मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक १६ बुधबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हेटौँडा सिमेन्ट तीन महिनापछि सञ्चालनमा

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १६ बुधबार ०६:१६:००

आर्थिक समस्या झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग सोमबार रातिबाट पुनः सञ्चालनमा आएको छ । करिब तीन महिनादेखि आर्थिक समस्या र कोइलाको आपूर्ति नभएको भन्दै उद्योग बन्द थियो । प्राविधिक समस्यासँगै आर्थिक समस्याका कारण समयमै कोइला आपूर्ति हुन नसक्दा उद्योग तीन महिनादेखि बन्द गर्न बाध्य भएको महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए ।

‘उद्योगमा आर्थिक समस्या छ, केही मेसिन मर्मत गर्नुपर्ने थियो, कोइलाको व्यवस्थापनमा पनि समय लाग्यो । त्यसैकारण उद्योग बन्द भएको हो । यी प्रारम्भिक चरणका समस्या समाधान गरेका छौँ, अब उद्योग निरन्तर चल्छ,’ उनले भने । सप्लायरसँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरेको उनले बताए ।पाण्डेका अनुसार हाल उद्योगमा करिब ८–१० दिनलाई पुग्ने कच्चा पदार्थ छ । कोइला सप्लाइका लागि बोलपत्र आह्वान गरिसकिएको र चाँडै उद्योगका लागि आवश्यक कोइला भारत, भुटान, इन्डोनेसियालगायतका देशबाट आपूर्ति हुने उनको भनाइ छ ।

 ४० वर्षअघि स्थापना भएको उद्योग नियमित सञ्चालनका लागि सरकारले पहल गर्नुपर्ने महाप्रबन्धक पाण्डेले बताए । हालको उत्पादनले खर्च धान्न नसक्ने र उद्योगलाई नियमित सञ्चालन गर्न नसकिने दाबी उनको छ । ‘नौ सय प्रतिबोरा लागतमा उत्पादन गरिएको सिमेन्ट सात सय ४७ रुपैयाँमा बिक्री गर्नुपर्दा कसरी नाफा हुन्छ ? उनले भने, ‘यही अवस्थामा उद्योग चलाउन मुस्किल छ ।’ 

सरकारले ४० वर्षअघिको प्रविधिलाई हटाएर नयाँ प्रविधि भिœयाउनुपर्ने उनले बताए ।  सरकारले सहयोग नगरे उद्योगलाई नै आवश्यक अनुमति दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘उद्योग नियमित सञ्चालन गर्ने हो भने सरकारले अनुदान, सहुलियत ऋण, सरकारको पोलिसीअनुसार उद्योगका रिसोर्स प्रयोगको अनुमति दिने वा सहयोगी संस्था खोजिदिनुपर्छ ।’ हेटौँडा सिमेन्ट उद्योगको स्वामित्वमा रहेको जग्गा बेचेर आएको रकमबाट आवश्यक मर्मत र नयाँ प्लान्ट निर्माण गर्ने योजना उद्योगको छ ।