मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ कार्तिक १६ बुधबार ०८:५६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धादिङमा नयाँ समीकरण, पुरानै उम्मेदवार

Read Time : > 2 मिनेट
२०७९ कार्तिक १६ बुधबार ०८:५६:००

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा धादिङमा उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । धादिङका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रमा गठबन्धन र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै क्षेत्रमा मुख्य दलबाट पुरानै उम्मेदवार छन्, तर यसपटकको समीकरण नयाँ भएकाले प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र नेपाल समाजवादीको गठबन्धनलाई टक्कर दिन धादिङमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ । 

धादिङ १ मा यसअघिका सहकर्मी प्रतिस्पर्धी बनेका छन् । गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे र एमालेबाट भूमि त्रिपाठी प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे चुनावी प्रचारका लागि तिहारअघिदेखि नै धादिङमा व्यस्त छन् । पाण्डे ०४३ देखि धादिङको संसदीय राजनीतिमा सक्रिय छन् । एमालेबाट उम्मेदवार भई ०४८, ०५१, ०५६, ०७० र ०७४ मा उनले चुनावी नतिजा आफ्नो पोल्टामा पारेका थिए । ०४३ का जनपक्षीय उम्मेदवार पाण्डेले ०६४ को संविधानसभा निर्वाचनमा भने हार व्यहोरेका थिए । तर, ०७४ को निर्वाचनमा पाण्डे प्रदेश सभा (क) बाट विजयी भएका थिए ।  

यो क्षेत्रबाट ०७४ मा एमालेका भूमि त्रिपाठी निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मत ल्याएर विजयी भएका थिए । एमाले विभाजनपछि ०७९ को निर्वाचनमा पाण्डे र त्रिपाठी यो क्षेत्रमा आमनेसामने भएका छन् । यही क्षेत्रबाट पाण्डे र त्रिपाठीसँग धादिङका पुराना कम्युनिस्ट नेता उत्तमराज शर्मा कँडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्त, जनता समाजवादी पार्टीबाट नोरमान तामाङ, जनसमाजवादी पार्टीबाट पुष्कर सेढाईं, मंगोल नेसनल अर्गनाइजेसनबाट सुमन तामाङ, नेपाल मजदुर किसान पार्टीबाट विश्वअम्मर महर्जन पनि उम्मेदवार छन् । यीबाहेक अन्य ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर २ मा अधिकारी र लोहनीको प्रतिस्पर्धा 

धादिङ २ मा सत्तागठबन्धनबाट कांग्रेसका सभापति रामनाथ अधिकारी र एमालेबाट निवर्तमान सांसद एवं खेमप्रसाद लोहनी प्रत्याशी छन् । विगतमा तीनवटा निर्वाचन क्षेत्र रहेको धादिङमा ०७४ को निर्वाचनयता दुईवटा कायम गरिएको छ । संघीयतापछिको पहिलो संसदीय निर्वाचन ०७४ मा क्षेत्र नम्बर २ बाट एमालेका लोहनी विजयी भएका थिए । उनले ३६ हजार दुई सय ५६ र कांग्रेसका दिलमान पाख्रिनले ३५ हजार ६१६ मत प्राप्त गरेका थिए । तत्कालीन अवस्थामा माओवादी केन्द्रको साथ पाएका लोहनीले ६ सय ४० मतले जित हात पारेका थिए ।

यस्तो छ गत स्थानीय तहको अंकगणित

धादिङमा रहेका कुल एक सय चारवटा वडामध्ये ५१ वटा क्षेत्र नम्बर २ मा पर्छ । स्थानीय तहको निर्वाचनमा अधिकांश वडामा दलहरू एक्लाएक्लै लडेका थिए । एमालेले ५१ वटै वडा, कांग्रेसले ४३ वडा र माओवादीले ३४ वटा वडामा उम्मेदवार उठाएको थियो । एकीकृत समाजवादीले २४ वटा वडा, राप्रपाले ४६ वटा वडा र जनता समाजवादी पार्टीले १३ वटा वडामा उम्मेदवार उठाएको थियो ।

कांग्रेस २२, माओवादी १० र एमाले आठवटा वडामा विजयी भएको थियो । राप्रपाबाट चार, स्वतन्त्रबाट तीन, जनता समाजवादी पार्टीबाट एक र एकीकृत समाजवादीबाट तीनजनाले जितेका थिए । वडाध्यक्षहरूले पाएको मत जोड्दा कांग्रेस २९ हजार नौ सय ६५ मत प्राप्त गरी पहिलो स्थानमा छ । एमालेले २५ हजार नौ सय ३८, माओवादीले १४ हजार तीन सय ८०, राप्रपाले पाँच हजार २ सय ८७ मत र एकीकृत समाजवादीले तीन हजार चार सय ५६ मत पाएका छन् । स्वतन्त्रलगायत अन्य साना दलले ४९ सय ४४ मत पाएका छन् ।

सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा ४७ हजार आठ सय हुन आउँछ । एमाले र राप्रपाका वडाध्यक्षले ३१ हजार दुई सय २५ मत पाएका छन् । जसपाबाट फुटेर बनेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पनि सत्तागठबन्धनलाई साथ रहेकाले तत्कालीन जसपा र हाल नेसपाले पाएको भोट एक हजार ६० समेत जोड्दा धादिङमा सत्तागठबन्धन बलियो देखिन्छ । 

एमाले उम्मेदवार लोहनी स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने, गठबन्धनप्रतिको वितृष्णा र गठबन्धन दलहरूमा भएको असन्तुष्टि आफ्नो जितको आधार रहेको बताउँछन् । ‘साढे तीन वर्षमा सरकारबाट बाहिरियौँ । संविधान, लोकतन्त्र रक्षा, सडक सञ्जाललाई पिच गरी पक्की बनाउने, आधुनिक प्रणालीबाट कृषि क्रान्ति, युवा रोजगार, दलित जनजातिलाई माथि उठाउन, पर्यटन तथा समग्र देशको विकास, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी छ । मेरो उम्मेदवारी जनताको विकास र समृद्धिका लागि हो,’ उनले भने ।