१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक १९ शनिबार ०८:२१:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

तीन महिनामा पौने तीन अर्बको विद्युतीय सवारीसाधन आयात

Read Time : > 2 मिनेट
२०७९ कार्तिक १९ शनिबार ०८:२१:००

अघिल्लो आव ०७८/७९ को पहिलो त्रैमासको तुलनामा परिमाणका आधारमा २७० प्रतिशत र रकमका आधारमा ८१ प्रतिशतले बढी 

पेट्रोल र डिजेलको मूल्य अत्यधिक बढेपछि नेपालमा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको छ । चालू आर्थिक वर्ष ०७९/८० को पहिलो तीन महीनामा दुई अर्ब ७० करोड ८७ लाखबराबरको विद्युतीय सवारीसाधन भित्रिएको भन्सार विभागको तथ्यांक छ । उक्त अवधिमा गाडी, मोटरबाइक, स्कुटर, अटोरिक्सालगायतका सात हजार सात सय ६८ वटा विद्युतीय सवारीसाधान आयात भएका छन्, जुन अघिल्लो आव ०७८/७९ को पहिलो त्रैमासको तुलनाका आधारमा २७० प्रतिशत र रकमका आधारमा ८१ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा एक अर्ब ४९ करोड ९९ लाख रुपैयाँबराबरका दुई हजार एक सयवटा विद्युतीय सवारीसाधन आयात भएका थिए । 

तथ्यांकअनुसार तीन महिनामा ६ करोड ९३ लाख रुपैयाँबराबरका २७ वटा विद्युतीय माइक्रो बस आयात भएका छन् । यस्तै, ३६ करोड ९० लाख रुपैयाँबराबरका चार हजार तीन सय ७० वटा विद्युतीय साइकल, मोटरबाइक र स्कुटर आयात भएका छन् । समीक्षा अवधिमा आयात हुने विद्युतीय कार तथा भ्यानको संख्या भने सात सय पाँच रहेको छ । रकमका आधारमा दुई अर्ब ५० लाख रुपैयाँबराबरका विद्युतीय कार तथा भ्यान आयात भएका छन् । 

यस्तै, समीक्षा अवधिमा २४ करोड ५१ लाख रुपैयाँबराबरका दुई हजार चार सय ९२ वटा तीनपांग्रे (अटोरिक्सालगायत) गाडी आयात भएका छन् । साथै, एक करोड ७९ लाख रुपैयाँबराबरका एक सय ७३ वटा एसेम्बल हुन बाँकी तीनपांग्रे गाडी आयात भएका छन् । यस्तै, २१ लाखबराबरको एउटा चारपांग्रे भेहिकल पनि आयात भएको तथ्यांकमा उल्लेख छ । 

विशेष गरी पेट्रोल र डिजेलको मूल्य बढ्दा विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढेको अटो मोबाइल्स व्यवसायीहरू बताउँछन् । आव ०७७/७८ को पहिलो त्रैमासमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ थियो । यस्तै, गत आव ०७८/७९ मा पेट्रोलको मूल्य प्रतिलिटर १३० र डिजेलको मूल्य प्रतिलिटर एक सय १३ पुगेको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भने अझै बढेर पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ र डिजेलको एक सय ९२ रुपैयाँसम्म पुगेको थियो । हाल पेट्रोल प्रतिलिटर एक सय ८१ रुपैयाँ र डिजेल प्रतिलिटर एक सय ७८ मा बिक्री भइरहेको आयल निगमको तथ्यांकमा देखिन्छ । यसरी पेट्रोलियम पदार्थको मूल्य उच्च मात्रामा बढ्दा सवारीसाधनको सञ्चालन खर्च पनि बढेको छ । त्यसपछि सर्वसाधारण विद्युतीय सवारीसाधनतर्फ आकर्षण हुन थालेका हुन् । 

नेपाल विद्युतीय परिवहन संघका पूर्वअध्यक्ष उमेश श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य बढेकै कारण विद्युतीय सवारीसाधनमा आकर्षण बढेको बताए । ‘विद्युतीय सवारीसाधनको सञ्चालन खर्च पेट्रोलियम सवारीसाधनको भन्दा धेरै कम हुन्छ । त्यसमाथि पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्दा सञ्चालन खर्च झन् बढेको छ,’ उनले भने, ‘त्यसपछि पेट्रोलिय सवारीसाधनभन्दा कम लागतमा सञ्चालन गर्न सकिने विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढेको छ ।’

यस्तै, पछिल्लो समय नेपालमा विद्युत्को आपूर्ति बढ्दै गएको छ । विद्युतीय सवारीसाधनलाई आवश्यक पर्ने चार्जिङ स्टेसन पनि बन्न थालेका छन् । यसका साथै नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले पनि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिँदै आएका छन् । सरकारले ०२५ सम्ममा २५ प्रतिशतको अनुपातमा निजी र २० प्रतिशतको अनुपातमा पब्लिक विद्युतीय सवारीसाधन सञ्चालन गर्ने लक्ष्य लिएको छ । यस्ता कारण पछिल्लो समय विद्युतीय सवारीसाधनमा आकर्षण बढेको श्रेष्ठको भनाइ छ । 

यद्यपि, सार्वजनिक यातायातमा अझै विद्युतीय सवारीसाधनको आकर्षण नभएको उनले बताए । ‘निजीभन्दा पनि पब्लिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउँदा अर्थतन्त्र, विद्युत् खपत र प्रदूषण रोक्नमा बढी फाइदा पुग्छ । तर, तरलता अभाव, महँगो भन्सार शुल्कलगायतका कारण त्यसमा अझै विकास हुन सकेको छैन,’ उनले भने, ‘लगानी तथा भन्सार शुल्कमा सरकारले सहुलियत दिएमा सार्वजनिक यातायातमा पनि तत्काल विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउन सकिन्छ ।’ अहिले तरलता अभाव र बैंकहरूको कडा मापदण्डका कारण सार्वजनिक विद्युतीय गाडीका लागि कर्जा पाउन गाह्रो भएको उनको भनाइ छ ।

यस्तै, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले विद्युतीय सवारीसाधनको आयात बढ्नु सकारात्मक रहेको बताए । ‘विद्युत्को धनी देश नेपालमा विद्युतीय सवारीसाधनको आयात बढ्नु एकदमै राम्रो पक्ष हो । यसले विद्युत् खपत बढाउने, पेट्रोलियम पदार्थको आयात घटाउने र प्रदूषणसमेत कम गर्न ठूलो सहयोग गर्छ,’ उनले भने । 

विद्युतीय सवारीसाधनको सञ्चालन कति सस्तो ?

पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको खरिद मूल्य बढी छ । तर, सञ्चालन खर्च भने निकै सस्तो हुने विभिन्न अध्ययनले देखाएको छ । पछिल्लो मूल्यअनुसार गाडी, माइक्रो बसलगायतका सवारीसाधन एक किलोमिटर गुड्दा झन्डै २० रुपैयाँको इन्धन (तेल) खर्च हुन्छ । तर, विद्युतीय सवारीसाधन एक किलोमिटर गुड्दा बढीमा एक रुपैयाँ २० पैसाको विद्युत् प्रयोग हुने नेपाल विद्युत् प्राधिकरणको एक अध्ययनले देखाएको छ । यसैगरी, सामान्यतया बाइक एक किलोमिटर गुड्दा पाँच रुपैयाँको पेट्रोल खर्च हुन्छ । तर, विद्युतीय बाइक एक किलोमिटर गुड्दा ५० पैसाको विद्युत् प्रयोग हुने व्यवसायीहरू बताउँछन् ।