मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ०७:०९:००
Read Time : > 1 मिनेट
अर्थ

अब एक करोडको घर चार हजारमै बिमा

पाँच वर्षपछि सम्पत्ति बिमा निर्देशिका परिमार्जन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ०७:०९:००

अब प्रतिहजार ४० पैसा बिमा शुल्कमा घर बिमा गर्न पाइने भएको छ । बिमा समितिले पाँच वर्षपछि सम्पत्ति बिमा निर्देशिका परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । समितिले आइतबार पत्रकार सम्मेलन गर्दै माघ १ गतेबाट १ करोड रुपैयाँभन्दा कम मूल्यको घरमा प्रतिहजार ४० पैसाका दरले बिमा गर्न सकिने जानकारी दिएको हो । 

सोभन्दा बढी मूल्यको घरमा भने प्रतिहजार १ रुपैयाँ शुल्कमा बिमा गर्न सकिने व्यवस्था नयाँ निर्देशिकामार्फत ल्याइएको बिमा समितिका अध्यक्ष डा. चिरञ्जीवी चापागाईंले जानकारी दिए । उनका अनुसार यो शुल्क हाल प्रचलनमा रहेको सबै प्रकारका बिमायोग्य जोखिम शुल्कलाई आधार औसतमा ६० प्रतिशतका दरले बिमादर घट्नेछ । बिमा शुल्कमा गरिएको व्यापक कटौतीले निर्जीवन बिमाको दायरामा अत्यधिक वृद्धि हुने समितिको भनाइ छ । नयाँ निर्देशिकाले हुलदंगा तथा आतंकवाद जोखिम समूहबाहेक अरू सबै जोखिमहरू एउटै प्याकेजमा अनिवार्य गरेको छ । साथै विनाकारण बिमकले एकतर्फी बिमालेख रद्द गर्न नसक्ने व्यवस्था पनि गरिएको छ । 

आइतबार पत्रकार सम्मेलन गर्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सो कुराको जानकारी दिएका हुन् । निर्जीवन बिमा व्यवसायअन्तर्गत अग्नि बिमालेख र गार्हस्थ बिमालेखलाई एकै निर्देशिकाको अधिनमा रहने गरी क्रमशः सम्पत्ति बिमालेख र घर बिमालेखले प्रतिस्थापन गरेको उनले बताए ।

बिमकहरूले हालको सफ्टवेयरमा हाल जारी सम्पत्ति निर्देशिकाअनुरूप मिलान गर्न तथा बिमालेख छाप्नका लागि १ महिनाको समय दिइएको छ । सोहीकारण नयाँ बिमालेख माघ १ गतेदेखि लागू हुनेछ । हाल विद्यमान निर्देशिका असान्दर्भिक भएको, ग्राहकको बिमालेखप्रतिको बुझाइमा फरक पर्न गएको कारण बिमा समितिले सो निर्देशिका परिमार्जन गरेको हो । 
जारी हुने नयाँ बिमालेखमा सम्पत्ति बिमालेख तथा घर बिमालेखअन्तर्गत सबै प्रकारका बिमायोग्य जोखिमको बिमा एउटै बिमालेखमा रक्षावरण हुनेछ ।

यसअन्तर्गत अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, भूमिजन्य क्षति, खस्ने वा भासिनेसम्बन्धी क्षति, चट्याङजन्य क्षति, विस्फोटनजन्य क्षति, आकाशीय सामग्रीजन्य क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति स्वजलन, हुलदंगा तथा आतंकवादजन्य क्षति र मिसाइल टेस्टिङ अपरेसनका कारणले भएको क्षति रक्षावरण हुनेछन् । नयाँ निर्देशिकाअनुसार व्यावसायिक र आवासीय घरको प्रयोजनका लागि गरी दुई बिमालेख हुनेछ । व्यावसायिक प्रयोजनका लागि सम्पत्ति बिमालेख र घर बिमालेख गरी दुई प्रकार हुनेछ ।