन्,’ चापागाउँका अजय महर्जनले भने, ‘यो सडकलाई यस्तै राखेर यसको विकल्प पनि खोज्नुपर्छ ।’