मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक १८ शुक्रबार १५:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला पुगेर ओलीले भने- भारतले अतिक्रमण गरेकाे भूमि फिर्ता ल्याएरै छाड्छौँ

Read Time : > 1 मिनेट
२०७९ कार्तिक १८ शुक्रबार १५:२०:००

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको दार्चुलाबाट  उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भने, ‘हामीले नक्सा मात्र हाेइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि फिर्ता ल्याउँछौँ। राष्ट्रियताको रक्षा, भौगोलिक रक्षा गर्ने कुरामा एमाले ग्यारेन्टी गर्छ। हामी अरूको भूमि एक इन्च पनि मिच्दैनौँ, मिचिन पनि दिदैँनौँ।’

राष्ट्रियताको पक्ष र विकासको मूल धार यो क्षेत्रबाटै गर्न चुनावी अभियान दार्चुलाबाट सुरु गरेको बताए। भारतले विभिन्न बहानामा काली नदीको उदगम स्थानसमेत नक्कली बनाएको भन्दै उनले भने, ‘हाम्रो भूगोल जे–जति गरे पनि फिर्ता ल्याउने कुरामा एमाले दृढ छ।’ 

सन् १९६६ मै स्वर्गीय प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भूमि फिर्ता ल्याउने अभिभारा एमालेकै काँधमा रहेकाे बताए।
 
‘दार्चुलाबाट मन्त्री भएका कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अहिलेसम्म संसदमा कालापानीको ‘क’ भन्न आँट गर्नुभएन्,’ ओलीले भने, ‘मन्त्री भएर जिल्लाको लागि गर्नु के भयो, जिल्ला बिर्सिनुभयो । झन् यो जनमानस देखेपछि काठमाडाैं गएर बसे हुन्छ।’ 

उनले थपे, ‘हामीले नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको छ। चीनसम्मको सीमासम्म जोड्ने प्रयास भइरहेको छ। कडा भूगोल भएका कारण यो क्षेत्रमा सेनामार्फत निर्माण कार्य अघि बढाइएको छ। विगतमा भारतले हाम्रै भूमि भएर सीमासम्म सडक लग्यो । अहिले हामीले आफ्नै भूमिबाट बनाउँदासमेत उसले चित्त दुखाउँछ।’ उनले निर्वाचनपछि दार्चुलामा नेपाल भारत जोड्ने मोटरबेल पूल निर्माण गरिने बताए। 

यस्तै, बाढीका कारण बगाएको सदरमुकाममा तटबन्धन निर्माणको काम थालनी गरिने विश्वास दिलाए। हेलिकाेप्टरमार्फत खलंगा पुगेका ओलीले स्वर्गीय प्रेमसिंह धामीको सालिकमा गएर माल्यार्पण गरेका थिए।