मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक १७ बिहीबार ०९:१५:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

उत्तर कोरियाबाट एकै दिन २३ मिसाइल : जवाफमा दक्षिण कोरियाबाट तीन मिसाइल प्रहार

Read Time : > 1 मिनेट
२०७९ कार्तिक १७ बिहीबार ०९:१५:००

लामो र कटुतापूर्ण शत्रुतालाई कायम राखेका अमेरिका–दक्षिण कोरिया र उत्तर कोरियाबीच थप तनाव बढेको देखिँदै छ । एसियाली मुलुक उत्तर र दक्षिण कोरियाले एक–अर्कातर्फ शृंखलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका छन् । दुवै देशले प्रहार गरेका क्षेप्यास्त्र एक–अर्काको जलक्षेत्रनजिकै खसेका छन् । 

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियालाई लक्षित गरी सोमबारबाट ठूलो स्तरमा सैन्य अभ्यास सुरु गरेसँगै आक्रोशित उत्तर कोरियाले जवाफमा एकै दिन २३ मिसाइल प्रहार गरेको हो । उत्तरले प्रहार गरेको क्षेप्यास्त्रमध्ये एउटा दक्षिण कोरियाली सहर सोक्चोबाट ६० किलोमिटर नजिकैको दूरीमा खसेको बताइएको छ, जसलाई दक्षिणका राष्ट्रपति युन सुक–योलले ‘भूक्षेत्रमाथिको अतिक्रमण’ भनेका छन् । 

सन् १९४५ मा कोरियाली प्रायद्वीप विभाजित भएयता दक्षिणको तटवर्ती क्षेत्रनजिकैको जलक्षेत्रमा ब्यालेस्टिक मिसाइल खसेको यो पहिलोपटक हो । साथै, उत्तरले एकै दिनमा यति धेरै मिसाइल प्रहार गरेको पनि यो नै पहिलोपटक हो । उक्साहटपूर्ण जवाफ बिरलै दिने दक्षिण कोरियाले पनि यसपटक भने उत्तर कोरियाको जलक्षेत्रमा मिसाइलहरू दागेको छ । 

पहिले उत्तरले प्रहार गरेका १० मिसाल दक्षिण कोरियाको जलक्षेत्र नर्दन लिमिट लाइन (एनएलएल)को दक्षिणी भागमा खसेका थिए । उत्तरले प्रहार गरेको एउटा ब्यालिस्टिक मिसाइलले दुई कोरियाबीचको विवादास्पद समुद्री सीमा नर्दन लिमिट लाइन (एनएलएल) पार गरेको थियो । त्यसपछि दक्षिण कोरियाली राष्ट्रपतिले ‘तत्काल प्रतिक्रिया जनाउन’ आदेश दिएको समाचारहरूमा उल्लेख छ ।

दक्षिण कोरियाली लडाकु विमानहरूले एनएलएलको उत्तरतर्फ हावाबाट तीनवटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । दक्षिणले अमेरिकामा निर्मित एजिएम–८४ एच÷के एसएलएएम–इआर क्षेप्यास्त्र प्रयोग गरेको थियो । दक्षिणले जवाफमा उत्तरतर्फको जलक्षेत्रमा मिसाइल प्रहार गरेपछि प्योङयाङले थप ६ मिसाइल र एक सयभन्दा धेरै रकेट दक्षिणको जलक्षेत्रतर्फ प्रहार गरेको थियो ।

प्योङयाङले दक्षिण कोरियानजिकको पानीमा मिसाइल प्रक्षेपण गरेपछि सियोल नियन्त्रित टापु युलिउङमा हवाई आक्रमणको सूचना दिने साइरन बजेका थिए । त्यहाँका बासिन्दालाई भूमिगत आश्रयमा जान अह्राइएको थियो । मिसाइल प्रक्षेपणका कारण उत्तर कोरिया र जापानबीचको समुद्रमा केही हवाई मार्गहरू बिहीबारसम्म बन्द हुने दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको जवाफमा ती क्षेप्यास्त्र प्रहार गरिएको प्योङयाङले जनाएको छ । सो अभ्यासलाई उत्तर कोरियाले ‘आक्रमक र उत्तेजित’ बताउँदै आएको छ । उत्तर कोरियाको सत्तारुढ वर्कस पार्टीका केन्द्रीय समितिका सेक्रेटरी पार्क जोङ चुनले दक्षिण र अमेरिकाको सैन्य अभ्यास उत्तर कोरिया लक्षित भएको दाबी गरेका छन् । अभ्यासको अमेरिकाले भने बचाउ गरेको छ । मंगलबार मात्र अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अभ्यास ‘विशुद्ध रक्षात्मक’ भएको बताएका थिए ।

मंगलबार पनि संयुक्त सैन्य अभ्यास जारी राखे अमेरिका र दक्षिण कोरियाले ‘इतिहासकै भयानक मूल्य’ चुकाउनुपर्ने चेतावनी प्योङयाङले दिएको थियो । कोरियाली प्रायद्वीपमा तनाब बढिरहेका वेला यो वर्ष उत्तर कोरियाले कीर्तिमानी संख्यामा मिसाइल परीक्षण गरेको छ । एउटा ब्यालिस्टिक मिसाइलसहित उत्तरले यो वर्ष ५० मिसाइलको परीक्षण प्रहार गरिसकेको छ । ‘भिजिलेन्ट स्टर्म’ नाम दिइएको जारी अभ्यास सियोल र वासिंगटनले अहिलेसम्म गरेको सबैभन्दा ठूलो सैन्य अभ्यास हो । अभ्यासमा दुवै पक्षका सयौँ सैन्यविमान प्रयोग गरिएका छन् ।