१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ कार्तिक १४ सोमबार ०८:०६:००
Read Time : > 4 मिनेट
अर्थ

भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन क्यान आक्रामक बोर्डिङ भइसकेपछि निगमको दिल्ली उडान रद्द

काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्ने वायुसेवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान अनिवार्य गर्नुपर्ने

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ कार्तिक १४ सोमबार ०८:०६:००

नेपाल एयरलाइन्सको विन्टर अन्तर्राष्ट्रिय सेड्युलमा भैरहवास्थिल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बेवास्ता गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं–दिल्ली एउटा उडान रद्द गरिदिएको छ । आइतबार दिउँसो १:४५ बजेको उडान रद्द भएपछि बोर्डिङ भइसकेका दिल्लीसहित विभिन्न गन्तव्यमा पुग्ने दुई सय ५६ यात्रु अलपत्र परेका छन् ।

क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक तीनवटाभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘विन्टर सेड्युल’ बनाउँदा भैरहवाबाट पनि उडान राख्न निर्देशन दिएको थियो । तिहारअघि ४ कात्तिकमा निगम र हिमालयन एयरलाइन्सलाई पत्राचार गरेरै ३० अक्टोबरदेखि भैरहवाबाट कम्तीमा एउटा उडान अनिवार्य गर्न भनेको थियो । तर, निगमले भैरहवाबाट उडानतालिका नराखेर अटेरी गरेपछि काठमाडौं–दिल्लीको एउटा उडान रद्द गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । निगमले काठमाडौं–दिल्लीमा दैनिक दुईवटा उडान गर्दै आइरहेको थियो ।

क्यानले पहिलो चरणमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई भैरहवाबाट उडान गर्न भनेको छ । १६ डिसेम्बरदेखि दैनिक तीनभन्दा बढी उडान गर्ने अरू वायुसेवालाई भैरहवाबाट अनिवार्य उडान गर्न समय दिएको महानिर्देशक अधिकारीले बताए । अहिले निगम र हिमालयसहित कतार, एयर अरेबिया र फ्लाई दुबईले दैनिक तीनवटाभन्दा बढी उडान गर्दै आइरहेका छन् । ‘हामीले चार–पाँच महिनाअघि नै विन्टर सेड्युल बनाउँदा भैरहवाबाट पनि उडान राख्न भनिरहेका थियौँ, एक हप्ताअघि पत्राचार पनि गर्‍यौँ,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘तर, भैरहवाबाट उडानतालिका नराखेपछि काठमाडौंको उडानतालिका कटौती गरेका हौँ ।’

वायुसेवा कम्पनीहरूले उडान अनुमतिका लागि क्यानमा भाडादरसँगै उडानतालिका पनि पेस गर्नुपर्ने हुन्छ । ३० अक्टोबरदेखि २५ मार्चसम्मको विन्टर सेड्युलमा भैरहवाबाट उडान राखेको नपाएपछि क्यानले निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरिदिएको थियो । क्यानले ६ कात्तिकमा अन्तर्राष्ट्रिय वायुसेवाको विन्टर सेड्युल स्वीकृत गरेको थियो । त्यतिवेलै निगमको एउटा उडानलाई अनुमति नदिइएको सूचना अधिकारी भुलले बताए । 

 निगमसँग २४ घन्टे स्पष्टीकरण
निगमले अनुमति नै नभएको उडानतालिका राखेर टिकट काटी यात्रुलाई अलपत्र पारेको महानिर्देशक अधिकारीले बताए । ‘आइतबारदेखि दिल्लीको एउटा उडान हुँदैन भन्ने एक हप्ताअघि नै थाहा थियो, तर निगमले जानाजान यात्रुसँग टिकट काटेको रहेछ,’ उनले भने, ‘निगमले अनुमति नै नभएको उडानको टिकट काटेर यात्रु अलपत्र पारी उल्टै नियामक निकायलाई एकाएक उडान रद्द गरेको आरोप लगाइरहेको छ ।’ अनुमति नै नभएको उडानतालिका राखेर यात्रुसँग किन टिकट काटियो भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आइतबार निगमसँग चौबिसघन्टे स्पष्टीकरण सोधेको छ । 

निगमकी प्रवक्ता अर्चना खड्काले एक हप्ताको मात्र समय दिएर भैरहवाबाट उडान गर्न निर्देशन दिनु अव्यावहारिक भएको बताइन् । नयाँ विमानस्थलमा उडान सुरु गर्न आवश्यक तयारीका लागि समय चाहिने उनको भनाइ छ । ‘हामीले दिल्लीमा सातामा १४ उडान गरिरहेका थियौँ, तर क्यानले विन्टर सेड्युलमा १० वटा मात्र अनुमति दियो,’ उनले भनिन्, ‘रद्द गरिएको भनिएको उडानको पहिल्यै टिकेटिङ भइसकेको थियो, यात्रुले पहिल्यै टिकट काटिसकेको हुँदा नियमित उडान गर्न क्यानसँग पहल गरिरहेका थियौँ, तर क्यानले अन्तिम समयसम्म पनि अनुमति नदिएपछि उडान रद्द गर्‍यौँ ।’

