१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल सोलुखुम्बु
२०७९ कार्तिक २० आइतबार १३:१०:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

हिमालयको काखमा राष्ट्रपतिले उद्घाटन गरिन् १५ शय्याको अस्पताल

Read Time : > 2 मिनेट
नवीन अर्याल, सोलुखुम्बु
२०७९ कार्तिक २० आइतबार १३:१०:००

सगरमाथा जाने ट्रेकिङ रुट सोलुखुम्बुको फाक्दिङमा १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’ सञ्चालनमा आएको छ। आइतबार एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालको उद्घाटन गरिन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीले सामाजिक भावना राखी गाउँमै अस्पताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने शेर्पा परिवारको काम सराहनीय भएको बताइन्। यो अस्पतालले नजिकै अस्पताल नहुँदा सुत्केरीले पाउनुपरेको पीडा समाधान गर्ने उनको विश्वास छ। ‘स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई यस अस्पतालले प्रत्याभूति गरेको छ,’ उनले भनिन्, ‘अब डाक्टर, नर्स, स्वास्थ्यकर्मी उत्पादनदेखि दूरदराजसम्म भौतिक पूर्वाधार निर्माणमा सरकार, निजी क्षेत्र र दाताहरूबीच सहकार्य र समन्वय आवश्यक छ।’

सोलुखुम्बु पर्यटनको सांग्रिला भएको बताउँदै राष्ट्रपति भण्डारीले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने उल्लेख गरिन्। पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेको हाम्रै आँखाले देखिरहेको बताउँदै उनले थपिन्, ‘वातावरण जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सबैले मिलेर काम गर्नुपर्छ।’

पर्यटन व्यवसायी फुर्वा शेर्पाको परिवारले व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङमा सुविधायुक्त अस्पताल निर्माण गरेका हुन्। यो अस्पताल निर्माण गर्न करिब २० करोड रुपैयाँ लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले बताइन्। अस्पताल कोङ्दे हिमालको काखमा (२,६१० मि) रहेको छ। सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन बनाएको हो।

‘यस क्षेत्रका ११ गाउँका करिब १० हजार स्थानीय बासिन्दा तथा खुम्बु क्षेत्रमा ट्रेकिङ र आरोहणमा आउने पर्यटकले सेवा पाउनेछन्,’ फाउन्डेसनका अध्यक्ष शेर्पाले भने, ‘नेपालीलाई निःशुल्क र विदेशीलाई सहुलियत शुल्क लिएर उपचार हुनेछ।’ अस्पताल नाफा कमाउने उद्देश्यले नभई स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन खोलेको उनको भनाइ छ। अस्पताल सञ्चालन तथा व्यवस्थापन फाउन्डेसनले गर्नेछ। उपचारबाट आउने रकम फाउन्डेशनको नाममा रहने र सोही रकमबाट चिकित्सकहरूलाई तलबसहित अन्य सेवा सुविधा उपलब्ध गराइने बताइएको छ।

अस्पतालमा इमर्जेन्सी सेवा, ओपिडी, ल्याब, मेडिकल, अल्टिच्युड मेडिसिन, प्रसूति सेवा, माइनर अप्रेसनलगायतका सुविधा उपलब्ध हुनेछन्। अस्पतालमा अल्टिच्युड, फुड पोइजन, चोटपटक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उपचार हुने हुँदा पर्यटन क्षेत्रसमेत लाभान्वित हुनेछ। खासगरी, यहाँका स्थानीयलाई प्रसूति सेवामा पनि केन्द्रित हुने बताइएको छ। अहिलेसम्म यस क्षेत्रका बासिन्दा बिरामी पर्दा नाम्चे उक्लनुपर्ने वा लुक्ला झर्नुपर्ने बाध्यता थियो। 

जुलाई २०१७ मै शिलन्यास गरिएको अस्पताल कोभिडको कारण निर्माणमा ढिलाइ भएको शेर्पाले बताए। जर्मन नागरिक डाक्टर मथेस बाउमेनले पाँच करोड र अन्य दाताबाट दुई करोड सहयोग प्राप्त भएको र बाँकी रकम आफैँ जोहो गरेको उनले बताए।

अस्पतालमा एक डाक्टर र अन्य तीन स्वास्थ्यकर्मी रहेका छन्। थप दुई नर्स केही महिनाभित्रै आउने शेर्पाले बताए। अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याउने योजना छ। त्यसका लागि ५० लाख रुपैयाँ खर्च हुने बताइएको छ। यस क्षेत्रमा रहेका कुनै पनि अस्पतालमा अक्सिजन प्लान्ट नभएको हुँदा टड्कारो आवश्यकता महसुस गरेर प्लान्टको योजना अगाडि बढाएको उनको भनाइ छ।

लामो समयदेखि गाउँमै अस्पताल बनाएर स्थानीयलाई सेवा दिने सपना शेर्पा परिवारले देख्दै आएको थियो। सामान्य उपचारका लागि समेत घन्टाैँ हिँडेर अस्पताल जानुपर्ने, मौसम खराबी हुँदा काठमाडौंसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको देखेका थिए। त्यो सपना अहिले आएर पूरा भएको फाउन्डेसनकी उपाध्यक्ष शेर्पाले बताइन्। उनले भनिन्, ‘उकालो–ओरालो गर्दा कैयौँपटक बाटोमा अलपत्र परेका बिरामी देख्यौँ। काखमा बालबच्चा च्यापेका उनीहरूको आँखामा आँसु देख्दा पीडाबोध हुन्थ्यो। त्यो पीडामा थोरै मात्र भए पनि मल्हम लगाउन पाउँदा अत्यन्तै खुसी छु।’