मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पामिर गौतम काठमाडाैं
२०७९ कार्तिक २० आइतबार १०:३४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आशा र चुनौतीबीच ब्राजिलमा लुलाको पुनरागमन

Read Time : > 4 मिनेट
पामिर गौतम, काठमाडाैं
२०७९ कार्तिक २० आइतबार १०:३४:००

ब्राजिलका दुवै सदनमा बोल्सोनारोका दल र समर्थकको बाहुल्य रहेको अवस्थामा लुलाले धेरै विषयमा सम्झौता गर्नुपर्नेछ

यही ३१ अक्टोबरको आफ्नो सम्पादकीयमा बेलायती पत्रिका द गार्डियनले तेस्रो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिका रूपमा वामपन्थी नेता लुलाको पुनरागमन ब्राजिलका लागि मात्र नभई विश्वकै लागि राम्रो हुने उल्लेख गरेको छ । गार्डियन लेख्छ– दक्षिणपन्थी–चरमपन्थी बोल्सोनारोको नेतृत्वमा ब्राजिलले आफ्नो बाटो र दिमाग दुवै गुमाएको अवस्थामा लुलाको जितले देश विवेकको बाटामा फर्किने संकेत दिएको छ । बोल्सोनारो प्रशासनमा उच्च मुद्रास्फीति, बढ्दो गरिबी, असमानता र शिक्षा संकटजस्ता समस्याले अधिकांश ब्राजिलियन जनसंख्याको जीवन कष्टकर बनेको थियो । अर्कातर्फ उनको आदिवासी, अल्पसंख्यक, महिला प्रजनन स्वास्थ्य र राजनीतिक प्रतिद्वन्द्वीप्रतिको असहिष्णु नीतिले ब्राजिलको लोकतान्त्रिक शासन प्रणालीलाई नै चुनौती दिइरहेको थियो । कोभिड संकट व्यवस्थापन र अमेजन क्षेत्रको वन विनाशलाई लिएर अन्तर्राष्ट्रियस्तरमै व्यापक आलोचित भएका छन् बोल्सोनारो । कोभिड–१९ संक्रमणले ब्राजिलमा ६ लाख ८८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अर्कातर्फ बोल्सोनारोको शासनकालमा वर्षौंदेखि संसारको फोक्सोका रूपमा वर्णन गरिएको अमेजन क्षेत्रको वन विनाश द्रूत गतिमा बढेको छ । सासिंगटन पोस्टमा इशान थरुर लेख्छन्– ब्राजिलको प्रभावशाली कृषि व्यवसायीको स्वार्थअनुकूल बोल्सोनारो सत्तामा रहँदा अनुमानित दुई अर्ब रुख काटिएका वा जलाइएका छन् । २०१९ र २०२१ को ग्रीष्मकालको बीचमा पूरै बेल्जियमको क्षेत्रफलभन्दा ठूलो क्षेत्रफलको वन विनाश गरियो ।

ब्राजिलका ट्रम्प भनी चिनिने बोल्सोनारोप्रति गार्डियनले देखाएको निराशावादी दृष्टिकोण र लुलाप्रतिको आशाझैँ सायद विश्वका धेरै नेताहरूले पनि यस्तै धारणा राखेको हुनपर्छ । बोल्सोनारोले पराजय स्विकार्लान् कि नाइँ भन्ने अनिश्चयको वातावरणबीच उत्तर अमेरिकी, दक्षिण अमेरिकी र युरोपेली राष्ट्रका राष्ट्रप्रमुखहरूले लुलाको जितलाई ऐतिहासिक भन्दै ब्राजिलसँगको द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने सन्देशसहितको बधाई दिइसकेका थिए ।

वर्कर्स पार्टीका संस्थापक सदस्य र अध्यक्ष लुलाले १९८९ मा पहिलोपटक ब्राजिलको राष्ट्रपतिका लागि चुनाव लडेका थिए । आफ्नो चौथो प्रयासमा सन् २००२ मा विजयी भएर ब्राजिलका राष्ट्रपति बनेका लुला २००६ मा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भए । आफ्नो दुई कार्यकालमा लुलाको सबैभन्दा महŒवपूर्ण उपलब्धि भनेकै आर्थिक वृद्धि र सामाजिक सुधारका कार्यक्रमलाई सन्तुलनमा राख्नु थियो । यसले सम्पूर्ण जनतालाई उल्लेखनीय रूपमा फाइदा पनि पुर्‍यायो । उनको सरकारले लगानीकर्तामैत्री नीतिसहित उत्पादनशील लगानीलाई समर्थन गर्ने आर्थिक उपायहरू अपनाएर विकासलाई बढावा दियो । गरिबी र भोकलाई सम्बोधन गर्न लुलाले विद्यमान सामाजिक सुरक्षा कार्यक्रमलाई परिमार्जन र विस्तार गरेका थिए । 