उडान रद्द भएपछि भारतसहित विभिन्न देशको गन्तव्यमा जान लागेका यात्रुहरू अलपत्र परेका छन् । उनीहरूलाई सोमबारको उडानमा व्यवस्थापन गरेर गन्तव्यमा पु¥याउने तयारी भइरहेको निगम प्रवक्ता खड्काले बताइन् । ‘तिहारको छुट्टी हुनुअघि पत्राचार गरियो, हामीलाई भैरहवाबाट उडान गर्न तयारी गर्ने समय नै पर्याप्त भएन, हामीले तयारीका लागि समय पनि मागेका थियौँ, तर पाएनौँ,’ उनले भनिन्, ‘हामीले छलफल र अध्ययन गरेर भैरहवाबाट उडानतालिका राख्नेछौँ, त्यो समयसम्मका लागि काठमाडौंबाटै नियमित उडान गर्न दिन क्यानसँग अनुरोध गर्छौँ ।’ काठमाडौं–दिल्ली रुटमा यात्रुको चाप पनि धेरै हुनाले निगमले उडान गुमाउन नचाहेको उनको भनाइ छ ।

क्यानका सूचना अधिकारी भुलले भने एयरलाइन्सले जहिल्यै बनावटी उत्तर दिने गरेको आरोप लगाउँछन् । ‘वायुसेवा कम्पनीले पाँच महिनाअघिजस्तो जवाफ दिएका थिए, अहिले पनि त्यस्तै जवाफ दिइरहेका छन्,’ उनले भने, ‘यसबीचमा कम्तीमा तयारी थालेर यो समयदेखि भैरहवाबाट उडान गर्न सक्छौँ भन्नुपथ्र्यो ।’ यदि वायुसेवा कम्पनीले मिति तोकेरै फलानो दिनदेखि भैरहवाबाट उडान गर्छौँ भनेमा तत्काललाई काठमाडौंबाटै नियमित उडान सुचारु गर्न दिने सोचमा क्यान छ । 

 भैरहवाबाट उडान गर्ने तयारी
नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले भैरहवाबाट उडान गर्न गृहकार्य गर्न थालेका छन् । ‘निगमको विज्ञ समूहको बैठक बसेर छलफल गरी भैरहवाबाट गर्ने उडानतालिका बनाएर सार्वजनिक गर्छौँ,’ निगम प्रवक्ता खड्काले भनिन्, ‘हामी राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न तयार छौँ, तर आवश्यक सेवा–सुविधा र पूर्वाधारको अभाव रहेको विमानस्थलमा उडानका लागि तयारी गर्न समय चाहिन्छ । 

हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ पनि भैरहवाबाट उडान गर्न तयारी गरिरहेको बताउँछन् । ‘राष्ट्रिय गौरवको आयोजना भएकाले गौतम बुद्ध विमानस्थललाई हामीले प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘सकेसम्म चाँडोभन्दा चाँडो भैरहवाबाट उडान गर्ने प्रयास रहन्छ, त्यो समयसम्म क्यानसँग काठमाडौंबाटै नियमित उडान गर्न पहल गर्नेछौँ ।’

२ जेठदेखि सञ्चालनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कुवेतको जजिरा एयरवेजले सातामा तीन उडान गर्दै आइरहेको छ । यसबीचमा सातामा सातै दिन भैरहवा उडान सुरु गरेको जजिराले यात्रु नपाएको भन्दै सातामा तीन उडान मात्र गर्न थालेको छ । भैरहवामा श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, भिसा प्रोसेस, ट्राभल एजेन्सी, म्यानपावर एजेन्सीलगायतले सेवा सुरु नगर्दा नियमित उडान गर्न समस्या भएको वायुसेवा कम्पनीहरूको दाबी छ । तिहारअघि बसेको मुख्यसचिवको नेतृत्वमा विभिन्न मन्त्रालयका सचिवसहितको बैठकमा क्यानले भैरहवामा तत्कालै सेवा सुचारु गर्न पहल गरिदिन आग्रह गरेको थियो ।

भैरहवामा उडान आकर्षित गर्नका लागि भन्दै क्यानले एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षालगायतको सेवा शुल्क पूरै छुट दिएको छ । यस्तै, निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाका ५० प्रतिशत छुट दिएको छ । काठमाडौंमा भन्दा भैरहवामा उडान गर्दा एउटा न्यारोबडी जहाजले कम्तीमा अढाई लाख बचत गर्न सक्छन् । तैपनि, यात्रुको सुनिश्चितता नहुँदा भैरहवा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा हिचकिचाइरहेका छन् । 

