मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ कार्तिक १६ बुधबार १३:४५:००
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

चुनावसँगै नेता आउँछन्, चुनाव जान्छ, वाचा हराउँछ, तर हात्तीको त्रास सधैँ रहन्छ

हात्ती नियन्त्रण सदावहार चुनावी एजेन्डा, तर जनता सधैँ पीडित 

Read Time : > 4 मिनेट
२०७९ कार्तिक १६ बुधबार १३:४५:००

मेचीनगर १ र ४ स्थित बाहुनडाँगी भारतबाट आउने हात्तीबाट पीडित क्षेत्र हो । भारतबाट नेपाल प्रवेश गर्ने हात्तीको हन्जाले बाहुनडाँगीमा स्थानीयले लगाएका मकै, धानबाली उठाउनै दिँदैन । 

विशेष गरेर मकैको सिजन वैशाख–जेठ र धानको सिजन असोजदेखि मंसिरसम्म सयौँको हुलमा हात्ती किसानको खेतमा पस्छन् । यो क्षेत्रको हात्तीआतंक हरेक निर्वाचनमा राजनीतिक दलको एजेन्डा बन्छ । तर, चुनाव सकिएपछि हात्ती–मानव द्वन्द्व नियन्त्रणमा कसैले चासो दिएका छैनन् । 

बाहुनडाँगीलाई यसपटक पनि चुनावले छोपेको छ । उम्मेदवारहरू भोट माग्न बाहुनडाँगी क्षेत्र पुग्न थालेका छन् । उम्मेदवारको पहिलो मुद्दा नै हात्ती नियन्त्रण रहेको मेचीनगर– १ का स्थानीय रामबहादुर भुजेल बताउँछन् । 

‘नेताहरू भोट माग्न आउँदा भारतबाट हात्तीलाई आउन नदिने योजना सुनाउँछन् । तर, चुनाव सकिएपछि उनीहरू बिर्सिएर जान्छन्,’ उनी भन्छन्, ‘चुनावैपिच्छे हात्ती नियन्त्रणको कुरा आउँछ । अब त हामीलाई विश्वास नै लाग्न छाड्यो ।’
पूर्वोत्तर सीमावर्ती बाहुनडाँगीका किसानले लगाएको धान पाक्ने वेला भएको छ । यतिवेला पनि हुलका हुल हात्ती धानखेतमा पसेर धानबाली नष्ट गरिरहेको छ । बर्खाभरि दुःख गरेर लगाएको धान जोगाउन स्थानीय रातभर जाग्राम बस्छन् । मेची नदीमा किनाराबाटै ८०–९० वटा हुल बाँधेर आएका हात्ती भारततर्फ फर्काउन उनीहरूको प्रयत्न रहन्छ । यसपटक मेचीनगर १ र ४ नम्बर वडा कार्यालयले मेची बगरमा हात्ती खेदाउन ट्र्याक्टर दिएको छ । 

स्थानीय किसान रातभर जाग्राम बसेर बाली जोगाउन हात्ती खेदाउँदै आएका छन् । ‘रातभर हामी त सुत्दैनौँ । साँझ परेपछि ८०–९० वटा हात्तीको हुल यता आउँछ । रातभर खेदाउँछौँ । बिहान मात्र जान्छन्,’ मेचीनगर– १ का याम सारुमगर भन्छन्, ‘चुनावमा आएर सबैले हात्ती आउन दिँदैनौँ भन्छन् । तर, केही पनि गर्दैनन् ।’ 

हात्ती नियन्त्रण गर्नका लागि विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषले सीमावर्ती क्षेत्रमा नेपालतर्फ ०७२ मा १७ दशमलव १४ किलोमिटर विद्युतीय तारबार गरेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार मेचीनगर र इलामको रोङ– ६ को जिर्मलेदेखि मेचीनगर– ६ सम्म सोलार फेन्सिङ तारबारले हात्ती छेक्ने प्रयास गरिएको छ । 

गत वर्षसम्म तारले हात्ती रोकेको थियो । तर, पछिल्लो समयमा विद्युतीय तारबार बिग्रँदै गएपछि हात्तीका हुल फेरि नेपाल पस्न थालेका छन् । हात्ती नेपाल प्रवेश गरेपछि विगतकै जस्तो पीडा भोग्न बाध्य छन्, स्थानीय ।
 
