१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक १४ सोमबार ०६:१२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतीय लापर्बाहीले दार्चुलामा नेपाली बालकको मृत्यु प्रकरण : परराष्ट्रले भारतलाई पठायो कूटनीतिक नोट

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १४ सोमबार ०६:१२:००

भारतीय पक्षले सडक निर्माणका क्रममा विनापूर्वसूचना विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर नेपाली बालकको मृत्यु भएको घटनाबारे परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । व्याँस गाउँपालिका– २ दुम्लिङ अरतौलीका नौ वर्षीय पवन महराको शुक्रबार बिहान ११: ५५ बजे मृत्यु भए पनि परराष्ट्रले दुई दिनपछि मात्रै आइतबार भारतलाई कूटनीतिक नोट पठाएको हो ।

भारतीय पक्षको धार्चुला–लिपुलेक–कैलाश मानसरोवर सडक निर्माणका क्रममा सीमा क्षेत्र नज्याङ, लखनपुर भिरमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले वारिपट्टि पैदल यात्रा गरिरहेका बालक पवनलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । दसैँ–तिहार बिदामा भेडा–चौँरी चराउन अभिभावकसँगै खर्क गएका उनी विद्यालय खुल्ने भएपछि घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् ।

 गृह मन्त्रालयले विस्तृत घटना विवरण (ग्राउन्ड) रिपोर्ट आइतबार बिहान मात्रै पठाएका कारण भारतलाई पत्र पठाउन ढिलाइ भएको परराष्ट्र अधिकारीहरूको दाबी छ । ‘गृह मन्त्रालयले शनिबार साँझ घटना विवरणविनाको एउटा चिठी पठाएको थियो । तर, आइतबार बिहान १०ः३० बजे मात्रै गृहले घटना विवरण पठायो । त्यसको आधा घन्टाभित्रै हामीले भारत सरकारलाई घटनाबारे कूटनीतिक नोट पठायौँ,’ परराष्ट्र स्रोतले भन्यो । 

परराष्ट्र अधिकारीका अनुसार कूटनीतिक नोटमा घटना भारतीय पक्षको असावधानीका कारण भएको स्पष्ट किटान गरिएको छ । ‘यस्तो प्रकारको असावधानी नहोस् भनेर सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन आग्रह गरिएको छ । सीमा क्षेत्रमा बाटो निर्माणका क्रममा विस्फोट गराउँदा पूर्वसूचित गर्न र स्थानीय प्रशासनसँग पनि आपसी समन्वय गर्न आग्रह गरिएको छ,’ एक अधिकारीले भने ।