मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ कार्तिक १३ आइतबार १५:४७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनको संकल्प : निःशुल्क उपचारदेखि मेट्रो रेलसम्मका महत्वाकांक्षी योजना

Read Time : > 2 मिनेट
२०७९ कार्तिक १३ आइतबार १५:४७:००

रुपन्देही ३ मा सत्तागठबन्धनका उम्मेदवारले आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन्। सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका बालकृष्ण खाण र प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष पाण्डे र रामचन्द्र ढकालको आगामी कार्ययोजनासहितको संकल्पपत्र आइतबार सार्वजनिक गरेका हुन्।

कांग्रेसका नेता तथा गृहमन्त्री प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको रुन्देही ३ मा पाँचदलीय सत्तागठबन्धनले आफ्नो संकल्पपत्र सार्वजनिक गरेकाे हाे । ६७ बुँदामा समेटिएको संकल्पपत्रमा भैरहवालाई लुम्बिनी प्रदेशको महत्वपूर्ण औद्योगिक एवं पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने संकल्प गरिएको छ।
 
साथै निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाउने योजना समावेश गरिएको छ। यस्तै, सिद्धार्थनगरको वरपर सिद्धार्थ चक्रपथ निर्माण, बेलहियादेखि पोखरासम्मको सडकको स्तरोन्नति र पाल्पा र स्याङ्जाको सिमाना राम्दीमा रहेको गण्डकी नदीको पुलको भारबहन क्षमता वृद्धि, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिनेजस्ता विषय समेटिएका छन्।

संकल्पपत्रमा तिनाउ दानव नदीमा जनताको तटबन्ध कार्यक्रमलाई प्रभावकारी बनाइने, बेलहियामा एकीकृत भन्सार प्रणालीको निर्माण, बुटवलदेखि गोरखपुरसम्मको प्रसारणलाइन निर्माणका लागि यथाशीघ्र पहल तथा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)को व्यवस्थापकीय  सञ्चालनका लागि नीतिगत निर्णय गरिने कुरा उल्लेख छ।

बर्दघाटदेखि कृष्णनगरसम्मको क्षेत्रलाई व्यवस्थित सहरीकरण गरिने, क्षेत्र नम्बर ३ मा रहेका सरकारी जग्गाहरूको खोजी गरी तिनमा हरितपार्क निर्माण गर्ने संकल्प गरिएको छ। यस्तै सिद्धार्थनगर क्षेत्रमा कृषि औजार तयार गर्ने र छाडा चौपाया नियन्त्रणका लागि कान्जीहाउस निर्माण गर्ने विषय समेटिएको छ। 

‘समुन्नत नेपाल, सम्पन्न नेपाली’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको संकल्पपत्रमा भौतिक पूर्वाधारको साथै यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य, खेल, वातावरण विकासमा जोड दिइएको छ। 

बेलहिया–बुटवल खण्डमा रहेको ६ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उल्लेख छ। यस्तै ‘मर्चवारदेखि मुस्ताङसम्म’ भन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्ने वेथरी, मैनहिया, हर्नैया, दयानगर– छपिया, वनघुसरी थाना हुँदै मानपकडी सूर्यपूराको सडकलाई दुवैतिर नाली बनाई कालोपत्रे बनाइने, पत्थरडाँडादेखि टिकुलीगढ हुँदै पश्चिम अमुवा बजार तथा वनघुसरीसम्मको सडकलाई स्तरोन्नति गरी दुवैतिर नालीसहितको कालोपत्रेलगायतका विषय संकल्पपत्रमा उल्लेख गरिएको छ। 

बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ, सिद्धार्थनगर नगरपालिकाभित्रका  विशेष आर्थिक क्षेत्रमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णयहरू गर्ने जनाइएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु थप गरिने संकल्पपत्रले समेटेको छ। 

भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तरवृद्धि गर्ने, यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उमावि, सियारी तथा रुपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नति र प्राविधिक विषयमा थप कार्यक्रम सञ्चालन गर्न विशेष पहल गरिने उल्लेख छ।

यस क्षेत्रलाई कलाकारिताको केन्द्र बनाउन संगीत एकेडेमीको निर्माण, डण्डा खोलामा करिडोर निर्माण, भैरहवामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो ‘अन्न भण्डारणगृह’ निर्माण गरिने संकल्पपत्रमा उल्लेख छ। 

कार्यक्रमलाई सम्बोधन गर्दै पाँचदलीय गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मदवारसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले विकासका धारणामा ठूलो रुपान्तरण भइरहेको बताए। 

उनले भौतिक पूर्वाधारका साथै मानवीय र सामाजिक विकासलाई पनि चुनावी संकल्पपत्रले समेटेको बताए। उनले संकल्पपत्र रुपन्देहीको बृहत्तर विकासका लागि भएको बताए।

अहिले ठूलो अस्पतालले मध्यमवर्गीय परिवारलाई गरिबीको रेखामुनि धकेलिरहेको बताउँदै खाणले विपन्न नागरिकको उपचारका लागि अस्पतालमा निर्धारण गरिएको निःशुल्क उपचारको कोटालाई प्रभावकारी ढंगले लागू गर्न जोड दिइने जानकारी दिए। उनले रुपन्देही नै आफ्नो राजनीतिको केन्द्र भएको बताउँदै यहाँको विकासका लागि विशेष पहल गर्ने बताए।

रुपन्देही–३ मा सत्तागठबन्धनबाट गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार छन्। उनको प्रतिस्पर्धा एमालेको समर्थनमा राप्रपाका दीपक बोहरासँग हुनेछ। उक्त निर्वाचन क्षेत्रबाट प्रदेश सभामा सत्तागठबन्धनबाट (क) मा सन्तोष पाण्डे र (ख) बाट  रामचन्द्र ढकाल उम्मेदवार छन्। एमाले–राप्रपा–जसपा गठबन्धनबाट क्रमशः जसपाका महेन्द्र यादव र एमालेका तुलसीप्रसाद चौधरी उम्मेदवार छन्।