Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७९ कार्तिक १३ आइतबार ०७:३८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : फिलिप्सको शतकमा न्युजिल्यान्डको सहज जित

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ कार्तिक १३ आइतबार ०७:३८:००

फिलिप्सले अविजित रहँदै ६४ बल खेलेर १० चौका र चार छक्काको मद्दतमा सर्वाधिक एक सय चार रन बनाए  

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको छ । जितसँगै शीर्षस्थानमा रहेको न्युजिल्यान्डले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । दुई खेलमा जित र एक खेलमा अंक बाँडेको न्युजिल्यान्डको ५ अंक छ । श्रीलंकाले तीन खेलबाट २ अंक जोडेको छ । 

श्रीलंकाको निराशाजनक ब्याटिङ
एक सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय दुई रनमा समेटिएको थियो । श्रीलंकाका कप्तान दासुन सनका र भानुका राजापाक्षेले मात्रै सम्हालिएर ब्याटिङ गरे । कप्तान दासुनले ३२ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाए । भानुकाले २२ बलमा तीन चौका र दुई छक्कासहित ३४ रन प्रहार गरे । यसबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । ओपनर पाथुम निसन्का, तेस्रो नम्बरका ब्याट्सम्यान धनञ्जय डी सिल्भा र तल्लोक्रमका महेश थिक्साना शून्यमा पेभिलियन फर्किए । 

बलिङमा बोल्ट चम्किए 
ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डले दोस्रो इनिङ्समा बलिङमा समेत प्रभावशाली प्रदर्शन गर्‍यो । न्युजिल्यान्डका तीव्र गतिका बलर टे«न्ट बोल्ट चम्किएपछि श्रीलंकाको ब्याटिङक्रम ध्वस्त भएको थियो । श्रीलंकाका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन् । बोल्टले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले यसक्रममा १३ रन मात्रै खर्चिए । यसबाहेक मिचेल सान्टनर र ईशा सोधीले समान दुई विकेट लिए । टिम साउथी र लोकी फर्गुसनले समान एक–एक विकेट लिए । साउथीले एक मेडनसमेत लिएका थिए । 

ओपनरको खराब प्रदर्शन
श्रीलंकाविरुद्ध न्युजिल्यान्डका ओपनर फिन एलेन र डेभन कोन्वे दुवैले राम्रो खेल्न सकेनन् । उनीहरू दुवै एक–एक रनमै आउट भए । बलिङमा श्रीलंकाका कासुन राजिथाले दुई विकेट लिएका थिए । 

यस्तो छ तालिका 
समूह–१ मा न्युजिल्यान्ड बलियो स्थितिमा रहेको छ । सेमिफाइनल प्रवेश नजिक रहेको न्युजिल्यान्डले तीन खेलबाट ५ अंक जोडेको छ । तीन खेल नै खेलेका इंग्ल्यान्ड, आयरल्यान्ड र अस्टे«लियाको समान तीन अंक छ । नेटरनरेटको आधारमा इंग्ल्यान्ड दोस्रो, आयरल्यान्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा छन् । समान दुई अंक बटुलेका श्रीलंका र अफगानिस्तान क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । 

फिलिप्सको शतक
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सुरुवातमा राम्रो खेल्न सकेको थिएन । माथिल्लो क्रममा ब्याट्सम्यान सस्तोमै समेटिएपछि धर्मराएको न्युजिल्यान्डको इनिङ्स ग्लेन फिलिप्सले सम्हाले । चौथो नम्बर ब्याटिङमा आएका फिलिप्सले अविजित रहँदै शतक प्रहार गरे । ६४ बल खेलेका उनले आक्रामक ब्याटिङ गर्दै १० चौका र चार छक्काको मद्दतमा सर्वाधिक एक सय चार रन बनाए । उनले चौथो विकेटका लागि डेरी मिचेलसँग २२ रनको साझेदारी गरे । मिचेलले खेलमा २२ रन बनाए । त्यस्तै, मिचेल सन्टनरले अविजित ११ रन जोडेर फिलिप्सलाई साथ दिए । 

जारी विश्वकपमा यो दोस्रो शतकसमेत हो । यसअघि दक्षिण अफ्रिकाका रिली रोसोले बंगलादेशविरुद्ध शतक प्रहार गरेका थिए । २५ वर्षीय ग्लेन न्युजिल्यान्डका लागि टी–२० विश्वकपको एकै खेलमा सर्वाधिक रन प्रहार गर्ने दोस्रो खेलाडीसमेत बने । यसअघि सन् २०१२ मा बंगलादेशविरुद्ध ब्रेन्डम म्याकुलमले  एक सय २३ रन बनाएका थिए ।