‘मकै र धानको सिजनमा भारतबाट हन्जा छिर्छन् । गत वर्षसम्म त सोलार फेन्सिङले राम्रो काम गरेको थियो । यसपटक हात्तीको हुल छिर्‍याे,’ डिभिजन वन कार्यालय झापाकी रेन्जर अञ्जना पुरीले भनिन्, ‘सोलार फेन्सिङ पनि पुरानो हुँदै गयो । अनि हात्ती छिर्न थाले ।’

हात्तीको हुल छिर्न थालेपछि यस वेला धान जोगाउन स्थानीय मेची बगरछेउमा टुङ बनाएर हात्तीको निगरानी गर्दै आएका छन् । रातभर टुङमा बसेर हात्ती नहटाए दुःख गरेर लगाएको धान सखाप पार्ने डर उनीहरूमा छ । बाहुनडाँगीकी डम्बरकुमारी सारुमगर भन्छिन्, ‘पोहोरसम्म त यो तारबारले काम गरेको थियो । यसपटक त हात्तीको हुल छिर्दै छ । भोट माग्ने वेलामा नेताहरू हात्ती छेक्छौँ भन्छन् । जितेपछि गाउँ फर्किएर आउँदैनन् ।’ 

हात्ती समस्याकै कारण कतिपय स्थानीयले धान खेती मास्न थालेका छन् । हात्तीलाई प्रवेश गर्न गाह्रो होस् भन्ने उद्देश्यले चियाबगान लगाएको डम्बरकुमारी बताउँछिन् ।

हात्ती प्रभावित क्षेत्र घोषणा गरेर हात्ती–मानव द्वन्द्व न्यूनीकरणमा राज्य लाग्नुपर्ने २२ वर्षदेखि हात्ती बचाउने लागेका मेचीनगर– ४ का शंकर लुइँटेल बताउँछन् । ‘मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकारले झापाका हात्ती प्रभावित क्षेत्र घोषणा गर्नुपर्छ । 

त्यहाँ प्याकेजका कार्यक्रम ल्याएर कृषकलाई सहुलियतमा ऋण, त्यहाँका स्थानीयको स्वास्थ्योपचार, रोजगारी, शिक्षामा सहयोग गर्नुपर्छ,’ उनले भने, ‘यसो गरे जसरी अहिले हात्तीप्रति रिस देखाउँदैनन् । त्यसो गरे हात्ती–मानव द्वन्द्व न्यूनीकरण हुन सक्दछ ।’

विशेष गरी, मेचीनगरको बाहुनडाँगी क्षेत्र र अन्य हात्ती प्रभावित क्षेत्रका नागरिको जीवन त्रासदीमा बितिरहेको छ । ‘वर्षौँदेखि हात्तीको समस्याले घेरिएका छौँ,’ मेचीनगर– १ का जयबहादुर तामाङ भन्छन्, ‘हात्तीसँग भेट भइहाल्यो भने उसले आक्रमण गरिहाल्छ कि भन्ने डरले सधैँ सताउँछ ।’ 
झापामा पछिल्लो एक दशकमा हात्तीको आक्रमणबाट ५५ जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । गत वर्ष विभिन्न कारणले १५ वटा हात्ती मरेका थिए । 

हात्ती नियन्त्रण हुन नसक्दा स्थानीयले धेरै समस्या झेल्नुपरेको लामो समयदेखि हात्ती–मानव द्वन्द्व नियन्त्रणमा काम गर्दै आएका मेचीनगर– ४ का वडाध्यक्ष अर्जुन कार्की बताउँछन् । सोलार फेन्सिङको मर्मत राम्रोसँग नभएको र यसपटक हात्तीको चाप बढेकाले दिनहुँ हात्ती नेपाल प्रवेश गरिरहेको उनी बताउँछन् । 

‘सोलार फेन्सिङले ८० प्रतिशत रोकथाम गरेको छ । सबैभन्दा पहिला यसलाई मर्मत गर्नुपर्छ,’ उनले भने, ‘यसपटक आठ–नौवटा ट्र्याक्टर राखेर धानबालीका लागि केही न केही कम मात्र गरेका छौँ ।’ हात्ती नियन्त्रण हुँदा स्थानीयमा आतंक मच्चिएको वडाध्यक्ष कार्की बताउँछन् । 