उनको आठ वर्षको शासन अवधिमा देशको अर्थतन्त्र उकालो लाग्यो, गरिबी ओरालो झर्‍यो, जनता आय र जीवनस्तरमा उल्लेख्य सुधार भयो । जुन २०१३ मा अफ्रिकन युनियनको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै लुलाले आफूले अघि सारेको रणनीतिद्वारा एक दशकमा ३६ मिलियन ब्राजिलियनहरू चरम गरिबीबाट बाहिर निस्किएका, ४० मिलियन नयाँ सामाजिकस्तरमा उक्लिएका र २० मिलियन औपचारिक रोजगारी सिर्जना गरिएको बताएका थिए ।

बोल्सोनारोको पराजयपछि ब्राजिलका विभिन्न ठाउँमा भएका हिंसात्मक दंगाले लुलाले आगामी समय अधिक विभाजित र ध्रुवीकृत समाजको सामना गर्नुपर्ने संकेत देखिन्छ 
 

सन् २००९ मा स्पेनिस पत्रिका एल पाइस र फ्रान्सेली पत्रिका ले मोंदे दुवैले लुलालाई ‘वर्ष व्यक्ति’ घोषित गरे । यो सफल आर्थिक र सामाजिक उपलब्धिका लागि २०१० मा टाइम पत्रिकाले लुलालाई ब्राजिलको इतिहासको ‘सबैभन्दा लोकप्रिय नेता’ भन्दै उनलाई आफ्नो विश्वको सबैभन्दा प्रभावशाली नेताका रूपमा सूचीबद्ध गर्‍यो । २०१२ मा विश्व बैंकले लुलाको बोल्सा फेमिलिया (परिवार अनुदान कार्यक्रम) लाई गरिबी न्यूनीकरणको क्षेत्रमा ‘विश्वका लागि नयाँ पाठ’ भएको घोषणा गर्‍यो । जुलाई २०२२ मा बेलायती पत्रिका फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा लुलाले राष्ट्रपतिका रूपमा आफ्नो अघिल्लो कार्यकालको स्मरण गर्दै भनेका छन्– मलाई थाहा थियो, यदि म ब्राजिलको राष्ट्रपति भएँ र मेरो सरकारले काम गर्न सकेन भने एक मजदुरले फेरि राष्ट्रपति बन्नेबारे कहिल्यै सोच्न सक्नेछैन ।

आन्तरिक राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रिय राजनीतिमा पनि विश्वकै प्रमुख आर्थिक र राजनीतिक खेलाडीका रूपमा ब्राजिलको उदय र यस उपलब्धिमा लुलाको भूमिका उनको पहिलो दुई कार्यकालको सबैभन्दा उल्लेखनीय सफलता हुन् । लुलाले विदेश नीति र आर्थिक नीतिलाई मिश्रित गर्दै आर्थिक विकासको साधनका रूपमा कूटनीतिलाई अघि सारेका थिए र देशको स्वायत्तताको संरक्षण गर्न परराष्ट्र नितिमा विविधीकरणको रणनीति अपनाएका थिए । २००९ मा बाराक ओबामा पहिलो पटक संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्दा जापानी र बेलायती प्रधानमन्त्रीपछि अमेरिकी राष्ट्रपति कार्यालयमा आमन्त्रित लुला तेस्रो नेता थिए । त्यस्तै शक्तिशाली देशहरूसँगको सम्बन्धमा असमानता घटाउन र अन्तर्राष्ट्रिय वार्तामा बार्गेनिङ पावर बढाउन लुलाले विकासोन्मुख देशहरूका रणनीतिक साझेदारहरूसँग सक्रिय रूपमा पहुँच बढाएर दक्षिण–दक्षिण सहयोगका लागि जोड दिएका थिए । एक समृद्ध आर्थिक प्रदर्शनसँगै ‘सफ्ट पावर’, बहुपक्षीय पहल र कूटनीतिलाई जोड दिँदै लुला प्रशासनले एक्काइसौँ शताब्दीको प्रारम्भको विश्व राजनीतिमा ब्राजिललाई एक प्रभावशाली राष्ट्रका रूपमा डोर्‍याएको थियो ।

