१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १३ आइतबार १०:२७:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

म्युजिक भिडियोका कुशल कथावाचक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १३ आइतबार १०:२७:००

डाँडामा कलाकार नचाउँदा भ्युज त राम्रै आउला, तर समाजको कथा पर्दामा देखिँदैन । त्यही कारण मैले गीतको दृश्यमा लोक ‘इलिमेन्ट’ बढी प्रयोग गर्ने गरेको छु ।

म्युजिक भिडियोमार्फत मौलिक कथालाई प्रस्तुत गर्न माहिर मानिन्छन्, नवीन चौहान । म्युजिक भिडियोको दायरालाई डान्समा मात्रै सीमित राख्नुहुन्न भन्ने मान्यताअनुसार उनले भिडियोमा काम गरिरहेका छन् । उनले निर्देशन गरेका ‘के माया लाग्छ र...’, ‘तीनपाते..., ‘बाफ...’, ‘घुमिघुमी’लगायत म्युजिक भिडियो निकै चर्चित छन् । यी भिडियोमा गाउँघरको सामाजिक परिवेश र त्यहाँको कथालाई देखाइएको छ । 

आर्टमान्डुको ब्यानरमा नवीन निर्देशित ‘धागो’ अहिले चर्चामा छ । हर्क साउदको लेखनमा बनेको ‘धागो’ गीतलाई सुवानी मोक्तान र एसडी योगीले गाएका हुन् । ‘म्युजिक भिडियोमा सामान्य कथालाई कलात्मक ढंगबाट प्रस्तुत गर्न सकिन्छ भन्ने सन्देश दिने गरी काम गरिरहेको छु,’ नवीन भन्छन्, ‘कथा भन्ने सिनेमाको आफ्नो तरिका हुन्छ । म्युजिक भिडियोमा आफ्नै तरिका हुन्छ । म्युजिक भिडियोमार्फत मौलिक कथाहरू देखाउने कोसिस हो ।’

उनी सामान्यभन्दा सामान्य कथालाई पनि म्युजिक भिडियोमा उनेर सशक्त सन्देश प्रवाह गर्न सकिने बताउँछन् । ‘हामी ठूलो कथा सोच्छौँ । आफ्नै कथालाई छोडिरहेका हुन्छौँ । हामीले आफ्नै कथालाई टिपेर दर्शक र श्रोतालाई अनुभूत गराउन खोजेका हौँ । स्थानीय लोकभाकालाई फरक शैलीमा प्रस्तुत गर्ने प्रयास हो ।’

दर्शकलाई मनोरञ्जन गराउने नाममा आफ्नो लोकसंस्कृतिलाई बिर्सन नमिल्ने उनले बताए । ‘हामी मेकरले हाम्रो समाज देखाउनुपर्छ । म्युजिक भिडियोमार्फत पनि हाम्रो समाज कसरी बाँचिरहेको छ भन्ने देखाउन सकिन्छ,’ उनले भने, ‘डाँडामा कलाकार नचाउँदा भ्युज त राम्रै आउला, तर समाजको कथा पर्दामा देखिँदैन । त्यही कारण मैले गीतको दृश्यमा लोक ‘इलिमेन्ट’ बढी प्रयोग गर्ने गरेको छु । बिस्तारै हामीले आफ्नो संस्कृति बिर्संदै गइरहेका छौँ । दर्शकलाई हाम्रो मौलिकतासँग जोड्ने महŒवपूर्ण माध्यम म्युजिक भिडियो बन्न सक्छ ।’