‘हात्ती नियन्त्रण गर्न नसक्दा आतंक मच्चिएको छ । रातभर पटाका पड्किन्छ । ढोल–ढ्यांग्रो ठटाइन्छ । जसका कारण केटाकेटीले पढ्न सकेका छैनन् । रातभर हात्ती खेदाउन गएर होहल्लामा बसेर स्कुल जाँदा दिनभर निदाउने गरेका छन्,’ उनी भन्छन्, ‘यसको सबैभन्दा ठूलो क्षति मानव संसाधनमा छ । घरमा मान्छे खेतीमा धान रोप्न गएका हुन्छन्, घर फर्किएर आउँछन् कि आउँदैनन्, राति हात्ती खेदाउन गएका बुबाआमा बिहान घर आउँछन् कि आउँदैनन् भन्ने तनाव हुन्छ ।’ 

उनले सोलार फेन्सिङ मर्मतका लागि स्थानीय सरकारले बजेट छुट्याएको बताए । उनी भन्छन्, ‘हात्ती समस्याको विषयमा सबैलाई जानकारी छ । थाहा नभएको भन्ने होइन । केन्द्रीय नेतालाई पनि थाहा छ । 

हात्ती नियन्त्रण साझा जिम्मेवारी हो : विश्वप्रकाश शर्मा
कांग्रेस उम्मेदवार, झापा १ 

हात्ती नियन्त्रण पहिला पनि चुनावी एजेन्डा हुन्थ्यो, अहिले पनि भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेर वनमन्त्री महेश आचार्यको विशेष पहलमा विश्व बैंकबाट लगानी गरेर करिब १८ किलाेमिटर सोलार फेन्सिङ बनायौँ । त्यसको शिलान्यास महेश आचार्यले गर्नुभयो । त्यसको एक वर्षपछि वनमन्त्री शंकर भण्डारीलाई ल्याएर उद्घाटन गरायौँ । विश्वप्रकाश शर्माले चुनाव हारे पनि कांग्रेसको नेतृत्वमा सरकार बनेपछि हाम्रै पहलमा यो बनायौँ । यसले दुई–तीन वर्ष हात्ती आउन रोक्यो । 
वास्तवमा यो चुनावको मुद्दा बन्नुपर्ने कुरा होइन । हात्तीबाट जीवनरक्षा र बालीनालीको रक्षा गर्नुपर्ने हाम्रो साझा जिम्मेवारीको विषय हो । हात्ती नियन्त्रणको एउटै मात्र दृष्टिकोण छैन । कसैले हात्ती करिडोरको कुरा गर्नुहुन्छ, कसैले तटबन्धनको कुरा गर्नुहुन्छ, कसैले सोलार फेन्सिङको कुरा गर्नुहुन्छ त कसैले वृक्षरोपण गरेर हात्ती छेक्ने चियाका बोटहरू लगाउनुपर्छ भन्नुहुन्छ । बहुउद्देश्यीय हिसाबले सोच्नुपर्छ । तटबन्ध र सोलार फेन्सिङ दुवै मिक्स गर्नुपर्छ । नागरिकलाई ढुक्कले खेती गर त्यसको क्षति राज्यले व्यहोर्नुपर्छ भनेर आश्वास्त गर्नुपर्छ । 

हात्ती नियन्त्रणका लागि मेचीमा तटबन्ध गर्नुपर्छ : अग्नि खरेल
एमाले उम्मेदवार, झापा १

बाहुनडाँगी क्षेत्र मात्र होइन झापा– १ मा नै हात्तीको प्रश्न उठेको छ । यसमा फेन्सिङ तार लगाउने अल्पकालीन काम सरकारबाट भए, तर ती पर्याप्त भएनन् । हात्ती नियन्त्रण आतंक न्यूनीकरण गर्न अहिले गरिरहेका कामलाई निरन्तरता दिनुपर्छ । तत्कालका निम्ति फेन्सिङको कामलाई निरन्तरता दिनुपर्छ । एउटा प्रश्न जनताको तहबाट उठेको छ कि मेची नदी सीमानदी हो, तर यसमा तटबन्ध छैन । भारतसँग समुचित छलफल हुनुपर्ने देखिन्छ । मेचीमा तटबन्ध लगाउने हो भने हात्तीको आवागमन र गाउँमा उसले गर्ने क्षति नियन्त्रण गर्न सकिन्छ । यो राज्यको प्राथमिक दायित्व हो । यसलाई व्यवस्थित नगरी उन्मुक्ति लिन सक्ने अवस्था छैन । हामी गम्भीर छौँ ।