जुलाई २०१७ मा एक विवादास्पद मुद्दामा लुलालाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको आरोप लाग्यो र २०१८ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइयो । फेब्रुअरी २०१९ मा लुलाको निवेदन खारेज गर्दै अदालतले १२ वर्ष ११ महिनाको सजाय सुनायो । ५८० दिन जेल सजाय भोगका लुलाको सजायलाई सर्वोच्च संघीय अदालतले नोभेम्बर २०१९ मा प्रक्रियागत त्रुटि भन्दै रद्द गर्‍यो । सर्वोच्च अदालतले मार्च २०२१ मा लुलाको भ्रष्टाचार मुद्दा हेर्ने न्यायाधीश पक्षपाती भएको फैसला सुनायो र जुन २०२१ मा लुलाविरुद्धका सबै मुद्दा खारेज गर्‍यो, जसले गर्दा २०२२ को चुनावमा लुला कानुनी रूपमा फेरि राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य भए र जिते पनि ।

लुलाको पुनरागमनलाई ब्राजिलभित्र र बाहिरको दुनियाँमा आशाका रूपमा हेरिएको छ, तर लुला २००३ मा राष्ट्रपति हुँदाको ब्राजिल र आजको ब्राजिलको आन्तरिक र बाह्य परिवेश दुवै पूर्ण रूपमा फरक छ । २०१० मा कार्यकालको अन्त्यमा लुलाको अनुमोदन रेटिङ ८० प्रतिशतभन्दा बढी थियो । तर, हालसालैको राष्ट्रपति चुनावमा लुलाले ५०.९ प्रतिशत मत पाउँदा उनका प्रतिद्वन्द्वी बोल्सोनारोले ४९.१ प्रतिशत मत पाएका छन् । त्यस्तै बोल्सोनारोको पराजयपछि ब्राजिलका विभिन्न ठाउँमा भएका हिंसात्मक दंगाले लुलाले आगामी समय अधिक विभाजित र ध्रुवीकृत समाजको सामना गर्नुपर्ने देखिन्छ । त्यस्तै ब्राजिलका दुवै सदनमा बोल्सोनारोका दल र समर्थकको बाहुल्य रहेको अवस्थामा लुलाले धेरै विषयमा सम्झौता गर्नुपर्ने निश्चित छ । लुलाले बढ्दो गरिबी, बेरोजगारी र अमेजन वनविनाश नियन्त्रणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । एक दशक लामो आर्थिक अस्थिरताले कमजोर ब्राजिलियन अर्थतन्त्र र कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्रमा ल्याएको ठूलो आर्थिक संकटसँग पूरै विश्व जुधिरहेको अवस्थामा लुलाको सामाजिक कल्याण सुधार गर्ने उद्देश्य कसरी अघि बढ्ने हो, यो एउटा ठूलो चुनौतीको रूपमा उभिएको छ ।

विदेश नीतिको सन्दर्भमा लुलाले ब्राजिÞलको अन्तर्राष्ट्रिय प्रतिष्ठाका साथै विश्वव्यापी र क्षेत्रीय प्रभाव पार्ने क्षमतालाई पुनर्निर्माण गर्न भूराजनीतिक चुनौतीमा स्वतन्त्र अडान लिने र दक्षिणी राष्ट्रहरूको नेतृत्वको भूमिका खेल्ने आफ्नो अघिल्लो नीतिलाई दोहोर्‍याउन सक्छन् । एकातिर अमेजन वन संरक्षणका लागि लुलाको योजनामा पश्चिमी देशहरूले उपलब्ध गराउने कोषमा भर पर्नुपर्नेछ भने दक्षिण–दक्षिण सहयोगलाई प्रभावकारी रूपमा अभ्यास गर्न लुलाले रुस र चीनलगायत मुलुकसँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने हुन्छ । त्यसैगरी, ब्राजिलको वैदेशिक व्यापारलाई बढावा दिन र ब्राजिलको अर्थतन्त्रलाई सुदृढ गर्न सबैभन्दा आवश्यक विदेशी पुँजी आकर्षित गर्न लुलाले अमेरिका र चीनलगायत देशमा निर्भर रहनुपर्छ । तर, २००३ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा अन्तर्राष्ट्रिय राजनीति धेरै हदसम्म स्थिर थियो, जसले गर्दा उनलाई आफ्नो विदेश नीति अगाडि बढाउन खासै चुनौतीको सामना गर्नुपरेन । वर्तमान सन्दर्भमा चीनको बढ्दो प्रभावले चीन र अमेरिकाबीच उत्पन्न तनाव तथा रुस र युक्रेनबीचको युद्धले विश्व समुदायलाई अत्यधिक रूपमा विभाजित र ध्रुवीकृत बनाएको अवस्थामा लुलाले विदेश नीतिको क्षेत्रमा पनि निकै कठिन अवस्थाको सामना गर्नुपर्ने देखिन्छ ।