उडान कटौती थाहा हुँदाहुँदै निगमले टिकट काट्यो
ज्ञानेन्द्र भुल, सूचना अधिकारी, क्यान

हामीले चार–पाँच महिनादेखि विन्टर सेड्युल बनाउँदा भैरहवाबाट पनि उडानतालिका राख्न भनेका थियौँ । काठमाडौंको एयरपोर्ट साँघुरो भयो, भैरहवाबाट पनि उडान गर्नुस् भनेर पत्राचार गर्‍यौँ । तर, उहाँहरूले विन्टर सेड्युल बनाउँदा भैरहवाबाट उडान गर्न प्रस्ताव पेस गर्नुभएन । अहिलेसम्म जजिराले मात्र उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनामा राष्ट्रिय ध्वजावाहकले कम्तीमा एउटा उडान त गर्नुपर्‍यो नि । के सुविधा दिएर हुन्छ, भैरहवामा वायुसेवा आकिर्षत गर्नुपर्छ भनेर हामी लाग्यौँ । तर, वायुसेवाले अटेरी गर्न थाले । वायुसेवा कम्पनीले पाँच महिनाअघि जे भन्ने गर्थे, अहिले पनि त्यही भनेर तर्किन खोजिरहेका छन् ।

भैरहवाबाट उडान नगर्ने वायुसेवाको उडान कटौती गरेका हौँ । निगमले उडान कटौती भइसकेको एक हप्ताअघि नै थाहा पाउँदा–पाउँदै यात्रुसँग टिकट काटेको हो । अनुमति नै नभएको फ्लाइटको पनि टिकट काटेर यात्रुलाई बिचल्ली पार्नु कतिसम्मको गैरजिम्मेवारी हो । त्यसैले निगमसँग २४ घन्टे स्पष्टीकरण सोधेका छौँ ।

टिकट पहिल्यै काटिसकेको हुँदा उडान गर्न अन्तिमसम्म प्रयास गर्‍यौँ
अर्चना खड्का, प्रवक्ता, नेपाल वायुसेवा निगम

निगमले दिल्लीमा साताको १४ उडान गरिरहेको थियो । तर, क्यानले विन्टर सेड्युलमा १० वटा मात्र उडान अनुमति दियो । तर, पहिल्यै टिकट बुकिङ भइसकेको हुँदा आइतबारको उडान गर्न अन्तिम समयसम्म प्रयास गर्‍यौँ । उडान अनुमति पाइएला भन्ने अपेक्षा थियो । तर, निगमले अनुमति नदिएपछि उडान रद्द गर्नुपर्‍यो । 

क्यानले तिहारको बिदा सुरु हुने वेलामा भैरहवाबाट उडान गर्न पत्राचार गरेको थियो । तर, लगत्तै छुट्टी भएकाले आवश्यक तयारी गर्न समय पाइएन । हामीले आवश्यक तयारीका लागि समय पनि मागेका थियौँ । तर, क्यानले समय नदिएपछि पहिल्यै टिकट बुकिङ गरेका यात्रु अलपत्र पर्नुपर्‍यो । निगम भैरहवाबाट उडान गर्न तयार छ । तर, त्यसका लागि आवश्यक सेवा र पूर्वाधारहरू पनि उपलब्ध हुनुपर्छ । निगमको विज्ञ समूहको बैठक बसेर भैरहवाको उडानतालिका बनाएर सार्वजनिक गर्नेछौँ । त्यसवेलासम्म काठमाडौंबाटै नियमित उडान गर्न दिनुपर्छ ।

 दुई सय ५६ यात्रु अलपत्र
नियामक निकाय क्यान र निगमको असमझदारीका कारण विभिन्न गन्तव्यको यात्रा तय गरेका यात्रुहरू अलपत्र परेका छन् । आइतबार एयरपोर्ट पुगिसकेपछि उडान रद्द भएको खबर सुनेपछि यात्रुहरू बिचल्लीमा परे । त्यो उडानमा दिल्लीलाई ट्रान्जिट बनाएर विभिन्न देशमा जाने सयभन्दा बढी यात्रु थिए । अनुमति नै नभएको उडानतालिका राखेर निगमले यात्रुलाई अलपत्र पारेको क्यानको आरोप छ । उता निगमले पहिल्यै अनलाइन टिकट बुकिङ हुने हुनाले एक हप्ताको समयसीमा कम भएको दाबी गर्छ । क्यानका सूचना अधिकारी भुलले भने, ‘भैरहवाबाट उडान गर्नका लागि पहिल्यै जानकारी गराएकै हो, तर वायुसेवा कम्पनीले जबर्जस्ती काठमाडौंबाटै उडान गर्न सकिन्छ भन्ने सोचले टिकट काट्दा यात्रु अलपत्र परेका हुन् ।’