मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राजधानी किभमा सार्वजनिक धाराहरुमा पानी भर्दै युक्रेनीहरु । तस्बिर : समाचार संस्था एपी
रासस किभ
२०७९ कार्तिक १५ मंगलबार १३:०१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनीलाई बिजुली र पानीबाट वञ्चित गराउँदै रुस

Read Time : < 1 मिनेट
रासस, किभ
२०७९ कार्तिक १५ मंगलबार १३:०१:००

रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ। निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी सहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ। फलस्वरूप ८० प्रतिशतभन्दा बढी किएभका जनता सोमबार बिजुली र पानीबाट वञ्चित हुनुपरेको थियो।

रुसी आक्रमणका कारण देशका धेरै स्थानमा नागरिक प्रभावित भएका तथा सोमबार किएभको ८० प्रतिशतभन्दा बढी जनसंख्याले पानी र बिजुली कटौतीको सामना गर्नुपरेको युक्रेनी अधिकारीले बताएका छन्। किएभ नगरका प्रमुखले युद्धको चपेटामा परेको देशको परिस्थितिलाई दृष्टिगत गरी आफूलाई आवश्यक पर्ने पानीको भण्डारण एवं व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गरेका छन्। किएभका अग्ला आवासीय भवनहरूमा पानी आपूर्तिमा कठिनाइ भएको छ।

ब्ल्याक सीमा ड्रोन हमला गरेको बदलामा रुसले युक्रेनी पूर्वाधारलाई आक्रमणको निशाना बनाएको हो। ब्ल्याक सी हमलालाई लिएर क्रेमलिनले युक्रेनको बन्दरगाहबाट अनाजले भरिएका एक सय ७६ वटा जहाजलाई गन्तव्यतर्फ जान दिएको छैन। उसले युक्रेनमा मात्र नभई विश्वभर खाद्य संकटको जोखिम बढाएको छ।

संयुक्त राष्ट्रसंघसँगको मध्यस्थतामा गरिएको अनाज आपूर्तिको सम्झौता रुसले अस्वीकार गरेपछि त्यसको विश्वव्यापी रूपमा आलोचना भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी अन्न बोक्ने जहाजहरूलाई सुरक्षित मार्ग नदिएकामा आपत्ति जनाउँदै त्यसलाई क्रेमलिनको अर्थहीन एवं अपमानजनक कदम भनेका छन्। 

युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बोरेलले निर्णय फिर्ता लिन आग्रह गरेका छन् भने संयुक्त राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विश्व संस्था राष्ट्रसंघ रुसी अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन्। उनले अनाज आपूर्तिका प्रयासमा कुनै पनि पक्षबाट बाधा पुर्‍याउन नहुनेमा जोड दिएका छन्।