Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७५ चैत १५ शुक्रबार १३:१२:००
Read Time : > 1 मिनेट
विश्व

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ चैत १५ शुक्रबार १३:१२:००

अमेरिका र चीनबीचको व्यापार वार्ता बेइजिङमा सुरु भएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच उत्पन्न व्यापार गतिरोधलाई अन्त्य गर्ने प्रयत्नस्वरूप अर्को चरणको वार्ता बिहीबारदेखि बेइजिङमा सुरु भएको हो । अमेरिकी वार्ताटोलीको नेतृत्व अर्थमन्त्री स्टिभेन मन्चिनले गरेका छन् भने चिनियाँ वार्ताटोलीको नेतृत्व उपप्रधानमन्त्री एवं वरिष्ठ आर्थिक अधिकारी लिऊ हेले गरेका छन् । चीनको जनकंग्रेसले विदेशी लगानीको सुरक्षासम्बन्धी कानुन पारित गरेपछि पहिलोपटक वार्ता हुन लागेको हो ।

करवृद्धिमा होड
पछिल्लो समयमा दुई देशबीच करवृद्धिमा होड नै चलेको छ । करवृद्धिसँगै दुई देशबीचको व्यापार युद्ध चर्किएको छ । अमेरिका र चीनले एक–अर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलरबराबरका सामानमा कर वृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन् । चिनियाँ सामग्रीमा अमेरिकाले थप कर वृद्धि गरे चीनले पनि टुलुटुलु हेरेर बस्न नसक्ने बेइजिङले चेतावनी दिएको छ ।

वासिंटनमा पुनः वार्ता हुने
बेइजिङ वार्ता सफल भएमा वासिंटनमा पुनः अर्को चरणको व्यापार वार्ता हुनेछ । तर, वार्ता सफल नभए अमेरिका आफ्नै ढंगले अगाडि बढ्ने र पूर्वघोषणाअनुसार चीनमाथि भारी कर लगाउने चेतावनी दिएको छ । अमेरिकी वार्ताटोलीका प्रतिनिधि रोवर्ट लाइटिजरले भने, ‘बेइजिङ वार्ता विफल होला भन्ने मैले आशा मारिसकेको छैन । तर, जारी वार्तामा ठोस सहमति नभए हामी दोस्रो योजनासाथ अघि बढ्नेछौँ ।’

दुई देशबीच आरोप–प्रत्यारोप
अमेरिकाले अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ ।चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा ६ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाइ छ । तर, चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरू बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिको नीति संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । चीनले अमेरिकी नीतिको विरोध गर्दै विश्व व्यापार संगठनमा समेत उजुरी गरेको छ । चीनले अमेरिकी नीतिका कारण विश्व बजारमा नकारात्मक असर परेको तथा विश्वको आर्थिक वृद्धिमै संकट उत्पन्न हुन थालेको बताएको छ ।

वार्ता सफल हुने ट्रम्पको विश्वास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीच जारी व्यापार वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् । व्यापारसम्बन्धी समस्या सुल्झाउन चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्न आफू प्रतीक्षारत रहेको ट्रम्पले बताएका छन् । बेइजिङमा सहमति जुटेपछि दुई देशका राष्ट्रप्रमुखबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । तर, मूलभूत विषयमा सहमति नजुटेकाले सम्झौतामा ढिलाइ भएको ट्रम्पले बताएका छन् ।